जुद्ध शमशेरले गङ्गालाललाई भने : यसले माफी माग्छ भने जन्मकैद र सर्वस्व

जुद्ध शमशेरले गङ्गालाललाई भने : यसले माफी माग्छ भने जन्मकैद र सर्वस्व

काठमाडौँ : १९९८ साल असार–साउनतिर काठमाडौँमा प्रजा परिषद्को नामबाट एक राजनीतिक पर्चा वाजी भयो। त्यो पर्चा पढ्न मलाई खुब इच्छा लागेको थियो। एक दिन म स्कुलको फोर्थ क्लासमा पढाउन भित्र जाँदा टेबुलमा एउटा बन्दी खाम भेट्टाएँ। खाम खोलेर हेर्छु त, लिथोग्राफ गरिएको एक पत्र कागज।

पक्कै यो सर्वचित पर्चा नै हो भन्ने विचार गरी खाम खुसुक्क खल्तीमा हाले। 

पर्चा वाजी भएदेखि काठमाडौँको सम्पूर्ण वातावरण दूषित भएको थियो। कसैले कसैलाई विश्वास नगर्ने अवस्था आएको थियो। म घर आई मात्र भित्रको पर्चा पढेँ। पर्चामा–

हतो वा प्राप्स्यसि स्वर्ग जित्वा वा भोक्ष्यसे महिं 

तस्मादुत्तिष्ठ कौन्तेय युद्धाय कृतनिश्चय 

भन्ने गीताको श्लोकको भूमिका बनाएर राणा शासनविरुद्ध सशस्त्र क्रान्ति गर्ने आह्वान गरिएको रहेछ। यो पर्चा लिएर तर्क–वितर्क गर्ने कुनै साथी भेट्टाइएन। 

मलाई पहिले त प्रजापरिषद् एउटा अति सबल गोप्य संस्था हो, यसले राणा शासकहरूको संहार गर्न अवश्य सफल होलाजस्तो लाग्यो। फेरि घोरिएर विचार गर्दा राणाहरूको गुप्तचर विभाग तगडा भएको आफैले एउटा सानु घटनाबाट बोध भयो।

हामी आठ–दश जना साथीहरू एक दिन तीनधारा पाठशाला अगाडिको चउरमा जम्मा भएर चुरोट खाँदै गफ गर्दै थियौ। कुराको सिलसिलामा गोवर्द्धनलाल मास्केले एउटा प्रस्ताव राख्यो, हेर हामी साथीभाइमा कोही धनी छन्, कोही गरिब। त्यसैले हामी Money Hoarding Company भनेर एउटा कोश खोलौँ।

यसमा सक्नेले हरेक दिन आना–सुकी जति अनुकूल हुन्छ, पैसा राख्दै जाऊँ। कालान्तरमा एउटा मोटो रकम जम्मा हुन जान्छ। अनि कुनै गरिब साथीलाई केही अड्को–पड्को पर्यो भने यस कोशबाट रुपियाँ झिकेर उसलाई मद्दत गर्न सकिन्छ। यो प्रस्ताव सर्वसम्मतिले पारित भयो। 

तत्काल यस कोशको अध्यक्षमा अम्बिकाप्रसाद प्रधान, उपाध्यक्षमा म र कोषाध्यक्षमा गोवर्द्धनलाल मास्के मनोनीत भयौ। त्यो एउटा ठट्टाको कुरा थियो। केही दिनपछि त हामीले यो कुरा बिस्र्यौ पनि। 

त्यो कुरा त महाराज चिफ साहेब, लाठ साहेब सबैमा जाहेर भएछ। बाले मलाई नचाहिने कुरा गर्ने भनेर खुब झाँट्नुभयो। 

यस्तो जाबो कुराको त रहस्योद्घाटन हुन्छ भने राणा संहारको षड्यन्त्रको कुरा कसरी रहस्योद्घाटन नभइरहला भन्ने थियो। नभन्दै प्रजापरिषद् विषयमा यथार्थ जानकारी दिनेलाई पुरस्कार दिने कुरा गोरखापत्रबाट प्रचार गरियो। 

