कम्युनिस्ट प्रधानमन्त्रीलाई मजदुरको प्रश्न : शक्ति देखाउन गाडी नै रोक्नुपर्छ र ?

कम्युनिस्ट प्रधानमन्त्रीलाई मजदुरको प्रश्न : शक्ति देखाउन गाडी नै रोक्नुपर्छ र ?

कारण थियो– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले दरबारमार्गमा गरेको आमसभा। आमसभाअघि राजधानीका विभिन्न स्थानबाट निकालिएको जुलुसका कारण सवारी साधन चलेका थिएनन्। 

‘गाडी पाइएला भनेर नयाँ बसपार्क हुँदै आएँ। तर, चार घण्टासम्म कुर्दा पनि पाइएको छैन,’ आज दिउँसो नयाँ बसपार्कमा भेटिएका पुनले दुखेसो सुनाए। 

थानकोटको एक इँटाभट्टामा काम गर्दै आएका उनी गाडी नचलेपछि हैरान देखिन्थे। गाडी आउँछ कि भनी यताउति हेर्थे पनि। 

‘काउन्टरमा रहेका कर्मचारीलाई सोध्दा ‘एकछिनमा आउँछ’ भन्छन्। तर, गाडी नपाएको घन्टौं बितिसक्यो,’ बसपार्कमा आज दिउँसो भेटिएका उनले सुनाए। 

उनले दुई दिन भयो काम गर्न नपाएको। हिजो पनि आमहड्तालका कारण काममा जान सकेनन् उनी। हिजो नेकपाकै पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले आमहड्ताल गरेको थियो। 

इँटाभट्टामा दैनिक ज्याला मजदुरी गरेर पुनको ६ जनाको परिवारले छाक टार्दै आएको छ। दैनिक ज्याला मजदुरी गर्न नपाएपछि छाक टार्न समस्या हुने गरेको उनी बताउँछन्। 

पुनजस्तै नयाँ बसपार्कमा गाडी कुर्ने अर्का यात्रु थिए, दोलखाका शिवराज सुवेदी। 

काँडाघारी जाने गाडीको प्रतीक्षामा रहेका उनले गाडी नपाएको दुखेसो पोखे। ‘गाडी कुर्दाकुर्दै थाकियो। अब पैदलै जाने तयारीमा छु,’ उनले सुनाए। 

उनी आज बिहानै व्यक्तिगत कामले भोटाहिटी आएका थिए। तर, काम सकेर डेरा फर्किंदा सुनधारा र रत्नपार्कमा गाडी पाएनन्। 

त्यसपछि गाडी पाइने आसमा बसपार्क पुगेका थिए उनी। 

आमसभाका कारण सवारी साधन नचल्दा सर्वसाधारणले दुःख पाएको उनी बताउँछन्। 

गाडी नचल्दा आम सर्वसाधारण मात्र होइनन्, विद्यार्थी पनि मर्कामा परे। अनामनगर डेरा गरी बस्दै आएका नुवाकोटका सागर पनेरु लैनचौरस्थित कलेजबाट फर्कदा गाडी नै नपाएको दुखेसो सुनाए। 

‘बिहान कलेज जाँदा गाडीमा गएको थिएँ। फर्कदा गाडी नै चलेन,’ उनले भने। 

गाडी नचलेपछि राजधानीका विभिन्न ठाउँमा अलपत्रझैं देखिएका थिए यात्रु। गाडी प्रतीक्षामा उभिँदा थाकेर सडक छेउमै बसिरहेका देखिन्थे केही। 

दलले आफ्नो सहजताका लागि आमसर्वसाधारणलाई पर्ने असरप्रति वास्ता नगरेको यात्रुहरू दुखेसो पोख्छन्। 

त्यसकारण उनीहरूको माग छ– आमसभा गरिए पनि सवारी साधन चल्न दिइयोस्।

माघ २३, २०७७ शुक्रबार १८:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।