आमसभामा प्रचण्डका चार स्पष्टीकरण

आमसभामा प्रचण्डका चार स्पष्टीकरण

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले काठमाडौंमा आज आयोजित आभसभामा अन्तिम वक्ताका रूपमा भाषण गर्न आए, उक्त समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। 

भाषणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको चर्काे आलोचना गरे। यससँगै उनले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा गरेको टिप्पणी, अदालतको अवहेलनालगायत विषयमा स्पष्टीकरण दिए।

लाग्थ्यो– उनले आमसभालाई आफूमाथि लागेको आरोपकाे जवाफ दिने थलोको रूपमा प्रयोग गरे। 

दाहालको बोलीमा आक्रोस, डर र चिन्ता थियो। सँगसँगै सडकमा आउनुपर्दाको पीडा पनि। 

भाषणका क्रममा दाहालले पहिलो नम्बरमा आफूले अदालतको अवहेलना नगरेको स्पष्टीकरण दिए। उनीविरुद्ध प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा परेको रिटको प्रतिकूल हुने गरी सार्वजनिक कार्यक्रममार्फत् अभिव्यक्ति दिएको भन्दै अदालत अवहेलना मुद्दा दर्ता भएको थियो। 

‘हुन त मैले बोल्दाखेरी अपमान भयो पनि भन्छन्। मैले कहिले पनि अपमान गरेको छैन,’ उनले भने, ‘अदालतप्रति भरोसा छ भनेको हुँ। हिजो पनि भनेको थिएँ। आज पनि भन्छु। बरु मैले छिटो गर भनेको छु, गर्ने त्यही हो।’ 

दाहाललाई अवहेलना मुद्दामा अदालतले आफै उपस्थित भएर ७ दिनमा लिखित जवाफ पेस गर्न आदेश दिएको छ। त्यसको समयवधि सकिने अवस्थामा छ। तर, दाहालले अदालतलाई जवाफ पेस गरेका छैनन्। 

यस्तै, दाहालले ओलीको भनिने नारा ‘समृद्ध नेपाल, सुखी नेपाली’ आफ्नो पक्षका नेता झलनाथ खनालले बनाएको दाबी गरे। 

‘हाम्रो सपना पनि भन्यौं– ‘समृद्ध नेपाल, सुखी नेपाली’, झलनाथजी (झलनाथ खनाल)ले बनाउनुभएको नारा रहेछ त्यो। हामी सबैको सपना हो त्यो,’ उनले भने। 

यो दाहालको दोस्रो स्पष्टीकरण थियो। 

भाषणका क्रममा दाहालले निर्वाचन आयोगबारे दिएको अभिव्यक्ति सम्बन्धमा आफूमाथि लागेको आरोपको जवाफ दिए। दाहालले आफूले आयोगलाई खुट्टा नकमाउन भनेको प्रष्टीकरण दिए।

‘काइते कुराको पछि नलाग पो भनेको, काइते कुराको पछि लाग्ने ? निरंकुशताको पछि लाग्ने लोकतन्त्र मास्न खोज्नेको पछि लाग्ने ?’ दाहालले आक्रोशित हुँदै भने। 

आयोगले पार्टीको आधिकारिकता कुन (ओली वा दाहाल–नेपाल) समूहलाई दिने भन्नेबारे दाहालको चिन्ता थियो। 

आयोगले स्वतन्त्रपूर्वक निर्णय गरोस्, कसैको धाकधम्कीका आधारमा निर्णय नगरोस्, जनताको भावना बुझोस् भन्ने मात्रै चाहना राखेको दाहालले बताए। 

यसैगरी, दाहालले आफूहरूलाई पद र सत्ता नचाहिएको बताए। 

‘हामीलाई कुर्सी चाहिएको छैन, ढुक्क हुनुस्। फटाहाहरूले कुर्सीका लागि भनिदिन्छन्। तपाईंहरूको दिमागमा पनि खै कुर्सीकै लागि गरेको हो कि भन्ने लाग्दो हो। तर, होइन,’ दाहालले आश्वासन दिँदै भने, ‘हामीलाई राष्ट्रको हित चाहिएको छ। संघीयता, समावेशिता चाहिएको छ। यो संविधानमा भएका जतिको कार्यान्वयन चाहिएको छ।’ 

दाहालले चुनाव नहुने ठोकुवा गर्दै भने, ‘केपीको चुनावी नौटंकी हुनेवाला छैन कोही भ्रममा नपरौं।’

यो दाहालको चौथो स्पष्टीकरण थियो। 

माघ २८, २०७७ बुधबार २२:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।