नेकपाको विवादमा दोहोरी : स्मिता र नवीनको ‘हामी कम्युनिस्ट पार्टी’
दुवै समूह एक अर्काप्रति गालीगलौजमा उत्रेका छन्। नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल दुई अध्यक्ष नै एकै ठाउँमा बस्न नसक्ने भनेर अलग भएका छन्।
नेकपा विभाजनको सँघारमा पुगेपछि पक्ष/विपक्षमा लागेका कलाकारहरूले आ–आफ्नै पक्षको गीत पनि सार्वजनिक गरिरहेका छन्। यस क्रममा गायिका स्मिता दाहाल र गायक नवीन खड्काले नेकपा दाहाल नेपाल समूहको पक्ष देखिने गरी भिडियो गीत सार्वजनिक गरेका छन्।
गत महिना गायिका कोमल ओलीले केपी शर्मा ओलीको पक्षमा गीतको भिडियो सार्वजनिक गरेकी थिइन्। सरकारको पक्षमा गीत निकाले पछि दाहाल–नेपाल पक्षका नेकपाका अध्यक्ष दाहालकी नातिनीले नयाँ गीत सार्वजनिक गरेकी हुन्।
उनले हजुरको नामले चिनिन नचाएको विभिन्न अन्तरवार्तामा भन्दै आए पनि ‘हामी कम्युनिस्ट पार्टी’ बोलको गीतमार्फत उनले हजुरबुबाको राजनीतिक लाइनलाई चिनाउने सन्देश दिएकी छन्।
गीतमा तिलक ओलीको एरेन्ज र सङ्गीत रहेको छ भने शब्द नवीन कै रहेको छ। कवीन्द्र ओलीले खिचेको भिडियोलाई वीरेन्द्र ओलीले निर्देशन गरेका छन्। भिडियोमा दाहाल–नेपालको आन्दोलन लगायतको फुटेज जोडेर जलजला युट्युव मार्फत सार्वजनिक गरिएको छ।
माघ २६, २०७७ सोमबार १०:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।