प्रेमको इतिहासै नभएको ‘प्रेम मन्दिर’

प्रेमको इतिहासै नभएको ‘प्रेम मन्दिर’

इटहरी - इटहरी २ का प्रकाश तिम्सिना र कविता फुयाँल ५ वर्ष लामो प्रेम सम्बन्ध विवाहसम्म पुगेको त्यो दिन सम्झन हरेक वर्ष बुढासुब्बा पुग्छन्। उनीहरूको मनमा एक अर्काप्रति प्रेम अंकुराउँदा नै भाकल गरेका थिए रे‘हे बुढासुब्बा हाम्रो प्रेम सफल होस्।’

एक अर्काप्रतिको समर्पण हो या भाकलको प्रभाव, प्रेमी प्रेमीको सम्बन्ध श्रीमान्–श्रीमतीमा रूपान्तरण भयो। दुवै खुसी भए बिछट्टै। र त हरेक वर्ष धन्यवाद भन्न विवाह वर्षगाँठमा त्यही मन्दिरमा पुग्छन्।

‘हाम्रो प्रेम सम्बन्ध सफल होस् भनेर भाकल गरेका थियौ, पुरा भयो,’ प्रकाशले भने, बुढासुब्बामा भाकल गर्दा प्रेम सफल हुन्छ भन्ने मान्यता थियो, हाम्रो भयो।’

प्रेम न हो। कसैले ताज महलमामा प्रेमको अस्तित्व खोज्यो त कसैले रानीमहलमा। कसैले रानीपोखरी बनाएर प्रेम अमर बनाउन खोजे। सक्नेले त के के बनाए। नसक्नेले अनकन्टार ठाउँको ढुङ्गा र सुनसान जङ्गलको रुखमा पनि नाम खोपाउँदै सम्बन्ध सफलताको कामना गरे, गरिरहेकै छन्।

उसैगरी बुढासुब्बालाई साक्षी राखेर प्रेम गर्ने अनि सम्बन्ध सफल बनाउन भाकल गर्ने प्रकाश र कविताजस्ता जोडी धेरै छन्। मन्दिर पुग्ने र बाँसमा नाम लेखेर सम्बन्ध अमर होस् भन्ने कामना गर्नेहरू अहिले पनि उत्तिकै छन्। 

सेन्ट भ्यालेन्टीनको प्रेम सम्झेर सुरु भएको भ्यालेन्टाइन डे नेपालसम्म आइपुग्दा प्रेम दिवसमा रूपान्तरण भए पनि भाकल गर्न बुढासुब्बा पुग्ने क्रम रूपान्तरण भएको छैन।  टुप्पो बिनाको बाँसमा आफ्नो नाम लेखेर प्रेम सम्बन्धले उचाइ लियोस् भनेर काम गर्ने अनि धागो बाँध्दै सम्बन्ध कसिलो होस् भन्ने कामना गर्नेहरू टन्नै छन् अहिले पनि।

बुढासुब्बा मन्दिरको इतिहास

धरानको सिरानीमा छ यो मन्दिर। यसको इतिहास प्रेम कहानीसँग जोडिएको छैन। सत्ता र तपस्यासँग जोडिने इतिहासलाई खै कसले पो यहाँको बाससँग प्रेमको साइनो जोडिदियो।

बुढासुब्बाको इतिहासका जानकार धरानका पत्रकार भैरव आङ्लाका अनुसार बुढासुब्बा क्षेत्र शान्त, एकान्त अनि नौला बाँस भएकोले नामहरू खोपिन थाले। मन्दिर भएको स्थान रमणीय र एकान्त भएकैले युवा जोडीको प्रिय थलो बन्यो।

एकान्तको खोजीमा जता पुग्यो त्यतै नाम लेखाएर प्रेम अमर बनाउन चाहनेहरूले त्यहाँको बासमा पनि नाम लेख्न थाले। एक। दुई हुँदै बासमा नाम लेख्ने होड सुरु भयो। पछि त्यहाँको बाँसमा नाम लेखे प्रेम अमर हुन्छ भन्ने फैलन थाल्यो। अनि आफ्नै प्रेम नछुटोस् भनेर नाम लेखिन थाल्यो।  

