कांग्रेसको १३ वटै भातृ संस्थाले ७७ जिल्लामा प्रदर्शन गर्दै

कांग्रेसको  १३  वटै  भातृ  संस्थाले ७७ जिल्लामा  प्रदर्शन गर्दै

काठमाडौँ : नेपाली कांग्रेसको १३ वटै भातृ सङ्गठनले संसद् विघटनविरुद्ध आज (सोमबार) ७७ जिल्लामा एकै साथ प्रदर्शन गर्ने भएको छ।

प्रदर्शन गर्नेमा नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल राष्ट्रिय मगर संघ, नेपाल ठाकुर समाजलगायत छन्। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यो रातो प्रतिगमनविरुद्धको प्रदर्शन भएको बताएका छन्।  

‘त्यो माघ १९ र यो माघ १९, त्यो कालो प्रतिगमन भएको दिन, यो रातो प्रतिगमन विरुद्धको प्रदर्शन’ उनले सामाजिक संजाल ट्विटरमा लेखेका छन्, ‘रंग प्रतिगमनको जुन भएपनी ढंग उहि अन्ततः बहिर्गमन हरेक प्रतिगमनको नियति उहि।

उनले आज नेपाली कांग्रेसका १३ भातृ संस्थाको नेतृत्वमा हुने ७७ जिल्लाको प्रदर्शनमा सहभागी बन्न आग्रह पनि गरेका छन्। 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद् विघटन गरी मध्यावधि चुनावको घोषणा गरेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले यसको विरोध गर्दै आइरहेको छ।

संसद् विघटनकै विरोधमा कांग्रेसले प्रतिनिधिसभा निर्वाचन क्षेत्रदेखि वडा तहसम्म प्रदर्शन गरिसकेको छ। 

माघ १९, २०७७ सोमबार ०७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।