तल्लो अरुण निर्माणको जिम्मा भारतीय कम्पनीलाई
प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको लगानी बोर्डको ४६ औं बैठकले आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी सतलज लिमिटेडलाई दिने निर्णय गरेको हो।
‘तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत बनाउने, स्वामित्व लिने, सञ्चालन गर्ने र हस्तान्तरण गर्ने (बुट मोडल)मा विकास गर्न सतलज लिमिटेड, भारतलाई छनोट गर्ने निर्णय गरेको छ,’ बोर्ड कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बोर्डले अन्तर्राष्ट्रिय प्रतिष्पर्धाका आधारमा सूचीकृत भएका कम्पनीहरूको मूल्यांकन गरी निर्माण कम्पनी छनोट गरेको विज्ञप्तिमा उल्लेख छ।
गत मंसिरमा बोर्डले यो आयोजना निर्माणको इच्छा देखाएका तीन कम्पनीसँग प्रस्ताव माग गरेको थियो। बोर्डका अनुसार भारतको सतलज लिमिटेड, नेपालको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्टसँग जेभी रहेको पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड तथा नेपालको ग्रीन रिसोर्ससँग जेभीमा जापानको इलेक्ट्रिक पावर डेभलपमेन्ट कम्पनी (जेपावर) नेपालसँग प्रस्ताव माग गरिएको थियो।
६ सय ७९ मेगावाटको यो परियोजना परियोजना संखुवासभा र भोजपुरमा निर्माण हुनेछ।
माघ १७, २०७७ शनिबार १६:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।