रुपन्देहीमा बन्दको आंशिक प्रभाव
भैरहवा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आव्हान गरेको आमहड्तालको प्रभाव रुपन्देहीमा आंशिक परेको छ। रुपन्देहीको बुटवलमा बन्दको प्रभाव पूर्ण रूपमा परे पनि भैरहवा लगायतका अन्य स्थानमा भने बन्दको प्रभाव न्यून रहेको छ।
बुटवलमा बन्द आव्हानकर्ता सडकमा उत्रिएका छन्। उनीहरूले विभिन्न सवारी साधन सडकमा तेर्साएर बन्द गराएका छन्। भैरहवा लगायतका सहरमा भने न्यून मात्रामा बन्दकर्ता सडकमा निस्किएका छन्। लामो तथा छोटो दुरीका सवारी साधन नचले पनि मोटरसाइकल तथा भैरहवाका अधिकांश पसल खुलेका छन्।
प्रहरीको तैनाथी अन्य समयको भन्दा बढाइएको छ। बुटवलमा बख्तरबन्द गाडी निकालिएको छ। बुटवलको बेसक्याम्पबाट निकालिएको ४ वटा बख्तरबन्द गाडी राजमार्ग चौराहा हुँदै गोल पार्कतिर लगिएको थियो।
अर्को तर्फ कपिलवस्तुमा भने बन्दको प्रभाव परेको छ। बन्द गराउँदै हिँडेका कपिलवस्तुको तौलिहवाबाट दीपक पाण्डेय र हरिसचन्द्र खनाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अर्घाखाँचीमा बन्दको प्रभाव पूर्ण रूपमा परेको छ। बन्दका कारण अर्घाखाँचीको जनजीवन पूर्ण रूपमा प्रभावित भएको छ।
जिल्लाबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन बिहानै देखि चलेका छैनन् भने शैक्षिक संस्था, कलकारखाना पनि बन्द छन्। यता जिल्लाको सदरमुकाम सन्धिखर्क लगायतका बजार क्षेत्र र ग्रामीण भेगका बजारहरू समेत बिहानैदेखि पूर्ण रूपमा बन्द रहेका छन्।
दाहाल–नेपाल पक्षका सङ्घर्ष समितिका नेता तथा कार्यकर्ताहरू सदरमुकाम सन्धिखर्क चुत्रावेसिमा खोलिएका पसल, सवारी साधन बन्द गराउँदै गल्ली गल्ली हिँडेका छन्।
माघ २२, २०७७ बिहीबार १३:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।