‘तिमीसँगै हुने मन छ’मा अनुबन्धित भए दीपिका र रोहित
काठमाडौँ - दिवाकर भट्टराईले बलिउड कलाकार लिएर चलचित्र निर्माण गर्ने भएका छन् । उनको आफ्नै निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘तिमीसँगै हुने मन छ’मा मुम्बईका रोहित सुचान्तीलाई डेब्यू गराउने बताएका छन्।
उनले यस चलचित्रमा रोहितसँगै अभिनेत्री दीपिका प्रसाईँलाई अनुबन्धित गरेको जानकारी दिए। यस अघि रोहितले हिन्दी सिरियल ‘तुने प्यार क्या किया’ र ‘रिश्ता लिखंगे हम नयाँ’ लगायत आधा दर्जनमा अभिनेताका रूपमा काम गरिसकेका छन्।
उनले अभिनेता सलमान खानको टेलिभिजन रियालिटी सो बिग बोस १२ मा भाग लिएका थिए। नेपाली चलचित्र ‘तिमीसँगै हुने मन छ’ मा उनले पहिलो पटक अभिनय गर्न लागेका हुन्।
अभिनेत्री दीपिका प्रसाईँ चलचित्र निर्माणको घोषणा भएसँगै अनुबन्धित भएकी थिइन्। दीपिका र रोहितलाई नेपाली दर्शकले ‘तिमीसँगै हुने मन छ’मा अब देख्न पाउने पक्का भएको निर्देशक भट्टराईले बताए।
चलचित्रको छायाङ्कन आगामी चैतको पहिलो साताबाट हुने निर्माण पक्षको भनाई छ। चलचित्रमा रोहित र दीपिकासँगै अन्य कलाकारहरूको पनि टुङ्गो लाग्ने निर्देशक भट्टराईले बताए। चलचित्र ओम नमः सिवाय प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको हो भने चलचित्र प्रेम कथामा आधारित हुनेछ ।
निर्देशक भट्टराईले चलचित्र ‘तिमीसँगै हुने मन छ’मा सम्पूर्ण टेक्निकल टिम बलिउडबाट झिकाउन लागेको बताएका छन्। छायाकार, कोरियोग्राफर साथै मेकअप म्यान पनि उतैबाट चलचित्र छायाङ्कनमा आउनेछन्।
माघ ३०, २०७७ शुक्रबार १४:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।