शुक्रराज शास्त्रीकै भाइ वाक्पतिराज नै पोलाहा भएर प्रजापरिषद्का सबै सदस्यहरूको नाउँ जाहेर गरेछ। १९९७ साल कार्तिक २ गतेदेखि यिनीहरूको धरपकड सुरु भयो। 

टङ्कप्रसाद आचार्यबाहेक बाँकी तेह्रै जना सदस्यहरू पक्राउमा परे। तेह्र जनाको यो समूहमा हाम्रो स्कुलको सात क्लासमा पढ्ने गोविन्दप्रसाद उपाध्याय पनि पर्यो। 

यस बेला टङ्कप्रसाद बनारसमा थिए। जलेश्वरमा बस्ने उनका पिता टीकाप्रसाद सिकिस्त बिरामी छन् भनेर जलेश्वरबाट एउटा जाली तार पठाइयो। 

बाबुको मायाले हाम फाल्दै आएका टङ्कप्रसाद नेपाल सहरभित्र पाइला टेक्ने बित्तिकै पक्राउ भए र अड्डासार गरी काठमाडौँ चलान गरिए।

प्रजापरिषद्का सदस्यहरू पक्राउ गर्ने सिलसिलामा अलि उदारवादी विचारधाराका कतिपय मानिसहरूले पनि पक्राउ खाए। चतुर्मासमा टोलटोलमा पुराण भनी हिँड्ने मुरलीधर पण्डित, सरकारको अनुमति नलिई स्कुल खोल्ने फत्तेबहादुर सिंह, त्यस स्कुलको उद्घाटन समारोहमा सभापतिको आसन ग्रहण गर्ने चन्द्रमान मास्के, खादी प्रचार गर्ने तुलसी मेहर, नेवारी भाषामा कविता लेख्ने चित्तधर, समाज सुधारक योगवीर सिंह कंसकार इत्यादि कोही पनि धरपकडबाट जोगिएनन्। 

हाम्रो स्कुलका संस्थापक तीर्थराज सिंह सुवाल र रामराज पौडेल नामक एक जना विद्यार्थीसमेत पक्राउ पर्दा मेरो मनमा पनि ढ्याङ्ग्रो बज्यो।

म पनि पक्राउमा पर्ला भनेर बिरामी बाले साहै चिन्ता गर्नुभयो। उहाँलाई म कुनै नचाहिने काममा लागेको छैन भनी विश्वास गराउन कोसिस गरेँ। तर जुनसुकै निहुँले पनि पक्राउ खान सकिने भएकोले आफै पनि चिन्ताले आकुल–व्याकुल थिएँ।

घरमा भएका सबै राजनीति र अर्थशास्त्रसम्बन्धी किताबहरू घरसार गरेँ। निबन्ध, कहानी, कविता इत्यादि लेखिएका कापीहरू जलाएँ। पक्राउ नै परे पनि दोषी ठहरिएर भोग्नु नपरोस् भन्ने उद्योगमा म थिएँ।

आखिर कार्तिक १८ गते त म पनि पक्राउ परे। म स्कुलमा पढाउँदै थिएँ। पुलिस गोश्वाराको लोकबहादुर डिट्ठा आई मलाई पक्रेर ४ नं. को मोटरमा हाली सिंहदरबारको स्कुल भवन (हाल रेडियो नेपाल) को अफिसमा लग्यो।

चौरबाहिर बाँस ठड्याएको छेउमा डोरी र पानीमा ढड्याएको कोर्रा, अलि पर नेल र गलबन्दीको चाङ देख्दा मेरो सातो पुत्लो गयो। बाहिरपट्टिको खुड्किलो चढेर भित्रको भर्याङ चढ्न खोज्दा एउटा पाले आएर माथि उड्ने बाहुन (टङ्कप्रसाद आचार्य) को मुद्दाको बहस भइरहेको छ, तपाईँहरू एक छिन् यही बस्नुहोस् भन्यो। 

