उकेरामा आज : तेलको अनुगमनमा झेलदेखि पार्किङको आवरणमा भएको लुटसम्म
काठमाडौँ : आज नेकपाको किचलो संसद्मा प्रवेश गर्यो। राष्ट्रिय सभाका अध्यक्ष प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीको पक्षमा खुल्दै आइतबार प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद्ले संसदीय सुनुवाइका लागि पठाएको सिफारिस अस्वीकार गर्दै पत्र पठाएका थिए।
त्यसको प्रतिवाद गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाले आपत्ति प्रकट गर्दै प्रेस सम्मेलन गरे। यसले नेकपामा चलिरहेको विवाद संसद्मा प्रवेश गरेको छ।
आजै नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक बसेर अर्का समूहका अध्यक्ष केपी ओलीलाई पार्टीबाट निष्कासन गर्ने र निर्वाचन पार्टीको आदिकारिता दाबी गर्ने निर्णय गर्यो।
उकेराका टप पाँच
आज उकेराले भिन्न पाँच विषय उठायो। बिहानै हामीले तेलको मूल्यमा भइरहेको खेलबारे समाचार सम्प्रेषण गर्यौ। जब बजार भाउ बढ्छ तब सरकारी निकाय अनुगमनमा निस्कन्छ। तर नतिजा सधैँ सानालाई कस्ने मात्र हुन्छ। यसपालि तेलको मूल्य बढ्यो भनेर गुनासो आएपछि वाणिज्य विभाग अनुगमनमा निस्कियो तर सानालाई कारबाही गरेर टार्यो।
दोस्रो समाचार प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको द्वन्द्वमा केन्द्रित भयो। राष्ट्रिय सभाका अध्यक्षले प्रेस सम्मेलन गरेर प्रतिनिधि सभाले संवैधानिक निकायको सिफारिस अस्वीकार गर्दै आपत्ति जनाएपछि नेकपामा सुरु भएको द्वन्द्व संसद्मा प्रवेश गर्यो।
सरकारले उच्च सतर्कता अपनाएको दाबी गर्दागर्दै काठमाडौँमा वर्ड फ्लु भित्रियो। कहाँ भयो चुक यसको विश्लेषणको प्रयास गर्यौ।
स्थानीय निकायमा हुने बदमासीको खोजीको क्रममा आज हामीले ललितपुर महानगरपालिकाको वडा नम्बर ३ मा वडाध्यक्षकै संलग्नतामा भएको बदमासी उजार गर्यौ।
खाने तेलको मूल्य वृद्धि : झारा टार्ने सरकारी अनुगमन, ठगिँदै उपभोक्ता

‘अहिले सडकमा आन्दोलन गर्नेहरूले ठूलाठूला उद्योगीबाट पैसा असुली गरिरहेका छन्,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्षसमेत रहेका महर्जन भन्छन्, ‘ठूलाठूला उद्योगीहरूले राजनीतिक दललाई पैसा बुझाउनु परेपछि उनीहरूले त्यो रकम कसरी लिने त भन्दा मूल्य वृद्धि गरेर।’ खाने तेलको मूल्य वृद्धि : झारा टार्ने सरकारी अनुगमन, ठगिँदै उपभोक्ता
ललितपुर वडा ३ को बदमासी : सम्झौतै नगरी पूर्वसांसदको स्वकीय सचिवलाई पार्किङ ठेक्का

उकेराको खोजमा पार्किङको जिम्मा पाउने व्यक्ति ललितपुर क्षेत्र नम्बर दुईका सांसद कृष्णलाल महर्जनको स्वकीय सचिव अब्दुल खान रहेको पुष्टि भयो। खानले २०७६ भदौ १२ गतेबाट महर्जनको मौखिक अनुमतिमा केही कर्मचारी राखेर सडक छेउ पार्किङ भएका सवारीसाधनसँग पैसा असुली रहेका छन्।
उकेरासँगको कुराकानीमा खानले मासिक ८० हजार उठ्ने जानकारी दिए। उनले मासिक उठेको रकम हेरेर वडा कार्यालयलाई १५ हजारसम्म दिने गरेको जानकारी दिए। ‘मैले समाजसेवा गरेको हो, पार्किङमा आउनेको हेलमेट हराए दिन्छु, पानी निःशुल्क खुवाउँछु,’ उनले भने। ललितपुर वडा ३ को बदमासी : सम्झौतै नगरी पूर्वसांसदको स्वकीय सचिवलाई पार्किङ ठेक्का
उच्च सतर्कता अपनाइएको काठमाडौंमा कसरी भित्रियो बर्ड फ्लु ?

जाडो महिनामा नेपालको बाटो हुँदै पंक्षीहरू उड्छन्। साइबेरिया लगायतका मुलुकबाट जाडो मौसममा पंक्षीहरू नेपालको बाटो हुँदै उड्ने पंक्षी विशेषज्ञ बताउँछन्। डा. ढकालले भने, ‘धेरै मुलुकबाट चराहरू चिसो छल्न आउँछन्।’ नेपालमा कर्याङकुरुङ जस्ता हाँस प्रजातिका पंक्षी आउँछन्। यस्ता पंक्षीहरू बसेका मुलुकका ताल तलैयामा हिउँ जमेर माछा खान नपाएपछि पंक्षीहरू बसाइ सर्छन्। बसाई सर्ने क्रममा पंक्षीहरूले नेपालमा तालतलैया भेट्छन्। र, त्यस्ता ताल तलैयामा बस्न थाल्छन्। उच्च सतर्कता अपनाइएको काठमाडौंमा कसरी भित्रियो बर्ड फ्लु ?
सदन छिर्यो नेकपाको किचलो, अलग-अलग गुटमा सभामुख र राष्ट्रिय सभा अध्यक्ष

संवैधानिक परिषद्को सिफारिसको संसदीय सुनुवाइ गर्ने कि नगर्ने भन्ने विवादसँगै सत्ताधारी दल नेकपामा केपी ओली र पुष्पकमल दाहाल र माधव नेपाल समूहबिचको विवाद सदनमा भित्रिएको छ। प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद्ले संसदीय सुनुवाइका लागि पठाएको पत्र ‘सुनुवाइ गर्न मिल्दैन भन्दै फिर्ता गरेसँगै राष्ट्रिय सभामा अध्यक्ष गणेशप्रसाद तिम्सिनाले आपत्ति जनाएपछि पार्टीको विवाद सदनमा भित्रियो। सदन छिर्यो नेकपाको किचलो, अलग-अलग गुटमा सभामुख र राष्ट्रिय सभा अध्यक्ष
संवैधानिक इजलासमा बहस : ओली नेतृत्वको सरकार दुई दलको हो कि एक दलको ?

सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी संसद् विघटन वैधानिक हो कि अवैधानिक भन्ने बहस सोमबार प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा बनेको सरकार दुई दल मिलेर बनेको हो कि एक दलको बहुमतको भन्ने बहसमा प्रवेश गरेको छ। सरकारको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस गर्दागर्दै न्यायाधीश अनिल सिन्हाले सरकार गठन हुँदा संविधानको धारा ७६ को २ अनुसार भएको व्यहाेरा पढेर सुनाएका थिए। संवैधानिक इजलासमा बहस : ओली नेतृत्वको सरकार दुई दलको हो कि एक दलको ?
माघ १९, २०७७ सोमबार २३:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।