बुटवलमा ओलीको शक्ति प्रदर्शन, पूर्व लडाकुहरूलाई समूहमा भित्र्याउने तयारी

बुटवलमा ओलीको शक्ति प्रदर्शन, पूर्व लडाकुहरूलाई समूहमा भित्र्याउने तयारी

बुटवल : फागुन १ गते। तत्कालीन माओवादीले सशस्त्र विद्रोह सुरु गरेको दिन बुटवलमा नेकपा केपी ओली समूह सशस्त्र विद्रोहका प्रतिनिधिसँगै आमसभाको तयारीमा जुटेको छ।

दाहाल–नेपाल समूहले जता–जता कार्यक्रम गर्यो उतै उतै काउन्टर सभा गर्ने ओली समूहको रणनीति अनुसार बुटवलमा भोलि सभा हुन लागेको हो। बुटवलको सभाको घोषणा प्रधानमन्त्री समेत रहेका ओलीले नारायणहिटी अगाडि आयोजित कार्यक्रमबाटै गरेका थिए।

बुटवलमा आयोजित आम सभालाई ओली समूहले सशस्त्र द्वन्द्वमा बन्दुक बोकेकाहरूलाई आफ्नो समूहमा प्रवेश गराउने कार्यक्रमको रूपमा आयोजना गरिरहेको छ। कार्यक्रमलाई सफल बनाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल नै खटिइरहेका छन्।

संसद् विघटनसँगै विभाजित भएको नेकपाको ओली समूहमा सशस्त्र द्वन्द्वका प्रतिनिधिको रूपमा रामबहादुर थापा, लेखराज भट्ट लगायतकाहरु छन्। अर्को समूहको नेतृत्वमा त पुष्पकमल दाहाल नै छन्। सशस्त्र द्वन्द्व सुरु भएको उत्सव मनाउन उनीसँग यो पाली माधवकुमार नेपाल लगायतका पूर्व नेकपा एमालेको ठुलो पत्ति छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा ओली समूहका स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले जनयुद्ध सुरु भएको दिनलाई राजनीतिक समस्या समाधान गर्ने दिनको रूपमा चित्रण गर्न सभाको आयोजना गरिएको दाबी गरे।

उनले भोलिको सभा अहिलेसम्मकै ठुलो र ऐतिहासिक हुने दाबी गर्दै यही आम सभाबाट प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको मुद्दालाई जनतामाझ सही साबित स्थापित गर्ने दाबी समेत गरे।

४ सय बढी पूर्व जनमुक्ति सेना भित्राइँदै 

ओली समूहले बुटवलमा गर्ने सभामा लुम्बिनी प्रदेश भित्रका ४ सय बढी जनयुद्धका पूर्व लडाकुलाई पार्टी प्रवेश गराउने तयारी गरेको छ। दाहालले माओवादीमा लागेर आफ्नो जीवन समर्पण गरेकालाई भुलेको दाबी गर्दै ओलीले पूर्व लडाकुलाई आफ्नो समूहमा आउन आग्रह गरिरहेका छन्।

पूर्व माओवादी तथा हाल ओली समूहको केन्द्रीय सदस्य विश्वास बराल अनुप प्रचण्डप्रति विश्वासको कमी भएको र जनयुद्धका लडाकुको मर्म र भावना विपरीत प्रचण्ड हिँडेकाले ओली समूहमा आउन लागेको दाबी गरे।

तत्कालीन समयमा अयोग्य मानिएका लडाकुको समस्या समाधानमा वर्तमान सरकार गंभिर रहेको उल्लेख गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले उनीहरूको पहिचान गर्ने, प्रमाणपत्र दिने र आवश्यक सहयोग गर्ने सरकारको तयारी रहेको बताएका थिए।

संसद् विघटनपछि पूर्व माओवादी समूहका नेता  बादल, भट्ट, टोपबहादुर रायमाझी, दधिराम न्यौपाने, विश्वास बराल अनुप, हिरा केवट राहुल लगायतका नेताहरू ओली समूहमा छन्। नेकपा विभाजित भएसँगै दाहाल समूहबाट ओलीतिर लागेका गृहमन्त्री समेत रहेका थापाले नै पूर्व माओवादी लडाकुहरूलाई ओली समूहमा ल्याउन विशेष पहल गरिरहेका छन्।

ओलीले माओवादी पूर्व लडाकु सम्बन्धी २ वटा संस्थाका प्रतिनिधिहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर सरकारले पहिचानसहित सुविधा दिने भन्दै आफ्नो समूहमा आउन आमन्त्रण गरेका थिए।

माघ ३०, २०७७ शुक्रबार १८:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।