मेरो मुटु ढुकढुक काम्दै थियो। एकैछिनमा बाहिर मोटर रोकियो। शङ्कर शमशेर जर्नेल भित्र आए। मलाई देख्ने बित्तिकै ‘पोर्सिया, हाउ आर यु’ भनेर सोधे। मैले भनेँ, ‘सरकार मैले केही बिराएको छैन। बा पनि धेरै बिरामी हुनुहुन्छ।‘ उनले ‘डोन्ट वरी’ भन्दै माथि गएपछि मेरो मनको ढुकढुकी अलि कम भयो। 

मेरो आधा घण्टा जतिपछि नेल–सिक्री लाएको टङ्कप्रसाद दुई जना सिपाही दायाँबायाँ राखी तल झरे। अनि हामी माथि गयौँ। इजलास माथि कौसीमा बसेको रहेछ। 

ठुला मेचहरूमा गङ्गाबहादुर कर्णेल तथा बालकृष्ण शमशेर रहेछन्। भुइँमा चकटी ओछ्याएर उपेन्द्रपुरूष सुब्बा, महेन्द्रबहादुर महत सुब्बा बसेका रहेछन्। 

डिट्ठा, विचारीहरू सुकुलमा थिए। मलाई देख्ने बित्तिकै गङ्गाबहादुरले पूर्णबहादुर मानवलाई डाकेर ल्याऊ भनी पठाए। पूर्णबहादुर आएपछि मलाई यिनीलाई चिनेका छौ भनी सोधनी हुँदा ‘उहाँ मेरो भाइ–बहिनीलाई पढाउने मास्टर हुनुहुन्छ’भनी जवाफ दिएँ। 

अनि मलाई एउटा कापी देखाई‘यसमा के लेखेको छ, पढ’ “ भन्ने आदेश दिए। मैले कापी हेरेर यो त ‘ह्यारोल्ड ल्यास्कीको ‘ग्रामर अफ पोलिटिक्स’’को उद्धरण हो भने। त्यो किताब उनलाई तिमीले दिएका हौ? भनी सोध्दा‘हुन सक्छ, सम्झना छैन’ भन्ने जवाफ दिएँ। 

त्यो किताब मैले इजलासमा पेस गर्ने बित्तिकै सूर्यप्रसाद पक्राउ पर्ने सम्भावना भएकोले ‘पहिले त थियो, अहिले हराइसक्यो, आवश्यकता परे ल्याउन सक्छु’भन्ने जवाफ दिएँ। यस्ता सवाल–जवाफपछि म तारिखमा छुटेँ। घर आई सो किताब जलाएर फालेँ र कलकत्ताबाट नयाँ पुस्तक झिकाएँ किनकि पुरानो पुस्तकमा पानैपिच्छे सूर्यप्रसाद उपाध्यायले आफ्नै हस्ताक्षरले भाँती भाँतीका टिप्पणी लेखिराखेका थिए । 

०००

किताब नआइपुगुन्जेल १५–२० दिनसम्म प्रत्येक दिन सिंहदरबारमा तारिखमा जानुपर्दा मैले प्रजापरिषद्का शीर्षस्थ नेताहरूले दिएको बयान सुन्ने मौका पाएँ। 

ती बयानहरूको सङ्कलन ग्रीष्मबहादुर देवकोटाले गरेका छन् जस्तो लाग्छ। प्रकाशनमा आयो भने पाठक वर्गले पढ्न पाउलान्। ती बयानहरू सुन्दा मलाई धर्मरत्न यमीले आफ्नो ‘नेपालको कुरा’ भन्ने किताबमा प्रजापरिषद् काण्डलाई नेपाली राजनीतिको ‘गधेपच्चिसी’ भन्ने संज्ञा दिएको साहै उपयुक्तजस्तो लाग्यो। १५–२० दिनमा मैले किताब बुझाइदिएँ। अनि मैले यो किताब काण्डबाट फुर्सद पाएँ।

