संसद् विघटन मुद्दामा प्रधानमन्त्रीका निजी वकिलको बहस : कसले के भने ?

संसद् विघटन मुद्दामा प्रधानमन्त्रीका निजी वकिलको बहस : कसले के भने ?
फाइल तस्बिर।

काठमाडौं : सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी संसद् विघटन मुद्दामा आज (सोमबार) २० औं दिनको बहस चल्यो। आज प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिलले बहस गरे। 

बहसका क्रममा उनीहरू संसद् विघटन संवैधानिक रहेको पुष्टि गर्न विभिन्न तर्क र आधार इजलाससामु राखे। 

वरिष्ठ अधिवक्ता रवि शर्मा खनालले प्रधानमन्त्रीले सपथ खाँदा अन्तिमसम्म जनताका लागि काम गर्छु भनेको प्रसंग निकाल्दै जनताको हित हुने अवस्थामा संसद् विघटन गर्न सकिने तर्क गरे।

यस्तै,  वरिष्ठ अधिवक्ता टंक दुलालले संविधानले संसद् विघटन गर्न नसक्ने कमजोर प्रधानमन्त्रीको परिकल्पना नगरेको दाबी गरे। 

अधिवक्ता ईश्वरीप्रसाद भट्टराईले अविश्वासको प्रस्ताव ल्याउँदा संसदीय दलको नेता चयन गरी प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने तर्क गरे। उनले अहिले यो अवस्था नदेखिएको दाबी गरेका थिए। उनले अविश्वासको प्रस्ताव ल्याउने प्रक्रिया नै पूरा नगरिएको तर्क गरे।

अधिवक्ता महेश नेपाल संसदीय दलको नेता नै चयन नगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविश्वासको प्रस्तावमार्फत् नयाँ प्रधानमन्त्रीको सिफारिस गरेको र यो विधिसम्मत नभएको तर्क गरे। 

यसैगरी, अधिवक्ता चन्द्रप्रसाद रेग्मीले संविधानमा प्रधानमन्त्रीका सबै अधिकार लेख्न सम्भव नरहेको तर्क गर्दै संसद् विघटन प्रधानमन्त्रीको विशेषाधिकार रहेको दाबी गरे। 

अर्का अधिवक्ता उमा रेग्मीले ‘जनताबाट लिएको नासो जनतामा नै फिर्ता गर्न’ कार्यकारी अधिकार भएको प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने तर्क प्रस्तुत गरिन्। प्रधानमन्त्रीलाई संसद् विघटन गरेर ताजा जनादेशमा जाने अधिकार रहेको संविधानमा रहेको उनको  दाबी थियो। 

अधिवक्ता अनन्त लुइँटेलले प्रधानमन्त्रीलाई विशेषाधिकार दिएर जंगबहादुर बनाउन खोजिएको नभई कानुनको परिधिभित्र रहने गरी शक्तिशाली प्रधानमन्त्री बनाउन खोजिएको र विघटनको विशेषाधिकार प्रधानमन्त्रीमा निहित रहेको तर्क गरे।

सोमबार ब्रेकपछि वरिष्ठ अधिवक्ताद्वय विष्णुप्रसाद भट्टराई तथा विष्णुमणि अधिकारी, र अधिवक्ताहरू लोकनाथ खरेल, मुकुन्द अधिकारी, भोजराज आचार्य र शान्तिदेवी खनालले बहस गरेका थिए। 

सोमबार प्रधानमन्त्रीका तर्फबाट १३ जना निजी वकिलले बहस गरेका थिए। बहसनामा लेखाएका एक वकिल भने अनुपस्थित रहे। 

माघ २६, २०७७ सोमबार २३:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।