आधार पुगेका सबै सहकारीलाई बैंक बनाऊ : निधी
प्रस्तावित नेपाल सहकारी बैक लिमिटेडको प्रारम्भिक भेलामा उनले एउटा मात्र सहकारी बैंकले सहकारी क्षेत्र समेट्न नसकेको टिप्पणी गर्दै आवश्यकता र आधार पुगेका सबै सहकारीलाई बैंक बनाउन सकिने बताएका हुन्।
उनले करिब एक हजार सदस्यता दर्ता भएको बैंकलाई कुनै पनि हालतमा रोक्न नसक्ने ठोकुवा गरे। ‘यो बैंक सबैको लागि आवश्यक छ, तपाईंहरू दर्ता प्रक्रियामा जानुस्, कसैले रोक्न सक्दैन। बैंक स्थापना भएरै छाड्नेछ।’
उनले बीपी कोइरालाले नेपालमा अर्थतन्त्र प्रवेश गराएको दाबी गर्दै मुलुकभर सहकारी फस्टाएको स्मरण गर्दै अब मुलुकमा अर्को सहकारी बैंक स्थापना भइसकेको जिकिर गरे।
बैंक दर्ता प्रक्रियाले लोकतन्त्र र अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले तत्काल दर्ता प्रक्रिया सुरु गर्न आग्रह गरेका थिए। राष्ट्रिय सहकारी बैंकका सञ्चालकले नेपाल सहकारी बैंक खोल्न दिन नहुने भन्दै आफूलाई सहयोग नगर्न आग्रह गरेको खुलासा गर्दै निधीले भने, ‘केही नेपाल सहकारी बैंकको विरुद्धमा लागेका छन्। म भन्छु्– यसले केही समस्या पार्दैन, प्रक्रिया थाल्नुस्। सिंगो पार्टीको पूर्ण सहयोग रहनेछ।’
प्रस्तावित नेपाल सहकारी बैंक स्थापना गर्नुपर्ने कारणबारे औंल्याउँदै बैंक स्थापना गर्न गठित कार्यदलका संयोजक सुरेन्द्र भण्डारीले राष्ट्रिय सहकारी बैंकले राष्ट्र बैंकबाट कारोबारका लागि अनुमति प्राप्त गर्न नसक्नु, नेपाल राष्ट्र बैंकको ऐनमा सहकारी बैंकसम्बन्धी व्यवस्था गर्न नसक्नु, सहकारी संस्थालाई बचत तथा ऋणको कारोबारबाहेक अन्य सेवा उपलब्ध गराउन नसक्नु, बिना धितो ठूलो रकम प्रवाह गर्नु, बैक सञ्चालनमा राजनीति हाबी हुनु, कर्जा लगानीमा विभेद गर्नु लगायतका कारणले नयाँ बैंकको आवश्यकता महसुस गरी एक हजारभन्दा बढी सदस्य संस्थाको भेला आयोजना गर्नुपरेको बताए।
उनले सहकारी ऐन २०७४ र नियमावली २०७५ को आधारमा बैंक दर्ता प्रक्रिया अघि बढाइएको जानकारी गराए। ‘करिब एक वर्षअघिदेखि प्रक्रिया सुरु गरेका थियौं। अब दर्ता प्रक्रिया सुरु गर्नेछौं।’
उनले प्रारम्भिक भेलामा सातै प्रदेशका ४५ जिल्लाका सदस्य संस्थाका एक हजारभन्दा बढी सदस्य उपस्थित भएर ठूलो सफलता भएको बताउँदै अब बैंक दर्ता प्रक्रियामा कसैले अवरोध गर्न नसक्ने दाबी गरे।
भेलामा पूर्वमन्त्री एवं कांग्रेस सहकारी विभाग प्रमुख आनन्द ढुंगानाले मुलुकमा एउटा मात्र सहकारी बैंकले सबै सहकारीकर्मीलाई समेट्न नसकेको कारण बैंक स्थापना गर्ने कामको सुरुवात गरेकोमा खुसी व्यक्त गरे।
भेलामा पूर्वअर्थराज्यमन्त्री एवं कांग्रेसका नेता उदय शमशेर राणा, पूर्वगभर्नर डा. चिरञ्जीवि नेपाल, सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, महेन्द्र नारायणनिधी मेमोरियल सहकारी संस्थाका सञ्चालक भानुभक्त ढकाल लगायतले बैंक स्थापनाको शुभकामना दिएका थिए।
माघ १७, २०७७ शनिबार १८:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।