यसको हप्ता दिनपछि म फेरि पक्राउ परेर सिंहदरबार लगिएँ। जीवनाथ लोहनीलाई पनि अलि अघि नै तीजको रमाइलो हेर्न पशुपति गएका बखत त्यहीँबाट पक्रेर सिंहदरबार हाजिर गराएको रहेछ। 

हामी दुवै जम्मा भएपछि सिंहदरबारको कठघरमा लगियौँ। हामीमा जुद्ध शमशेरलाई सलाम नगर्ने आरोप लागेको रहेछ । इजलासमा पद्म शमशेर कमान्ड चिफदेखि लिएर सबै रोलवाला जर्नेलहरू पनि थिए। 

उपेन्द्रपुरूष र महेन्द्रबहादुर सुब्बाहरू हातमा कागज लिई छेउमा उभिएका थिए। मलाई देख्ने बित्तिकै पद्म शमशेरले ‘यो मान्छे त धेरै सुध्रिसकेको छ’ भनेर मलाई एक प्रकारले सफाइ दिए। 

अनि जीवनाथमाथि ओइरिन थाले। उनले भने, ‘यो बाहुन, हाम्रो धर्माधिकार माहिला गुरुज्यूको भान्जो भएर पनि, हेर सेरबानी र चुडीदार पाइजामा लगाएर हिँडेको ! टाउको हेर, टुपी छ कि छैन ?’ भनी सोध्दा टुपी र जनैसमेत नभएको देखियो। 

‘अनि यसले त पक्कै महाराजलाई सलाम नगरेको होला। दसी प्रमाण पाएदेखि म चारपाटे नै मुडाइदिने थिएँ। तर सुनेको कुरा मात्र हो, के सजाय दिनुपर्छ, म विचार गरुँला।’ पद्म शमशेरले दोहोर्याए। 

यत्तिकैमा ९३ सालमा इन्द्रचोकमा गीता प्रवचन दिएबापत पक्राउ परी ६ वर्ष जेल सजाय भोगिरहेका शुक्रराज शास्त्रीलाई जेलबाट नेलसहित ल्याइपुराए। उनी आउने बित्तिकै हामीलाई बाहिर राखिछोड्नू भन्ने आदेश दिए। 

हामी बाहिर बस्ता पनि भित्रको कुराकानी उत्सुकतावश सुन्ने प्रयासमा थियौँ। भित्रको गाइँगुइँ सुनिन्थ्यो, कुरा भने स्पष्ट पछि चर्किँदै आयो। कुरा त सुनियो तर छेउ टुप्पो फेला पर्न सकेन। आखिरमा शुक्रराज शास्त्रीको आवाजले भन्यो, ‘अधिकार ’ बहादुर समसेरको आवाजले भन्यो, ‘अधिकार माने के हो ?’ ‘अधिकार माने राइट’, शुक्रराजको आवाज थियो। त्यसपछि बहादुरको ‘राइट माने के हो ?’ भन्ने आवाज सुनियो त्यसपछि शुक्रराजले अझ चर्को स्वरमा ‘राइट माने हक ’भनेको सुनियो। 

शुक्रराजको ‘हक’आवाज सुन्ने बित्तिकै उफ्रँदै कराएर बहादुर आवाजले “हाम्रो राज्यमा यो न्यारको , यही हो बीउ दाज्यै। मास्नै पर्छ’ भनेको सुनियो। यस अवस्थामा पद्म शमशेरले ‘नकाराऊँ, नकराऊँ भाइ’, भनेर सम्झाउँदा बहादुर समसेरले ‘म अहिल्यै महाराजलाई बिन्ती चढाउँछु’ भनेर तुरुन्तै निस्केको देखियो। 

