उच्च सतर्कता अपनाइएको काठमाडौंमा कसरी भित्रियो बर्ड फ्लु ?
काठमाडौं : गत शुक्रबार काठमाडौंको तारकेश्वर नगरपालिका–७, साङ्ले खोला फुटुङमा हाँस र टर्कीको नमुना परीक्षण गर्दा बर्ड फ्लुको संक्रमण देखियो। स्थानीयले पालेका एउटा हाँस र एउटा टर्कीमा एन वन एच वन बर्ड फ्लु पुष्टि भयो।
तर, त्यसको एक महिनाअघि भारतमा बर्ड फ्लु देखिँदा नेपालमा उच्च सतर्कता अपनाइएको दाबी गरिएको थियो।
सरकारले बर्ड फ्लु भित्रिन नदिने दाबी गरे पनि त्यसअनुरुप काम नगरेको जानकार बताउँछन्।
सरकारी निकायले बर्ड फ्लु नियन्त्रणमा उच्च सतर्कता अपनाइएको दाबी गरिरहँदा काठमाडौंमा कसरी संक्रमण देखियो त ?
पशु सेवा विभागका सूचना अधिकारी डा. ढकाल बसाइ सरेका पक्षी (माइग्रेटेड बर्ड)बाट बर्ड फ्लु सरेको हुनसक्ने बताउँछन्।
काठमाडौंमा कसरी बर्ड फ्लु देखियो भन्ने निक्र्याेल भाइरसको जिन परीक्षणपछि मात्रै यकिन गर्न सकिने उनको भनाइ छ। यसका लागि भाइरसको नमुना परीक्षणका लागि लन्डन पठाउनुपर्ने उनले बताए।
अहिले देखिएको बर्ड फ्लुको जिनको प्रकार पत्ता लगाउन सक्ने मेसिन नेपालमा नभएको उनको भनाइ छ।
विभागको दाबी– बर्ड फ्लु नियन्त्रणलाई पहिलो प्राथमिकता
काठमाडौंमा बर्ड फ्लु देखिएपछि बर्ड फ्लु नियन्त्रणलाई पहिलो प्राथमिकता दिएको विभागले दाबी गरेको छ।
बर्ड फ्लु भेटिएको क्षेत्रलाई शनिबार नै निःसंक्रमण गरिसकेको विभागले जनाएको छ। विभागले त्यस क्षेत्रका घरपालुवा पंक्षी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरेको बताएको छ।
विभागका अनुसार बर्ड फ्लु पुष्टि भएको क्षेत्रमा १ हजार ८ सय ६५ हाँस, ६ सय बट्टाई, ३२ वटा कुखुरा, २५ वटा टर्की, ५ सय ४२ वटा अण्डा र ७५ किलो दाना नष्ट गरेर सुरक्षित तवरले व्यवस्थापन गरेको (तह लगाएको) विभागले जनाएको छ।
बर्ड फ्लु भेटिएको क्षेत्रमा १८ गते पनि निगरानी (पोस्ट अपरेटिभ सर्भिलेन्स) गरिएको ढकाल बताउँछन्। उनले संक्रमण देखिएको क्षेत्रमा नियमित निगरानी गर्ने बताए।
डा. ढकालले भने, ‘त्यो क्षेत्रलाई ९० दिनसम्म सिल गर्छौं। ९० दिनसम्म संक्रमण देखिएकोे ठाउँमा कुखुरा, हाँसजस्ता पंक्षी पाल्न पाइँदैन।’
‘देशैभर जोखिम’
जाडो महिनामा नेपालको बाटो हुँदै पंक्षीहरू उड्छन्। साइबेरिया लगायतका मुलुकबाट जाडो मौसममा पंक्षीहरू नेपालको बाटो हुँदै उड्ने पंक्षी विशेषज्ञ बताउँछन्। डा. ढकालले भने, ‘धेरै मुलुकबाट चराहरू चिसो छल्न आउँछन्।’
नेपालमा कर्याङकुरुङ जस्ता हाँस प्रजातिका पंक्षी आउँछन्। यस्ता पंक्षीहरू बसेका मुलुकका ताल तलैयामा हिउँ जमेर माछा खान नपाएपछि पंक्षीहरू बसाइ सर्छन्। बसाई सर्ने क्रममा पंक्षीहरूले नेपालमा तालतलैया भेट्छन्। र, त्यस्ता ताल तलैयामा बस्न थाल्छन्।
त्यसैले ताल तलैया भएका क्षेत्र बर्ड फ्लुका जोखिम क्षेत्र भएको ढकाल बताउँछन्। उनले भने, ‘नेपाल माइग्रेटरी बर्डको रुटमा पर्ने भएकाले देशभर बर्ड फ्लुको जोखिम हुन्छ।’
अर्कातर्फ नेपालको बाटो हुँदै उड्ने संक्रमित पंक्षीहरूले उडिरहेको अवस्थामा दिसा गर्छन्। र, त्यस्तो संक्रमित दिसाबाट बर्ड फ्लु हावा, पानी, खानाबाट सर्न सक्छ। नेपालको तराई क्षेत्र बर्ड फ्लुको अति जोखिम क्षेत्र हो।
विशेषगरी भारतसँग सीमा जोडिएका जिल्लाहरू अति जोखिममा रहेको विशेषज्ञहरू बताउँछन्।
तराईको तुलनामा पहाड क्षेत्रलाई मध्यम जोखिम र हिमाली क्षेत्र न्यून जोखिम जिल्लामा पर्छन्।
सीमा र उच्च जोखिम क्षेत्रमा सघन निगरानी गरिरहेको बताएको विभागको दाबी छ।
भारतबाट कुखुरा, अन्डाजस्ता पंक्षी तथा पंक्षीजन्य पदार्थ नेपालमा भित्रिने भएकाले संक्रमण भित्रिने जोखिम बढी हुन्छ। तराई क्षेत्रमा नै बढी ताल तलैया पनि हुन्छन्।
खोई सतर्कता ?
