गायिका प्राश्ना भन्छिन् : ‘भो भाइरल हुनु छैन’

गायिका  प्राश्ना भन्छिन् : ‘भो भाइरल हुनु छैन’

काठमाडौँ : झन्डै २ दशक हुन लाग्यो धरानबाट काठमाडौँ आएर सङ्गीतलाई कर्म क्षेत्र बनाएको। प्राश्ना शाक्य गायनमा प्रवेश गरेकी थिइन् ‘हाई, हाई हेल्लो, हेल्लो’ पप गीत गाएर।

इमेज एफएम ९७.९ की कार्यक्रम सञ्चालक समेत रहेकी प्राश्नाले स्वर भरेका ‘आवाज देऊ’, ‘गाउँले जीवन’ गीत धेरैले रुचाए। उनको पहिचान बनाउन यसले खुब सघायो।

एसएलसीपछि म्युजिक कलेजमा पढ्न थालिन। त्यस बेला अहिलेजस्तो प्रविधिको बोलवाला थिएन। आवाज–२  एल्बमले उनलाई गायिका प्राश्ना शाक्य भनेर चिनायो।

रिजर्भ बानी

१३ वर्षकै उमेरमा धरानमा सम्पन्न ‘छिमेकी साँझ’बाट साङ्गीतिक यात्रा सुरु गरेकी प्राश्ना पहिलेदेखि रिजर्भ देखिन्छिन् । 

उनले ३ दर्जन भन्दा बढी नेपाली चलचित्रमा पार्श्व गीत गायन दिइसकेकी छिन्। प्राश्नाले मैथिली र भोजपुरी नेपाल भाषाका गीत पनि गाइन्।

उनले जानेको स्टुडियो गायन, कन्सर्ट, एफएममा बोल्ने, विज्ञापनमा बोल्ने नै हो। 

धरानमा हुर्केकी प्राश्ना सानै देखि मठमन्दिर जाने, भजन गाउन र सुन्न रुचाउँथिन् । 

धरानका अम्बिका शाक्यलाई देवता आउने माताको रूपमा पुजिन्थे र आस्था राख्थे। उनी ९ वर्षकै उमेरदेखि अम्बिका माताकोमा  गइरहन्थिन्। 

उनी मातालाई अजी (हजुर आमा) भन्थिन्। उनीहरूको घरमा हिन्दु धर्म र बुद्ध धर्म उतिकै मान्ने। उनले रेकर्ड गरेको पहिलो गीत ‘हाई हाई’ पनि उही अजिले लेख्नु भएको गीत हो। 

उनले एसएलसी पछि हाई हेल्लो एल्बम निकालिन्। त्यति बेला उनी १५ वर्षकी मात्र थिइन्। त्यसपछि अजिकै रचनामा एउटा भजन पनि रेकर्ड गराएकी थिइन्। 

अहिले उनकी माता अजी ८० वर्षकी भइन्। ज्यूदों देवताको रूपमा मान्ने प्राश्नालाई उनको रचनामा अझै गाउने रहर छ। 

जसकारण उनले भर्खरै स्वस्थानी व्रत सुरु भएकै दिन स्वस्थानी माताको गीत आफ्नो युट्युब मार्फत बजारमा ल्याएकी छिन्।

पप, आधुनिक गीतसँगै उनलाई मन पर्ने गायन विधा भजन नै हो। ‘भजन गाउँदा जस्तो आनन्द अरू केहीमा हुन्न’ उनले भनिन्।

युट्युबको नर्सरीमा प्राश्ना

प्राश्ना सुरु देखिनै कम बोल्ने। नानीदेखि लागेको बानी कहाँ छुट्छ र। उनी अहिले पनि उस्तै छिन्। त्यसमा पनि अहिले आएको प्रविधिमा उनी नर्सरी बराबर हुन्।

उनी आफूलाई युट्युबको संसारमा भिजाउने प्रयासमा छिन्। तर सकेकी छैनन्। उनैको भाषामा उनी प्रविधिको मामिलामा नर्सरीमा छिन् अहिले।

१९ वर्षको काठमाडौँ बसाइमा प्राश्नालाई पैसाले कला देखाउने होडमा गाह्रो भएको अनुभव छ। 

उनी भन्छिन्, ‘अहिले गीतसङ्गीतमा पैसाको चहलपहल बढी नै देख्छु। पैसा छ भने कला देखिन्छ नत्र ओझेल।’ 

भाइरलको मोह छैन

प्राश्ना न त भाइरल भएर उदाउन चाहन्छिन्, न प्रविधिको होडमा नै मिसिन। तर उनी रमाइरहेको सङ्गीत नै हो। उनका लागि सङ्गीत साधना हो। तर प्रविधि हो यसलाई अस्वीकार पनि कसरी गर्नु।

‘तर मलाई भाइरल हुने मोह छैन’ उनले उकेरासँग भनिन्।

प्रविधिका धेरै सकारात्मक पक्ष छन्। तर कला भन्दा पनि अर्थको अलि बढी नै प्रभाव परेको हो कि लाग्छ उनलाई। 

‘अहिले तपाइसँग पैसा छ भने चाँडै नै खुबी देखिन्छ। यदि पैसा छैन भने धेरै गाह्रो छ’ उनको अनुभव छ‘ गायन क्षमता भएर मात्रै हुँदैन अहिले। मार्केटिङ पनि जान्नुपर्ने रहेछ।’

कला भएकाहरू प्रविधिको सहयोगमा छाउँदा उनलाई खुसी नै लाग्छ। तर न गला न कला भएकाहरू आर्थिक बलकै आधारमा भाइरल भएको भने पटक्कै मन परेको छैन रे।

कोरोनाले सिकाएको कला

कोरोना कहरले उनलाई धेरै सिकायो रे। त्यही समयमा उनले आफै गीत लेख्न थालिन्। सङ्गीत पनि भरिन्। आधा दर्जन गीत कम्पोज गरिन् त्यही बेला।

तर बजारमा ल्याउन सकेकी छैनन्। गीत कम्प्युटरमै थन्किएका छन् रे। 

प्राश्ना भन्छिन् ‘गीत रेकर्ड गरे पछि भिडियो बनाउनु पर्यो, युट्युबमा बुस्ट गराउनु पर्यो,’ उनले भनिन्‘ पहिला पनि समस्या नभएका हैनन्। तर हजारमा समस्या समाधान हुन्थ्यो। अहिले त लाखको कुरा मात्र सुन्छु।’

उनले २ लाइन मात्रै गाएको गीत टिकटकमा भाइरल भयो। कस्तो माया तिमीसँग बस्यो गीत युट्युबमा पनि हिट भयो। 

त्यही गीत पुरै प्राश्नाले गाउन पाइनन्। कोरोनाको कारण त्यो गीत त्यतिकै हरायो। 

प्रविधिसँग अभ्यस्त नभई अब केही हुन्न भन्ने उनको ठम्याई छ। सत्य पनि यही हो। तर साधनातिर ध्यान लगाउने कि भाइरल हुनतिर? उनी कन्फ्युज देखिइन्।

‘भो भाइरल हुनु छैन’ उनले भनिन्।

माघ २७, २०७७ मंगलबार ०७:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।