कुष्ठरोग निवारणमा सरकारी लक्ष्य असफल 

कुष्ठरोग निवारणमा सरकारी लक्ष्य असफल 

भैरहवा : सरकारले २०६६ माघ १० (सन् २०१० जनवरी २४)मा तामझामका साथ कार्यक्रम गरी सन् २०२० सम्म नेपालबाट कुष्ठरोग निवारण गर्ने घोषणा गर्यो। जसअनुसार देशभरका प्रत्येक जिल्लामा कुष्ठरोगको बिरामीको संख्या प्रति १० हजार १ जनाभन्दा कममा झार्ने लक्ष्य पनि तोकियो। 

तर, रूपन्देहीमा यो लक्ष्य सफल हुन सकेन। रूपन्देहीमा प्रति १० हजार जनसंख्यामा कुष्ठरोग बिरामीको संख्या १ दशमलव १९ छ।

चालू आर्थिक वर्षको पहिलो चौमासिक (साउनदेखि कात्तिकसम्म)मा ४६ जना नयाँ बिरामी भेटिएपछि रूपन्देहीमा कुष्ठरोग बिरामीको संख्या सरकारी लक्ष्यभन्दा बढी देखिएको हो। 

यद्यपि यो अवधिमा ३१ जना बिरामी भने निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ।  

कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ को असारसम्म जिल्लाभर १ सय २६ जना कुष्ठरोग बिरामी रहेकोमा चालु आर्थिक वर्षको पुस मसान्तसम्म यो संख्या १ सय ४१ मा पुगेको छ। 

स्वास्थ्य कार्यालय, रूपन्देहीका क्षयकुष्ठ निरीक्षक टीकाराम अधिकारीले चालू आर्थिक वर्षमा कुष्ठरोग बिरामी भएका ठाउँमा नयाँ बिरामी फेला परेको जानकारी दिए। 

नयाँ थप भएका कुष्ठरोगको बिरामीमध्ये सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। 

तथ्यांक अनुसार बुटवलमा १०, तिलोत्तमा नगरपालिकामा ५, देवदह नगरपालिकामा ६, रोहिणी गाउँपालिकामा ५, सिद्धार्थनगर नगरपालिकामा ४, मायादेवी गाउँपालिकामा २, कंचन गाउँपालिकामा ३, ओमसतिया गाउँपालिकामा २, सम्मरीमाईमा २, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २, सियारी र कोटहीमाई गाउँपालिकामा १/१ जना फेला परेका छन्। 

रूपन्देहीका १० वटा पालिकामा कुष्ठरोग बिरामी अहिले पनि निवारण दरभन्दा माथि रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। 

नेपालमा १ हजार ८ सय ५३ जना नयाँ बिरामी देखा परेका छन्। 

असार अन्तिमसम्म उपचारमा २ हजार ४४ जना रहेकोमा १ सय ४१ जना १४ वर्ष मुनिका बालबालिका तथा ७ सय ७० जना महिला छन्।  

सरकारले कुष्ठरोग निवारणको लक्ष्य लिए पनि तराईका जिल्लाहरूमा भने बिरामी बढिरहेका छन्। 

सरकारले कुष्ठरोग बिरामीको निःशुल्क उपचार गर्दै आए पनि बिरामीहरू खुल्न नचाहँदा निवारणमा समस्या आएको स्वास्थ्य कार्यालयका प्रमुख डा. राजेन्द्र गिरीले बताए। 

उनले भने, ‘हामीले कुष्ठरोगसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेका छौं। गाउँगाउँमा अभियान गरिएको छ। तथापि बिरामीहरू खुल्न नचाहँदा पहिचान गरी उपचार गर्न समस्या परेको छ।’

स्वास्थ्य कार्यालयका अनुसार कुष्ठरोग बिरामी तथा कुष्ठ प्रभावितहरूप्रति सामाजिक भेदभावलाई शून्य बनाउन नसक्दा उनीहरू रोगबारे खुल्ने गरेका छैनन्। 

‘कुष्ठरोगप्रतिको भ्रम र डरलाई हटाउन परिवार र समुदायमा रोगबारे सही जानकारी दिने तथा प्रचारप्रसार गरेका छौं’, डा. गिरीले भने, ‘रोगको शंकास्पद बिरामीलाई रोग निदानका लागि स्वास्थ्य संस्थामा पठाउन आग्रह गर्छाैं।’ 

उनले कुष्ठरोगबारे सामाजिक भ्रम हटाई सत्यतथ्य जानकारी दिन सबैलाई आग्रहसमेत गरे।

कुष्ठरोग लागेमा शरीरको कुनै भागमा छुँदा थाहा नहुने र फुस्रो वा हल्का रातो दागहरू देखा पर्ने सुरुको चिह्न हो। 
यसबाहेक अनुहार र कानका लोतीमा ग्रिखा देखिनु, छाला चम्किलो वा बाक्लो हुनु तथा आँखी भौं झरेर जानु कुष्ठरोगमा चिह्नहरू हुन्।

समयमै यसबारे पहिचान नगरे पछि हातखुट्टाका औंलाहरू कमजोर हुँदै गई खुम्चने र अन्तमा अंगभंग हुनसक्ने सम्भावना हुन्छ। 

कुष्ठरोगको औषधि सबै स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध हुन्छ।

‘कोरोना महामारीमा हाम्रो संयमता, समयमै कुष्ठरोग व्यवस्थापनामा सक्रियता’ भन्ने मुल नाराका साथ आज ६८ औं विश्व कुष्ठरोग दिवस मनाइँदै छ। 

माघ १८, २०७७ आइतबार १७:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।