अर्थमन्त्रीको प्रचार लोभ : १० वर्ष अगाडि निर्माण सुरु, बल्ल शुभारम्भ !

अर्थमन्त्रीको प्रचार लोभ : १० वर्ष अगाडि निर्माण सुरु, बल्ल शुभारम्भ !

काम सम्पन्न भएर उद्घाटन गर्नुपर्ने समयमा माघ १४ गते बुटवल पुगेर अर्थमन्त्री विष्णु पौडेलले राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको सडक बिस्तार कामको शुभारम्भ गरे।उनले त्यही मेलोमा एक वर्ष अगाडि निर्माणको काम सकिएर सञ्चालनमा आएका बुटवल र दानव नदीको पुलको पनि उद्घाटन गरे।

आर्थिक वर्ष २०६८-०६९ देखि निर्माण सुरु भएको यो सडक स्तरोन्नति काम आर्थिक वर्ष २०७०-०७१ मा सम्पन्न भइसक्नुपर्ने हो । २०६९ बाट सुरु भएको २४ किलोमिटर सडक निर्माणको काममध्ये अहिले बेलहियादेखि बुटवल राजमार्ग चौराहासम्मको सडक बल्ल अन्तिम चरणमा पुगेको छ।

बेलहियादेखि बुटवल चौराहा सम्मको सडक निर्माणको काम सम्पन्न नहुँदै आर्थिक वर्ष २०७३-०७४ मा राजमार्ग चौराहादेखि चिडियाखोलासम्म साढे तीन किलोमिटर सडक आयोजनामा थपिएको थियो। 

दुई वर्षमा सम्पन्न गरिसक्ने गरी सुरु गरिएको साढे ३ किलोमिटर सडकको काम स्थानीयको अवरोधका कारण पटक पटक म्याद थप्दै अगाडि बढिरहेको बेला अर्थमन्त्रीले भने भर्खर सुरु भए झैँ गरी उद्घाटन गरेर फर्किए।

४७ करोडको योजना

२०७३ साल चैत्र १७ गते राजमार्ग चौराहा देखि गोलपार्क सम्म सडक बिस्तार कार्यका लागि ठेक्का सम्झौता भएको थियो। स्थानीयको अवरोधका कारण सडक निर्माण हुन नसकेपछि पुनः सम्झौता गरियो।

कुल ३ दशमलव ५ किमी लम्बाई रहेको सो सडक खण्डमा स्थानीयले अवरोध गरेका कारण पटक पटक निर्माण कार्य अवरुद्ध हुँदै आयो। स्थानीयको अवरोधका कारण पटक पटक म्याद थप गरिएको सडक निर्माण पुन २०७९ साल वैशाख ३१ गतेसम्म सम्पन्न गरिसक्ने प्रतिबद्धता सहित द कञ्चनजङ्घा बिरुवा जेभी काठमाडौँले ठेक्का सम्झौता गरेको थियो।

४७ करोड २७ लाख ८ हजार रुपैयाँको लागतमा सडकको काम सक्ने दाबी छ। बुटवल—बेलहिया व्यापारिक मार्ग बिस्तार आयोजनाका प्रमुख जयलाल मरासिनीले सडक निर्माणपछि बुटवलको सौन्दर्यमा वृद्धि हुने र आधुनिक सहरको नमुना बन्ने दाबी गर्छन्।

नागरिकलाई सास्ती

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बेलहिया बुटवल ६ लेन व्यापारिक मार्ग विस्तार आयोजनाको काम निकै सुस्त हुँदा नागरिकले निकै सास्ती खेपेका थिए। 

बुटवलको मुख्य बजार क्षेत्र राजमार्ग चौराहादेखि गोलपार्कसम्म ३.७ किलोमिटर सडकमा ३ सय ११ घरहरू भत्काउनुपर्ने छ।  केही घर धनीले आफैँले भत्काए। केही भत्काउन बाँकी छ।

राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको साढे तीन किलोमिटर सडक खण्डमा तीन सय २५ घर सडक क्षेत्र मिचेर बनेका छन् । अहिले ४ लेनमा रहेको सडकलाई ६ लेनमा विस्तार गर्ने प्रक्रिया सुरु गरेसङै घरधनीहरूले विस्तार रोक्न कहिले अदालत, कहिले सरकार त कहिले दलहरूको शरणमा पुगेर अवरोध सिर्जना गर्दै आएका थिए । 

घरधनीको पक्षमा प्रमुख तीन दल काँग्रेस, तत्कालीन  एमाले, र माओवादी तथा चार वटा व्यावसायिक संस्थाले पटक पटक विज्ञप्ति निकालेर सडक विस्तार रोक्न माग गरेका थिए । 

माघ १६, २०७७ शुक्रबार १५:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।