शक्ति प्रदर्शन सभामा प्रधानमन्त्री ओलीका सात तर्क : केही मिथ्या, केही खण्डन

शक्ति प्रदर्शन सभामा प्रधानमन्त्री ओलीका सात तर्क : केही मिथ्या, केही खण्डन
तस्बिर : कृष्पा श्रेष्ठ।

उनका केही तर्क आवेगपूर्ण थिए, केही मिथ्या त केही आंशिक। उनले आफू विरुद्धको शङ्का चिर्न पनि सभालाई उपयोग गरे। सार्वजनिक स्थानमा उनले गर्ने सम्बोधन भन्दा अलि नरम थियो शुक्रवारको सम्बोधन। धेरै ‘उखान तुक्का, र कटाक्षतिर लागेनन् उनी।

उनले नेकपाको अर्को समूहका नेताहरूलाई अप्रत्यक्ष आलोचना त गरे तर गालीमै भने उत्रिएनन्। उनले सभामा गरेका सात तर्कहरू ः 

संसद् विघटनको अधिकार प्रधानमन्त्रीमा

ओलीले सभामा आफ्ना विरोधीहरूले संसद् विघटनलाई गैर संवैधानिक भन्दै सर्वोच्च अदालतलाई तर्साई रहेको बताए। तर सोही सभाबाट सर्वोच्चमा विचाराधीन मुद्दाबारे निर्णय दिए‘ संसद् विघटनको अधिकार प्रधानमन्त्रीमा छ।

उनले यसका लागि बेलायत जहाँ लिखित संविधानै छैन त्यहीको उदाहरण लिए। ‘संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्ने अवस्था नभए संसद् विघटन गर्छ। बेलायतमा प्रधानमन्त्रीले संसद् विघटन गर्ने लेखेको छैन। त्यहाँ पनि भर्खर प्रधानमन्त्रीले चुनाव गराउनु भयो।’ संसद् विघटनको बहस बलजफती निकालियो।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद् विघटनको पक्षमा बहस गरिरहेका सरकारी वकिलहरूले समेत यस्तै अन्य देशको उदाहरण ल्याउँदै प्रधानमन्त्रीले चाहेमा संसद् विघटन गर्न सक्ने तर्क गर्दै आएका छन्।

राजतन्त्र फर्काउँछ भन्ने भ्रम

पशुपतिनाथ दर्शन गर्ने, अनि नारायणहिटी अगाडि सभा राख्ने ओली पक्षधर नेकपाको गतिविधिले आजको सभामा ओलीले महत्त्वपूर्ण घोषणा गर्ने चर्चा थियो। सभाबाट उनले राजतन्त्र या सङ्घीयताबारे घोषणा गर्न सक्ने आशङ्का समेत गरिएको थियो। तर त्यस्तो केही भएन।

उनले आफूले राजतन्त्र ल्याउने घोषणा गर्ने भनेर भ्रम फैलाएको भन्दै सभामा भने ‘

केपी ओलीले राजतन्त्र ल्याउँछ भनेर भ्रम फैलाए। म आफैँ राजतन्त्र समाप्त गर्न लाडेको व्यक्ति हुँ।’ उनले कार्यक्रम गर्ने स्थानको अभावमा दरबारमार्ग छानेको तर आफ्ना विरोधीले ठाउँका आधारमा भ्रम फैलाएको उनले बताए।

देश चुनावतर्फ गयो

वैशाखमा मध्यावधिको मिति तोकिए पनि निर्वाचनको कुनै तयारी हुन सकेको छैन। व्यवहारिक रूपमा नेकपा विभाजित भए पनि कानुनी रूपमा भने अझै एउटै छ। समयावधिको आधारमा मिति तोकिएकै समयमा मध्यावधि हुने सम्भावना कम छ। सर्वोच्चमा संसद् विघटन वैध कि अवैध भन्ने बहस जारी नै छ।

तर प्रधानमन्त्री ओलीले सभामा अब मुलुक निर्वाचनतर्फ गइसकेको घोषणा गरे।  उनले संसद् विघटन गर्नुपर्दाका कारणहरू खुलाउँदै ‘ काम गर्न नदिएकाले नै संसद् विघटन गरेको’ तर्क गरे।