यसपछि इजलास भङ्ग भयो। हामी गारतमा थुनिन चलान भयौँ। ४०–४५ दिन गारतमा थुनिएपछि मुद्दा फैसला हुने भनी हामीलाई इजलास लगियो। त्यो इजलास हाल राष्ट्रिय पञ्चायतको नयाँ भवनको चौरमा बसेको शामियाना भित्र थियो। त्यहाँको बिचमा श्री ५ त्रिभुवन र महेन्द्र सरकार राज भएको थियो। दायाँ–बायाँ जुद्ध शमशेरदेखि रोलबमोजिम राणा भारदारहरू थिए।

शामियाना बाहिरको पहिलो पङ्क्तिमा शुक्रराज शास्त्रीदेखि लिए फत्तेबहादुर, चिनियाँलालसम्मलाई लाइन लगाइएको थियो। दोस्रो पङ्क्ति चन्द्रमान मास्केदेखि लिएर ज्योतिप्रसाद गौतमसम्मलाई उभ्याइएको थियो। तेस्रो लाइन तुल्सीमेहरदेखि लिएर जीवनाथ र मसमेत उभिएका थियौँ। 

महाराजाधिराज र युवराजाधिराज सरकारहरू एक्कै छिनमा फिर्ती सवारी भइहाल्यो। अनि जुद्ध शमशेरले सभापतिको आसन ग्रहण गरेपछि फैसला सुनाउने काम सुरु भयो। 

सर्वप्रथम शुक्रराजलाई भयो। शुक्रराज शास्त्रीले ‘ॐ शान्तिको आवाज निकाली मौन भए। अनि धर्मभक्तको पालो आयो। उनलाई पनि ज्यान सर्वस्व सुनाइयो। उनी भुइँमा लडीबुडी खेल्दै ज्यान नजाओस् भनी रुन थाले। त्यो देखी जुद्ध शमशेरले ‘कसुर गर्ने तेरो हक, सजाय दिने हाम्रो अधिकार’भने। 

त्यसपछि दशरथचन्द्रको पालो आयो। उनलाई ज्यान सर्वस्व कै फैसला भयो। उनी छाती फुलाएर हुङ्कार गर्दै चुप लागे। अनि गङ्गालालको पालो आयो। ‘ज्यान सर्वस्व’ सुनाइयो। जुद्ध शमशेरले भने, ‘यस्तो कलिलो केटो ? यसले माफी माग्छ भनेदेखि जन्मकैद र सर्वस्व....’तुरुन्त गङ्गालालले चर्को स्वरमा भने, ‘कसैले बकस दिएको ज्यान लिएर हामी बाँच्न चाहन्नौ।’ 

जुद्ध शमशेरले फेरि थपे, ‘त्यसो भए ज्यान सजाय नै।’ फेरि यो सुनेर गङ्गालालले फुर्तिलो खित्का छोडेर चारैतिर हेरे। टङ्गप्रसाद आचार्य र रामहरि जोशीलाई चार पाटे मुडेर सर्वस्व सजाय सुनाए। पहिलो पङ्क्तिका बाँकी सबैलाई आजीवन कैद सर्वस्वको सजाय सुनाए। 

दोस्रो लाइनमा चन्द्रमान मास्केलाई ...कैद–सर्वस्व, सिद्धिचरणलाई १८ वर्ष कैद–सर्वस्व । यस्तै प्रकारले ज्योतिप्रसाद गौतमलाई ३ वर्ष कैद मात्र ठोकियो । 

तेस्रो पङ्क्तिका तुलसीमेहरदेखि हामीसम्मलाई ठुलो कसुर नभएकोले ८०–९० दिन थुना भइसकेकोले छोडिदिने फैसला भयो । 

(बुकहिल पश्लिकेशनले प्रकाशन गरेको दमनराज तुलाधरको पुस्तक ‘ दमनराज तुलाधर’को प्रजा परिषद् काण्डको सम्पादित अंश)

माघ १८, २०७७ आइतबार ०७:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।