आगो निभाउन जङ्गलमै बास !
काठमाडौं : बनमा लागेको आगो बस्तीमा आउने चिन्ताले मनाङको तिल्चे, थोचे र ताचैका स्थानीलाई सताएको छ। गत मंसिरमा चामे गाउँपालिका–२ थानचोक वनमा लागेको आगो मानबबस्ती रहेको नासो गाउँपालिका –८ ताचै गाउँसम्म फैलिएको थियो।
मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले आगलागीबाट तिल्चे, थोचे र ताचै गाउँ बस्ती जोखिममा परेको जानकारी दिए। ‘३ गाउँलाई थ्रेट भयो। ताचै गाउँलाई पूर्वपट्टिबाट जोखिम बढाएको छ उनले भने, ‘भीर भएर मान्छे जान सक्ने अवस्था छैन। जिल्लामा उपलब्ध सुरक्षा निकाय, सामग्री र स्थानीयलाई समेत परिचालन गरेर नियन्त्रणको प्रयास गरिरहेका छौँ।’
प्रमुख जिल्ला अधिकारी लामिछाने जङ्गल बारुद खाना जस्तो हुँदा आगलागी नियन्त्रणमा कठिनाइ भएको बताँउछन। उनी भन्छन्,‘ जङ्गल बारुद खाना जस्तो छ । सुकेका पातहरू पत्रपत्र भएर बसेका छन् हावा तेज गतिमा लागेको छ। पानी परेको छैन,हिउँ परेको छैन।’
आगालागि भएको जङ्गल अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) अन्तर्गत संरक्षणमा रहेको छ। एक्यापका मनाङ प्रमुख लेखनाथ गौतम आगालागि मनाङ, नासो गाउँपालिकाको दुधखोलाबाट सुरु भएको बताँउछन। उनी करिब ८ सय हेक्टर जङ्गल सखाप भएको बताँउछन।
उनी यसअघिको आगलागीबाट ७ सय हेक्टर बढी जङ्गल डँडेलोले सखाप पारेको बताँउछन। डेढ महिनापछि नियन्त्रण लिइएको सो स्थानमा समेत आगालागि अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। ‘हामी निरन्तर निगरानी गरिरहेका छौँ। पहिले आगलागी भएको स्थानमा पनि पछिल्लो समउ धुवाँ आएको छ भन्ने छ।’ उनले उकेरासँग भने ।
आगालागि भएका क्षेत्रमा आगोका कारण ढुङ्गा,मुढा पल्टिने भएपछि स्थानीयहरू गाउँ छाडेर भाग्नुपर्ने अवस्था सम्म आएका उनले जानकारी दिए।
नासो गाउँपालिका –८ का वडा अध्यक्ष हुपजंग गुरुङ तत्कालका लागि बस्ती जोगिए पनि जङ्गल जलिरहेको ठाउँमा आगो ‘न मार्न सकिन्छ न नियन्त्रण गर्न सकिन्छ’ को अवस्थामा तीव्र रूपमा फैलिएको बताँउछन।
आगलागीबाट हालसम्म अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन। तर, जडीबुटी र वन्यजन्तुमा कति असर प¥यो भन्ने लेखाजोखा छैन। आगलागी भएको क्षेत्र लमजुङ सदरमुकाम बेशिसहरबाट करिब ५५ किलोमिटर र सदरमुकाम चामेबाट एक घण्टाको दूरीमा पर्दछ ।
आगो निभाउन आगो नै प्रभावकारी
हिउँ नपर्दा, पानी नपर्दा र ठुलो हावा चल्दा आगो नियन्त्रणमा कठिनाइ भएको छ। तर, आगो नियन्त्रणका लागि ‘अग्नि रेखा’ (फाएर लाइन) प्रभावकारी बनेको छ।बस्ती स्तीतर्फ आगो फैलन नदिन निश्चित क्षेत्रमा आगो लगाएर पुन आगो लाग्ने स्थिति हुन नहुने उपाय हो यो । यसअघि समेत फाएर लाइन बनाएर बस्ती जोगाइएको थियो भने अहिले पनि सोही विधि अपनाइएको छ।
आगो नियन्त्रणका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको प्रयासमा फायर लाइन बनाएर आगो बस्तीसम्म फैलन नदिने उपाय अपनाइएको छ।
आगोले झारल, घोरल, ठुलो निर बिरालो, स्याल, हिउँ चितुवा, चितुवा, थार, कस्तुरी मृग, नाउर, कालो भालु, वन बिरालो आदि वन्यजन्तु तथा कालिज, डाँफे, मुनाल, काग लगायतका पंक्षीहरुको वासस्थानमा असर पु¥याएको छ।
माघ १९, २०७७ सोमबार ११:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।