दुई क्यान्सर विजेताको सफलता
‘डाक्टरलाई नदेखाई भएन’ भनेर उनी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुगे । चिकित्सकले उनलाई बायोप्सी गर्न सल्लाह दिए । उनले धरानमै बायोप्सी गरे।
रिपोर्ट आयो। रिपोट हेरेपछि चिकित्सकको मुहार बदलियो।
‘भएको के हो डासाब ?’
चिकित्सकले भने ‘क्यान्सर भएको रहेछ।’
एक्कासि टाउकोमा केही बज्रे झैँ लाग्यो उनलाई।
ट्युमरको आकार निक्कै बढिसकेको थियो उनको। चिकित्सकले हौसला दिँदै भने‘ नआत्निुस् अहिले क्यान्सरको उपचार सहज भएको छ। अप्रेसन गर्दा हुन्छ।’
उनी भारतको राजीव गान्धी क्यान्सर अस्पताल दिल्लीतिर लागे। दिल्ली पुगेपछि उनको दुखाई झनै बढ्न थाल्यो । उनको पाँच लाख बढी खर्च भइसकेको थियो। चिकित्सकले अप्रेसन गर्न सुझाव दिए।
तर अप्रेसन गर्न नमिल्ने भयो उनको। किमो थेरापी र रेडिएसन थेरापीको सल्लाह आएपछि उनी दिल्लीमा बसेनन् स्वदेश फर्किए।
हरिसिद्धी क्यान्सर अस्पताल पुगेर उनले ६ पटक किमो चलाए। ३५ पटक रेडिएसन थेरापी गराए। त्यसको ६ महिनापछि मात्र अपरेसन हुने भयो।
शरीर थाक्ने नै भयो। मन पनि थाकिसकेको थियो उनको। आर्थिक अभाव त हुने नै भइहाल्यो। अपरेसनको मिति तय भयो । र अपरेसन सफल पनि भयो ।
‘दुखाई र रोग सम्झिदा त बाँच्छु जस्तो लागैकै थिएन,’ ती दिन सम्झिँदै उनले भने ‘तर म भन्दा धेरै कमजोर अनि साना बालबालिका पनि अपरेसनमा आएको देखेर आत्मबल बढ्यो । तिनीहरूलाई देखेपछि आफू निको भएजस्तो लाग्न थाल्यो ।’
तर दुख सकिएका थिएनन् उनको। अपरेसनपछि घाउमा इन्फेक्सन भयो । २ महिना पछि बल्ल घाउ सुख्खा भयो । त्यसपछि मात्र अस्पतालबाट डिस्चार्ज भएँ उनी ।
‘अस्पतालबाट निस्केको दिन जीवनकै महत्त्वपूर्ण दिन थियो,’ उनी भावुक भए ‘मृत्यु जितेर फर्किएको आभास भयो ।’
२०५८ मा साथीसँग मिलेर खोलेको एभरेस्ट भ्यु बोर्डिङ स्कुलका व्यवस्थापक हुन रुपसागर । अहिले पनि उनी सोही स्कुलको व्यवस्थापनमा खटिएका छन्।
सामाजिक क्षेत्रमा निकै क्रियशिल छन् उनी अहिले। आत्मबल बलियो भयो भने सबैलाई जित्न सकिने विश्वासमा छन् उनी । नियमित काममा फर्किएपछि आफू क्यान्सर पीडित भएको अभ्यास नहुने उनले बताए।
‘जीवनमा जे हुन्छ त्यसलाई मुकाबिला गर्दै जाने हो हतोत्साहित भयो भने शत्रुसङ मात्र हैन अफैसंग नि हारिन्छ’ उनले भने।
०००
उनीजस्तै आत्मविश्वासी छन् कृष्ण बिमली । उमेरले ७ दशक पार गरेका उनी जोसिला देखिन्छन् । डेढबर्ष अघि उनले पनि क्यान्सरको अपरेसन गरेका थिए। अहिले बिमली ठाटीँएर हिँड्छन्, बोलीमा जोस छ।
२०६२÷६३ को आन्दोलनमा लागेकै बेला उनलाई पेट दुख्ने समस्या देखा पर्यो । केही दिनपछि पेट पोल्ने र सहनै गाह्रो हुँदै गयो । उपचारकै लागी सिल गुडी, धरान, काठमाडौँ सबै तीर पुगे । तर रोग पत्ता लागेन। बरु दुखाई झनै बढ्दै गयो ।
‘एक दिन मलामी गएको बेला मुखबाट रगत आयो । पछि चेक गर्दा केही देखिएन’, उनले भने,‘तर पेटे पोल्ने र दुख्ने क्रम बढ्दै गयो । कहिले जाउलो कहिले एक टुक्रा रोटी मात्र खाएर दिन कटाए ।’
रोग बढ्दै गएपछि उनी विराटनगरको विराट नर्सिङ होम पुगे । डाक्टरलाई सुरुमै ‘मलाई यो रोगले धेरै सतायो क्यान्सर भए पनि भन्दिनु डाक्टर साब’ भनेर आग्रह गरे ।
डाक्टरले आनाकानी गर्दै क्यान्सरै भएको बताइदिए।
लक्षण देखिएको धेरै भएको थियो। कतै उपचारै हुन नसक्ने गरी फैलियो कि भनेर आत्तिए पहिला। चिकित्सकले पनि विदेशमा गएर उपचार गर्न सल्लाह दिए । तर उनले नेपालमै अपरेसन गर्ने अडान दिए।
उनका काका तेजप्रसाद सिटौलाले चाडै अपरेसन गर्न सल्लाह दिए । सल्लाह मात्र दिएनन् अपरेसन गर्ने वातावरण पनि बनाइदिए । उनको काका राजनीतिमा सक्रिय। काँग्रेस महामन्त्री शशाङ्क कोइराला मार्फत काठमाडौँको मेडीसीटी अस्पताल पुगे बिमली ।
डाक्टरले राम्रो सँग सल्लाह दिए । शरीर चिर्नुपर्ने र ठुलो अपरेसन गर्नुपर्ने बताए । उनले मन्जुरी दिए ।
‘मलाइ कुनै डर लागेको छैन अपरेसन गरिदिनु भनेँ। अपरेसन गरेको धेरैपछि होस आयो,’ उनले भने ‘३ दिनमा आफै उठेपछि डाक्टर चकित भए । त्यसको केही दिनमै यताउता हिँड्न सक्ने भएँ।’
२०७५ साल भदौ २२ मा उनको अपरेसन भएको थियो। अस्पतालबाट डिस्चार्ज भएपछि झापा घर फर्किए।
बिएनबी अस्पतालमा किमो चढाउनुपर्ने भयो। ३ महिनासम्ममा ६ वटा किमो सकियो । किमो चढाउँदा निक्कै गाह्रो हुने उनले सुनाए। अहिले पनि सम्झिँदा झसङ्ग हुन्छन् रे । उनी भन्छन्, आगोले पोलेजस्तो हुन्थ्यो ।’
‘म सँगै अपरेसन गरेका ६ जना क्यान्सर पीडितको निधन भइसक्यो । तर म अझै १५ वर्ष केही हुन्न भन्ने लाग्छ,’ आत्मविश्वासका साथ उनी भन्छन्‘सबैभन्दा ठुलो कुरा आफैले आफैलाई विश्वास गर्नु रहेछ।’
माघ २३, २०७७ शुक्रबार १८:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।