‘नाम लेख्दालेख्दै प्रेम मन्दिर जस्तो भए पनि यसको इतिहास प्रेमसँग गएर जोडिँदैन’ उनले उकेरासँग भने। 

धरानका पर्यटनकर्मी वासुदेव बरालको पनि त्यस्तै तर्क छ। बुढासुब्बा खास प्रेमको इतिहास नभए पनि यो अहिले प्रेमको मन्दिर बनिसक्यो। मन्दिर परिसर बाँसकै कारण ‘रोमान्टिक’ देखिन थालेको र बिस्तारै प्रेम मन्दिर बनेको बराल बताउँछन्। 

‘कति कुरा बनेर आउँछन् कति कुरा बन्दै आँउछन’, बराल भन्छन्, ‘बुढासुब्बा पनि एक धार्मिक र आध्यात्मिक क्षेत्र बनेकै हो, प्रेम जोडीहरूले यसलाई प्रेम मन्दिरको रूपमा थप सुन्दर बनाए।’

कतिले बुढासुब्बालाई पृथ्वीनारायण शाहले नेपाल राज्य विस्तार गर्दा मारिएका किराँती राजा बुद्धि कर्ण रायको चिहान स्थलको रूपमा पनि मान्छन्। किराँती राजधानी विजयपुर क्षेत्रमा आएका पृथ्वीनारायणको फौजले रायको हत्या गरेका थिए। उनै रायको सम्झनामा स्थानीयले पूजा र सम्मान गर्ने स्थलको रूपमा बुढासुब्बालाई लिएर क्रमशः मन्दिर बनेको एकथरिको बुझाई छ।

बुढासुब्बा एक सिद्ध किराँती पुरुषको समाधि स्थल रहेको अर्का थरीको तर्क छ । बुढासुब्बा नामक सिद्ध पुरुष किराँती र उनकी बहिनी सुब्बिनी आएर धनुषले काग मार्न खोज्दा काग भागेको र पछि उनै सिद्ध पुरुष तपस्यामा बसेको लोकोक्ति छ। मन्दिर परिसरमा रहेका बाँसका टुप्पा नहुनुमा त्यही किम्बदन्तीलाई मान्ने गरिन्छ।

केही केहीले भने बुढासुब्बा क्षेत्रलाई महाभारतको युद्धमा कौरव पक्षबाट सहभागी एकलव्यको समाधिस्थलको रूपमा पनि व्याख्या गर्छन्। महाभारतको युद्धमा हारे पनि जिते पनि दाजुभाइकै हुने बुझेर हिमालय पर्वतमा आएका एकलव्यले धरानको बुढासुब्बामा तपस्या गरेको कथा जोडिएको पर्यटनकर्मी बराल बताउँछन्। तराई क्षेत्रका एकलव्य हिमालयको चिसो झेल्न नसकेर बुढासुब्बा क्षेत्रमै समाधि लिएको पौराणिक मिथक रहेको बरालको भनाई छ। 

धरानमामात्र हैन इटहरीको तालतलैया र सुन्दरहरैचाको हसिनामा पनि बुढासुब्बाको मन्दिर छ। दैनिक भिड नभए पनि वैशाख र मङ्सिरमा भने बुढासुब्बाको पूजा हुने गरेको छ। त्यहाँ पनि बाँसमा नाम लेख्ने र पूजा भएको बेलामा भाकल गर्ने चलन छ नै।

किराँती, वैदिक सनातन, बौद्ध सबै आस्था वान त मन्दिर पुग्छन् नै। पुज्छन् नै। त्यो भन्दा पनि प्रेम जोडीमा अथाह आस्था छ, त्यसैले त अनेक मिथक भएको मन्दिर प्रेम मन्दिर बनिदियो अहिले।

फागुन २, २०७७ आइतबार ११:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।