विभागका अनुसार नेपालमा ८ वटा पशु क्वारेन्टिन कार्यालय छन्। थप संक्रमण भित्रिन नदिन २४ वटै स्थायी चेकपोस्ट र २ वटा अस्थायी चेकपोस्ट गरी २६ वटै पशु क्वारेन्टिन चेकपोस्टमा उच्च सतर्कता अपनाइएको विभागको दाबी छ।
करिव २० वटा चेकपोस्ट भारतसँग जोडिएका छन् भने सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी गरी दुईवटा चीनसँग जोडिएका छन्। रसुवागढी र थानकोट चेकपोस्ट अस्थायी हुन्।
काठमाडौं भित्रिने मुख्य नाकामा सर्लाहीको पथलैया, चितवनको रामनगर र काठमाडौंको थानकोटमा चेकपोस्ट छन्। यी उपत्यकामा पंक्षी भित्रिने प्रमुख चेकपोस्ट हुन्। रसुवागढी र थानकोटको भने अस्थायी चेकपोस्ट हुन्।
त्रिभुवन विमानस्थलमा हवाइमार्गबाट भित्रिने पंक्षीका लागि चेकपोस्ट छ। तर, रोग भित्रिने सवालमा यस्ता चेकपोस्टहरूको प्रभावकारितामाथि नै प्रश्न उठ्ने गरेको छ।
त्यसो त नेपालमा चिसो मौसम सकिनै लाग्दा बर्ड फ्लुको जोखिम बढी हुने चिकित्सक बताउँछन्।
गत वर्ष पनि चितवन, विराटनगर लगायतका ठाउँमा बर्ड फ्लु नदेखिएको हैन। चेकपोस्ट फितलो हुँदा यसरी रोग भित्रिने गरेको देखिन्छ।
सन् २०१३ मा त काठमाडौं उपत्यकामा बर्ड फ्लुले महामारीको रूप लिएकाले धेरै पंक्षी नष्ट गर्नु पर्ने अवस्था निम्तिएको थियो।
सजग नभए ज्यान जाला !
मानिसमा बर्ड फ्लु संक्रमण भएको खण्डमा यसको मृत्युदर पनि उच्च छ। चिकित्सकका अनुसार संक्रमितमध्ये ६० प्रतिशत व्यक्तिको मृत्यु हुन सक्छ।
२०७५ चैतमा बर्ड फ्लुले नेपालमा एक जना व्यक्तिको मृत्यु भएको थियो। मृत्यु हुने ती व्यक्तिमा एच फाइभ एन वान (एच ५ एन १) वर्डफ्लु पुष्टि भएको थियो।
बर्ड फ्लु पंक्षीबाट मानिसमा सर्ने भएकाले सजग हुन चिकित्सक सुझाउँछन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भने यो वर्ष बर्ड फ्लु परीक्षणका लागि कोही पनि व्यक्ति पुगेको छैन।
यो वर्षको आइतबारसम्ममा कोही पनि व्यक्ति बर्ड फ्लु परीक्षणका लागि नआएको प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले जानकारी दिए। गुप्ताले भने, ‘यो वर्ष बर्ड फ्लु परीक्षण गर्न कोही आएको छैन।’
त्यसैले हेलचेक्र्याइँ गर्न नहुने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन सुझाउँछन्।
कुखुरा, हाँस लगायत पंक्षीको मासु तथा अन्डा चलाएपछि राम्रोसँग साबुन पानीले हात धुनुपर्ने उनी सुझाव दिन्छन्। डा. पुन भन्छन्, ‘पंक्षीको मासु र अन्डा चलाएपछि राम्रोसँग हात धुनुपर्छ। कुखुरा, हाँस, टर्कीलगायत पंक्षीको मासु तथा अण्डा राम्रो पकाएर खानुपर्छ।’
यस्ता पंक्षीको फार्म तथा मासु पसलमा काम गर्ने व्यक्तिले सरसफाइ तथा स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने हुन्छ।
माघ १९, २०७७ सोमबार १९:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।