कमल पोखरीको १ सय ८ तोला सुनको कलश हरायो, १० तोलाको सिक्री गायब
काठमाडौँ : आइतबार साँझ काठमाडौँ महानगरपालिकाले कमल पोखरी परिसरमा रहेको स्पोट्र्स क्लब, प्रहरी भवन र राधा माधवप्रचार समिति राधेराधे सत्सङ भवनमा डोजर चलाउँदा सत्सङ भवनमा रहेको सुनको गहना हराएको दाबी गरेका छन्। महानगरपालिकाले कमलपोखरी क्षेत्रभित्र रहेका भवन भत्काएको थियो। समयमै जानकारी नदिई डोजर लगाउँदा सुनका गहना हराएको सत्सङ भवन पक्षको दाबी छ।
काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले विधिवत् रूपमा नै भत्काइएको दाबी गरे। सार्वजनिक जग्गामा निर्माण भएको जुनसुकै संरचना भत्काइने उनले बताए।
उनले भने,‘कमलपोखरीको केसमा २ वर्ष अगाडी देखि नै हटाउन जानकारी दिइएको थियो। उहाँहरूले अटेर गरेर नहटाएपछि बाध्य भएर डोजर चलाइएको हो । एकै दिनमा भत्काइएको पनि होइन । दुइवर्षपछि मात्र हटाइएको हो।’
काठमाडौँ महानगरपालिकाले समय दिएर नै भत्काइएको जनाएको छ । तर, यता महानगरपालिकाले अचानक दुई घण्टामा जग्गा हटाउन अल्टिमेटम दिएको स्थानीयको आरोप छ।
राधा माधव प्रचार समिति सत्सङ्ग केन्द्रका कार्यवाहक अध्यक्ष कमल मिश्रले आफूलाई दुई घण्टा अगाडी फोन गरेर भत्काउन लागेको जानकारी महानगरपालिकाले दिएको बताए। उनले समय नै नदिई भत्काएको भन्दै आक्रोश पोखे ।
राधे राधेको १ सय ८ तोला सुन हरायो
क्लबको माथिल्लो तलाको राधे राधे प्रचार विभागमा राखिएको १ सय ८ तोलाको कलश हराएको उनीहरूकाे दाबी छ। नगरपालिकाले भवनमा डोजर चलाएर भवन भत्काउँदा १ सय ८ तोलाको सुनको कलश हराउनुका साथै १० तोलाको सिक्री हराएको राधा माधव प्रचार समितिका कार्यवाहक अध्यक्ष मिश्रले दाबी गरे।
उनले भने,‘मन्दिरमा रहेका महाराज जीलाई गलामा लगाइदिएको १० तोलाको सिक्री हराएको छ। मन्दिरमा राखिएको चाँदीका १२ वटा कचौरा, एउटा थाल, ४ वटा गिलास र चम्मा समेत हराएको छ।’ उनका अनुसार क्लब र मन्दिर डेकोरेसन गर्दा ४ लाख खर्च भएको थियो। त्यो नष्ट भएको मिश्रको भनाई छ।
उनका अनुसार दराजमा राखिएको गुरु धामका अनमोल ग्रन्थहरू हराएको छ। शास्त्र वेद अनुरूपका किताब नष्ट भएको छ। ती किताबको मूल्य ३ लाख भन्दा बढी पर्ने मिश्रको भनाई छ।
उनले भने,‘अहिलेसम्म सबै निर्माण गर्दा एक करोड ३७ लाख भन्दा बढी मन्दिर तथा क्लब निर्माणमा खर्च भएको छ। यसको क्षतिपूर्तिका लागि मेयर सावसँग भेटेका छौँ छलफल चलिरहेको छ।’
बाबुराम भट्टराईको पालामा मठ मन्दिर जोगिएको र अहिलेको सरकारले मठमन्दिर भत्काउँदै सनातन धर्ममाथि प्रहार गरेको आरोप उनले लगाए।
‘बाबुरामले धर्मसर्म मान्दैन थियो। ऊ त्यो बेला विपक्षमा थियो तर पनि बाटो बढाउँदा मन्दिर भत्काएन तर अहिलेको मेयरले भकाभक भत्काउनु आश्चर्यमा परेको छु,’मिश्रले भने।
