संसद् विघटन मुद्दामा सकियो रिट निवेदकतर्फको बहस, कहिले सकिएला सरकारी वकिलको ? 

संसद् विघटन मुद्दामा सकियो रिट निवेदकतर्फको बहस, कहिले सकिएला सरकारी वकिलको ? 

काठमाडौं : संसद् विघटन मुद्दामा १३ औं दिन (आइतबार)को बहस सुरु हुनुअघि रिट निवेदकका तर्फबाट बहसनामा लेखाउने १ सय ७७ जनामध्ये ५९ जनाले मात्रै बहस सकेका थिए।

रिट निवेदक तर्फबाट बहस गर्न बाँकी थिए १ सय १८ जना। अर्थात् रिट निवेदककै तर्फबाट बहस सकेकामध्ये दोब्बर बाँकी नै थिए। 

ती सबैले बहस गर्दा सुनुवाइ लम्बिने भन्ने चिन्तामा थिए संवैधानिक इजलासका सदस्यहरु।

त्यसपछि बहस छोट्याउन जुक्ति निकालियाे– बहसकर्ता घटाउने। 

यसमा इजलासले रिट निवेदनको राय लियाे। उनीहरूले पनि सहमति जनाए। र, १०५ जना बहसकर्ताको नाम कटाइयो। 

अब बहस गर्न बाँकी रहे १३ जना। ती सबैले आइतबार बहस सकेपछि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा यही माघ ४ गतेदेखि सुरु भएको रिट निवेदनतर्फको बहस सकिएकाे छ।  

अब भोलिदेखि प्रधानमन्त्रीको पक्षमा महान्यायधिवक्तको कार्यालयबाट सरकारी वकिलले बहस गर्नेछन्। प्रधानमन्त्रीको पक्षबाट बहस गर्न १ सय ८६ जनाले बहसनामा लेखाएका छन्। 

अब उक्त बहस कहिले सकिन्छ भन्ने आम चासो देखिन्छ। 

माघ १८, २०७७ आइतबार २३:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।