ओलीले भने,‘काम गर्न दिइएन। मैले धेरै पटक भनेँ। यो सरकार पाँच वर्षका लागि हो।’ उनले काम गर्नै नदिने भएपछि जनतामा गएको तर्क गर्दै अव देश चुनावतर्फ गएको दाबी गरे। 

‘अव चुनावले कसको सरकार बन्छ भन्ने फैसला गर्छ।’ उनले भने। 

ओलीको सम्बोधनमा प्रतिगमन शब्द

संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई प्रतिगमनको रूपमा व्याख्या र विश्लेषण भइरहेको छ। उनको विरोधमा रहेको दाहाल–नेपाल समूह मात्रै हैन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेताहरूले समेत यसलाई प्रतिगमन भनेका छन्। नागरिक समाजले ओलीको कदम प्रतिगमन भएको ठहर गर्दै निरन्तर आन्दोलनमा छ।

शुक्रवारको सभामा प्रधानमन्त्री ओली आफैँले पनि प्रतिगमन शब्दको उच्चारण गरे। उनले कसैले चाहेर लोकतन्त्र खोस्न नसक्ने र प्रतिगमन सम्भव नभएको दाबी गरे। उनले यो अरूलाई भने कि आफूमाथि भएको शङ्का निवारण गरेका हुन् त्यो भने प्रस्ट भएन।

मूल पार्टी मेरै

नेकपा कानुनी रूपमा विभाजित भएको छैन। तर व्यवहारिक रूपमा पार्टीको तल्लो तहसम्मै समानान्तर संरचना बनिरहेका छन्। निर्वाचन आयोगमा दुवै पक्षले नेकपा र त्यसको चुनाव चिन्हमा आ–आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्।

सभामा प्रधानमन्त्री ओलीले नेकपा मूल पार्टी आफू नै भएको दाबी गरे। उनले भने‘मूल पार्टी यही हो। जहाँ तपाई हामी छौँ।’ उनले नेकपा कम्युनिस्टको मात्रै नभई सबैभन्दा मूल पार्टी भएको तर्क समेत गरे। 

उनले यही आजको सभाले नै मूल पार्टी को हो भन्ने फैसला भएको तर्क गरे। उनले भने,‘मूल पार्टी कुन हो भन्ने आजबाट फैसला भयो।’

सडकमा बालबालिका छैनन्

उनले जसको कोही छैन त्यसको सरकार भएको दाबी गर्दै उदाहरणका रूपमा सडक बालबालिकालाई लिए। सडक बालबालिकालाई ‘खाते’ भनिने गरेको भन्दै उनले दाबी गरे ‘आज सडकमा बालबालिका छैनन्।’ उनले यस्तो दाबी गरिरहँदा ठमेलका सडकमा सडक बालबालिका खेली रहेका थिए। उनले कोही पनि नागरिक बेसहारा नहुने दाबी समेत गरे। नेपालमा कोही भोकै मर्दैन भन्न पनि छुटाएनन्।

दाहाल–नेपाल बन्दमा तरकारी फ्याके
बिहीबार दाहाल–नेपाल समूहले आयोजना गरेको बन्दको क्रममा किसानहरूको तरकारी बाटोमा फालेको तस्बिरहरू भाइरल भएका थिए। ओलीले नेपाल बन्दमा किसानको तरकारी बाटोमा फ्याँक्ने काम गरेको, ट्याक्सी जलाएको भन्दै आलोचना गरेका थिए।

बिहीबार ट्याक्सी जलाइए पनि किसानको तरकारी सडकमा फ्याँकिएको थिएन। बन्दको क्रममा अफवाह फैलाउन एउटा नेपाल र अर्को भारतको पुरानो तस्बिर सामाजिक सञ्जालमा राखेर दाहाल–नेपालको बन्दको क्रममा भएको घटना भनेर भ्रम फैलाइएको थियो। नेपालफ्याक्ट चेकले उल्लेख गरेको थियो।

माघ २३, २०७७ शुक्रबार १७:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।