भैरहवा : चर्चित क्रिकेटरको उर्वर भूमि
भैरहवा : अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय सीमा नाका, भन्सार नाका, लुम्बिनीको मुख्य प्रवेशद्वार लगायतले परिचय बनाएको भैरहवा क्रिकेटको उर्वर भूमिको रूपमा आफ्नो पहिचान बनाउँदै छ। ३० को दशकदेखि सुरु भएको थियो भैरहवामा क्रिकेट खेल। यो बिचमा सयौँ खेलाडी उत्पादन भइसकेका छन् यहाँबाट।
भैरहवाबाट ब्याट र बल समाउन सिकेकाहरू अहिले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा भाग लिइरहेका छन्। रुपन्देही जिल्लाबाट हालसम्म ९५ जना खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए।
चर्चित खेलाडीमा अगाडि
क्रिकेटर राजु खड्का, शक्ति गौचन, वसन्त रेग्मी, सुशान्त भारी, कुशल मल्ल चर्चित खेलाडीको रूपमा परिचित छन्। उनीहरू यहीका उत्पादन हुन्। वसन्त शाही, सञ्जय गुरुङ, जगत टमाटा पनि रुपन्देहीले जन्माएका क्रिकेटर हुन्। जगत टमाटा नेपालका प्रशिक्षक भइसकेका छन्।
अन्तर्राष्ट्रिय कीर्तिमान
रुपन्देहीका क्रिकेट खेलाडी कुशल मल्लले क्रिकेट खेलमा अन्तर्राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। सबैभन्दा कम उमेरमा अर्ध शतक हान्ने खेलाडीको रूपमा उनले अन्ताराष्ट्रिय कीर्तिमान बनाइसकेका छन्।
उनले १५ वर्षको उमेरमा अर्ध शतक हानेको क्रिकेट सङ्घका अध्यक्ष मल्लले जानकारी दिए।
पूर्वाधारमा पनि अगाडि
भैरहवा क्रिकेट खेलका लागि आवश्यक पूर्वाधारमा पनि अग्रस्थानमा छ। काठमाडौँपछि सबैभन्दा बढी पूर्वाधार निर्माण यही भइरहेको छ।
भैरहवा स्थित सिद्धार्थ रङ्गशाला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको रूपमा विकास भइरहेको छ। निर्माणाधीन रङ्गशालामा प्यारा फिट, चेन्जीङ रुम, गार्ड रुम, स्टोर रुम, ५ वटा पिच सहितको रङ्गशाला रहेको छ। जुन रङ्गशालामा स्थानीय देखि राष्ट्रिय स्तरका प्रतियोगिताहरू हुने गरेका छन्। क्रिकेट मैदान निर्माणमा क्रममा हाल सम्म साढे ८ करोड रुपैयाँ खर्च भइसकेको छ।
अन्तर्राष्ट्रिय टिमको तयारीमा भैरहवाका खेलाडी
रुपन्देहीमा हुने विभिन्न क्रिकेट प्रतिगोयतामा भाग लिएका रुपन्देहीका क्रिकेट खेलाडीहरू मध्ये आधा दर्जन बढी खेलाडी अहिले पनि ओमानमा हुने प्रतियोगिताका लागि नेपाली टोलीबाट खेल्दै छन्।
भैरहवाका साहव आलम, कुशल भुर्तेल, कुशल मल्ल, शुशान भारी, कृष्ण कार्की, सौरभ खनाल, सागर ढकाल लगायतका खेलाडीहरू नेपालको राष्ट्रिय टिमको तर्फबाट तयारीमा जुटेका छन्। उनीहरू अहिले काठमाण्डौमा बन्द प्रशिक्षणमा रहेका छन्।
नेपालमै लामो प्रतियोगिता
रुपन्देही क्रिकेट सङ्घको आयोजनामा २०७४ साल देखि नेपालमै लामो क्रिकेट प्रतियोगिता पनि रुपन्देहीको भैरहवामै हुने गरेको छ। २०५३ सालमा प्रेमकुमार सञ्चारीको नेतृत्वमा स्थापना भएको रुपन्देही क्रिकेट सङ्घले स्थापनाको अर्को वर्ष देखि नै रुपन्देही क्रिकेट सुपर लिगको आयोजना गरी सञ्चालन गर्दै आएको छ।
सुरुमा ३५ ओभरको एक दिवसीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै आएको रुपन्देही क्रिकेट सङ्घले २०७४ साल देखि ५० ओभरको प्रतियोगिता गराउँदै आएको छ। ५० ओभरको एक दिवसीय प्रतियोगिता हुने यो नेपालमै पहिलो हो।
नेपाल क्रिकेट सङ्घ निलम्बनमा परेका बेला पनि यो प्रतियोगिता बिना अवरोध निरन्तर चल्दै आएको थियो। २८ दिन सम्म चल्ने लामो प्रतियोगिता नेपालमै पहिलो भएको आयोजकको दाबी छ। विगत ६ वर्षदेखि नेपालमै डिभिजन शैलीमा हुने यो पहिलो प्रतियोगिता हो। प्रतियोगितामा जिल्ला भित्रका ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिम सहभागी छन्।
माघ ३०, २०७७ शुक्रबार १६:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।