नेपाल बन्दमा लिफ्ट दिने युवा

नेपाल बन्दमा लिफ्ट दिने युवा

जे त होला भनेर स्कुटर पार्किङ गरेको ठाउँमा पुगे। एफोर साइजको पेपर निकालेर टाँसे। जसमा लेखिएको थियो‘ नेपाल खुल्ला छ।’ अनि तलतिर फेरि अर्को कागज टाँसे जसमा लेखिएको थियो‘ यो बाइकले लिफ्ट दिन्छ।’

स्वयम्भूको सानो भर्याङबाट बिहान सात बजे निस्किए उनी।

सानो भर्याङमै भेटिए एक यात्रु जो सोह्रखुट्टेसम्म जाने साधनको खोजीमा थिए। उनले लिफ्ट दिए। त्यसपछि जमलबाट त्रिपुरेश्वरसम्म अर्को यात्रु भेटिए। 

प्रधानमन्त्री केपी ओलीविरुद्ध नेकपाका दाहाल–नेपाल समूहले आयोजना गरेको बन्दले अप्ठ्यारोमा परेकालाई बिहीबार दिनभरि नै उनले लिफ्ट दिइरहे।

दिउँसो उनलाई एक जना दिदीले फोन गरिन्। उताबाट अनुरोध आयो,‘किष्ट अस्पतालमा आमालाई ब्लड चाहिएको छ। ब्लड लिन जानुपर्ने। सहयोग गर्न सक्नुहुन्छ?’ 

‘हुन्छ’ भनेर लागे उनी लोकेसन झम्सिखेलतिर। ती महिलाको ७० वर्षीय आमा अस्पतालमा भर्ना भएकी रहिछन्। उनले किष्टमा पूर्याईदिए।

उनलाई उकेराले दिउँसो २ः३० मा सम्पर्क गर्दा उनी ‘ब्लड’ लिएर काठमाडौँको ताहाचलको रक्तसञ्चार केन्द्रबाट ललितपुरस्थित ग्वार्कोमा रहेको कष्ट हस्पिटलतिर हुइँकिरहेका रहेछन्। उनै दिदीकी आमाको उपचारका लागि ब्लड लिएर।

उनी सातदोवाटोमा पुगेपछि बन्द समर्थकले कुट्न नखोजेका हैनन्। 

प्रमेशले ‘मान्छे मर्न लागेको छ। जान नदिने भए तपाइनै ब्लड पुर्याइदिनुहोला भनेँ’ पछि बन्द समर्थकको मन पग्लिएछ। जान दिए। अन्त त्यस्तो अवरोध भएन उनलाई। 

किष्टबाट ब्लड बक्स लिएर ताहाचल पुगेका उनी किष्टमा ब्लड पुर्याएर फर्किए। 

प्रमेशले बिहीबार बिहानै लिफ्ट दिने सन्देश सहितको तस्बिर सामाजिक सञ्जालमा राखेका थिए। बन्दले आपतमा परेकाहरूले उनलाई फेसबुकबाटै सम्पर्क गरेका थिए। जो जसले उनीसँग सहयोग मागे भ्याएसम्म उनले सहयोग गरिरहे बिहीबार।

उनले बिहीबार पाँच जनालाई लिफ्ट दिन सकेछन्। 

०००

प्रमेश विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य तथा अभियान विभाग प्रमुख हुन्। आपतविपत्मा परेकाहरूलाई उनले यसरी नै सघाउँदै आएका छन् अन्य दिनमा पनि। लिफ्टको तेल खर्च प्राय आफै बेहोर्छन्। कतिपय साथीभाइले ‘राम्रो काम गरेको छस्’ भनेर सहयोग पनि गर्ने रहेछन्।

‘धेरै त आफैँ खर्चको जोहो गर्छु,’ उनले उकेरासँग भने‘ कति साथीहरूले राम्रो काम गरेको छ भनेर सहयोग जुटाइदिनुहुन्छ।’

उनले सधैँ लिफ्ट भने दिँदैनन्। जब–जब कुनै दलले नेपाल बन्द गर्छ अनि उनी स्कुटी लिएर सडकमा निस्कन्छन्।

 

माघ २२, २०७७ बिहीबार १९:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।