दाहालको आग्रहपछि काँग्रेस आउला संयुक्त आन्दोलनमा ?
काठमाडौँ : नेपाली काँग्रेससँग संयुक्त आन्दोलनका लागि भएका अनौपचारिक संवादको प्रभाव नपरेपछि नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक मञ्चबाटै संयुक्त आन्दोलनको नेतृत्व गर्न काँग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरे।
भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उनले लोकतान्त्रिक आन्दोलनका काँग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइराला र संविधान निर्माणमा सुशील कोइरालाले खेलेको भूमिका स्मरण गर्दै उनले प्रधानमन्त्रीको निरंकुशताविरुद्ध संयुक्त आन्दोलनको नेतृत्व गर्न आग्रह गरेका हुन्।
नेकपामा विवादसँगै दाहाल–नेपाल समूहले काँग्रेसलाई आफूसँगै आन्दोलनमा ल्याउन पटक–पटक प्रयास गरिरहेको छ। दाहाल–नेपाल समूहले अनौपचारिक संवाद समेत गरेका छन्। तर प्रयास सफल हुन सकेको छैन।
काँग्रेस ओलीको संसद् विघटनको कदमविरुद्ध आन्दोलनमा एक्लै छ।
दाहालले बुधवार आयोजित कार्यक्रममा मञ्चबाटै उनले काङ्ग्रेससँगै जनता समाजवादी पार्टीलाई संयुक्त आन्दोलनमा आउन आग्रह गर्दै भने‘
‘शान्ति सम्झौतामा हस्ताक्षर सात दलको तर्फबाट गिरिजाप्रसाद कोइरालाले गर्नुभएको हो। यो संविधान सभाबाट पहिलो सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रूपमा गिरिजा कोइरालाले गरेको हो । त्यो त नेपाली काँग्रेसका सबै नेता कार्यकर्ताले सम्झिनै भएको होला नि यो कुरा,’ यही संविधान हो जसले प्रधानमन्त्रीलाई विशेष अधिकार दिन हुँदैन भनेर बनाइयो त्यो संविधान बनाउने बेलामा पनि नेपाली काङ्ग्रेसकै प्रधानमन्त्री सुशील कोइराला हुनुहुन्थ्यो।’
‘तपाईँहरूले बढो चलाखीका साथ भन्नुभएको थियो फादर अफ कन्टिच्युसन, सुशील कोइरालाजीलाई। अहिले गिरिजाबाबु नि हुनुहुन्न, सुशील कोइराला नि हुनुहुन्न,’ उनले भने‘ अहिले शेरबहादुरजी हुनुहुन्छ। अब तपाई शान्ति सम्झौता गर्ने, संविधान सभा गर्ने, सङ्घीय लोकतान्त्रिक गणतन्त्र गर्ने। संविधान निर्माणमा तपाई पनि नेता हो।’
उनले संयुक्त आन्दोलनमा आउन आग्रह गर्दै भने ‘ त्यो संविधानमा घात हुँदा त्यो पार्टीले संयुक्त आन्दोलन गर्ने र यो केपीको निरंकुशतालाई सदाका लागि परास्त गर्ने र अब लोकतन्त्र खतरामा छैन भनेर पुष्टि गर्ने बेला यो नेपाली काँग्रेसलाई अवसर हो। काँग्रेसका नेता कार्यकर्तालाई म अपिल गर्न चाहन्छु । यो अवसर गुम्न नदिनुस् हामी तपाईँहरूसँग हातेमालो गर्न तयार छौँ ।’
तर तयार छैनन् देउवा
दाहालले सार्वजनिक रूपमै मञ्चबाट संयुक्त आन्दोलनमा सहभागी हुन आव्हान गरे पनि काँग्रेस सभापति शेरबहादुर देउवा भने नेकपाको दाहाल–नेपाल समूहसँग आन्दोलनमा मिसिन तयार छैनन्।
कोइराला परिवार समेत तत्काल नेकपाको एक समूहसँग आन्दोलनमा मिसिन तयार देखिएको छैन। सार्वजनिक मञ्चबाटै काँग्रेस महामन्त्री शशाङ्कले काँग्रेसको अस्तित्वका लागि पनि संयुक्त आन्दोलनमा जान नहुने एक्लै आन्दोलन गर्नुपर्ने बताइसकेका छन्।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह संयुक्त आन्दोलनप्रति सकारात्मक छन्। तर पार्टीबाट आधिकारिक रूपमा निर्णय नगराई संयुक्त आन्दोलनमा सहभागी हुन सम्भव छैन। पार्टीको केन्द्रीय समितिबाट निर्णय गराउन पौडेल समूहसँग आवश्यक बहुमत छैन।
देउवा किन तयार छैनन् ? काँग्रेसका एक केन्द्रीय सदस्यसँग उकेराले जिज्ञासा राखेको थियो।
नाम उल्लेख गर्न नचाहने ती केन्द्रीय सदस्यका अनुसार प्रधानमन्त्री ओलीले संसद् विघटन गर्नासाथ दाहाल र नेपाल वरिष्ठ नेता पौडेललाई भेटेर देउवाको विश्वास छैन तपाई हेर्नुस् हैन भनेको सार्वजनिक भएपछि देउवा यी दुवै नेतासँग रिसाएका छन्।
पछि पौडेलले त्यस्तो कुरा केही नभएको दाबी गरे पनि दाहाल र नेपाल उनलाई आफ्नो पक्षमा उभ्याउन र संवैधानिक परिषद्को बैठकमा सहभागी हुन देउवालाई रोक्न नै पौडेलसँग भेटेको पछि पुष्टि भएको थियो।
दोस्रो व्यवहारमा नेकपा दुई समूहमा देखिए पनि कानुनी रूपमा विभाजित भएको छैन। कानुनी रूपमा अलग दल नभएसम्म नेकपाको ओली र दाहाल–नेपाल पार्टी नभई समूह नै हुन्।
‘संयुक्त आन्दोलनबारे पार्टीभित्र पनि छलफल भइराखेको छ। तर स्वतन्त्र दल नभई एकै पार्टीको एक समूहविरुद्ध अर्को समूहसँग मिलेर कसरी संयुक्त आन्दोलनमा जाने भन्ने समस्या छ,’ ती नेताले भने‘ जबसम्म दाहाल–नेपाल समूहले कानुनी रूपमा दलको मान्यता पाउँदैनन् तबसम्म काँग्रेस संयुक्त आन्दोलनमा सहभागी हुने सम्भावना छैन।’
प्रचण्डले जनता समाजवादी पार्टी समेत संयुक्त आन्दोलनमा आउन आव्हान गरे। तर जसपाले पनि निर्णय गर्न सकेको छैन। पार्टीमा बाबुराम भट्टराईपक्ष नेकपा दाहाल–नेपाल समूहसँग मिलेर आन्दोलनमा सहभागी हुन तयार छन्।
यही विषयमा दाहाल र भट्टराईबिच उपराष्ट्रपतिको निवासमा २ पटक भेटेरै छलफल समेत भइसकेको छ। तर जसपाका अन्य नेताहरू राजी भइसकेका छैनन्। बाबुरामले मनाउन सकेका छैनन्।
माघ २८, २०७७ बुधबार १७:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।