यता क्लबका अध्यक्ष भीम मैनालीले महानगरपालिकासँग पटक पटक छलफल भएको तर आश्वासन मात्र दिँदै आएको बताए। उनले भने,‘मन्दिरको १ सय ८ तोला सुनको कलश हराएको छ।
मन्दिरको ८ तोला सिक्री हराएको छ। एक्कासि यत्रो भन्डाफोर गर्दै डोजर चलाएर मन्दिरको आस्था र क्लब माथि नगरपालिकाले लात हानेको छ। महानगरपालिकाले क्षतिपूर्ति सहित पुनर्निर्माण नगरे आन्दोलन गर्नुको विकल्प छैन।’
के गर्छन् अव
कमल पोखरीमा उद्दण्ड मच्याएको र करोडौँ मूल्य बराबरको धनमाल क्षति भएको भन्दै सिडिओ कार्यालयमा उजुरी हालेका छन्। स्पोट्र्स क्लब सहितको टोलीले काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्।
उनीहरूले करोडौँ मुल्यबराबरको धनमाल महानगरपालिकाले नष्ट गरिदिएको भन्दै क्षतिपूर्ति र पुनस्र्थापनाका लागि निवेदन दिएका हुन्। यही टोलीले मेयर विद्यासुन्दर शाक्यलाई भेटेका थिए।
भेटका क्रममा मेयर शाक्यले यसबारेमा छलफल गर्ने बताए। उनले भने,‘तपाईँहरूको माग जायज छ। यसबारेमा केही छलफल गर्नेर्छौ।’
क्लबमा अध्यक्ष भीम मैनालीले महानगरपालिकाले आश्वास मात्र दिँदै आएको बताए। महानगरपालिकाले आफूहरूमाथि अन्याय गरेको र पुनस्र्थापनाका साथै क्षतिपूर्ति नदिए आन्दोलन गर्ने बताए। मेयरसँगको छलफलमा झारा टार्ने काम मात्र भएको उनले गुनासो पोखे।
कमलपोखरी भित्रको भवन वैध कि अवैध
कमलपोखरी भित्र रहेको कमलपोखरी स्पोट्र्स क्लब निर्माणका लागि नगरपालिकाले अधिकार दिएको थियो। क्लबसँगै राधेराधेको मन्दिर राख्ने भन्दै कागजी एग्रिमेन्ट गरेको थियो। उनीहरूबिचको एग्रिमेन्ट कागज अनुरूप काठमाडौँ महानगरपालिकालाई पुर्याइएको छैन। काठमाडौँ महानगरपालिकालाई भने यसबारेमा जानकारी नगराइएको मिश्रले बताए।
मिश्रले भने,‘तल क्लब बस्ने र माथि उसैको अधीनमा हामी बस्ने एग्रिमेन्ट पेपर बनाएका छौँ। यही अनुसार भवन निर्माण गरियो । काठमाडौँ महानगरपालिकालाई भने हामीले एग्रिमेन्ट पेपर अनुसार नै देखाउने तयारी गरेका थियौँ। तर,त्यो भन्न नपाई महानगरपालिकाले भत्काइदियो।’
यो मन्दिरको गजुर ९२०७२० मा तत्कालीन कार्यकारी प्रमुख धनबहादुर श्रेष्ठले उद्घाटन गरेका थिए। उनी लगायत काठमाडौँ महानगरपालिका नगर प्रतिनिधि र प्रशासनका कर्मचारी उद्घाटन समारोहमा उपस्थित थिए। उक्त गजुर सुनको जलप लगाएर निर्माण गरिएको स्थानीयको भनाई छ।
यता काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले महानगरपालिकासँग कुनै सम्झौता भए नभएको आफूलाई जानकारी नभएको बताए। उनले कहाँ कहिले सम्झौता भएको थियो आफूलाई जानकारी छैन भन्दै अन्य कुरा बोल्न चाहेनन्।
माघ २१, २०७७ बुधबार १०:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।