भोलिको प्रदर्शनमा सहभागी हुन देउवाको अपिल
काठमाडौँ -नेपाली काँग्रेसले संसद् विघटन विरुद्ध भोलि फागुन ३ गते हुने प्रदर्शनमा सहभागी हुन अपिल गरेको छ।
केपी शर्मा ओली नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटना विरुद्ध काँग्रेसले सोमबार देशका ७७ वटै जिल्लामा प्रदर्शन गर्दै छ।
सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको नेतृत्वमा आयोजना हुने विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेका हुन्।
संसद् विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको काँग्रेसले पुस १३, पुस २५, माघ ३, माघ ८, माघ १९ र माघ २४ गते विरोध प्रदर्शन गरिसकेको छ।
‘अब भोलिको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रूपले सफल बनाउन सबैमा हार्दिक अपिल गर्दछु’ देउवाले भनेका छन्।
उनले संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली काँग्रेस एकमतका साथ आन्दोलनमा रहेको पनि उल्लेख गरेका छन्।
फागुन २, २०७७ आइतबार १५:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।