गाउँका ‘शहीद’ राजेन्द्र राज्यका लागि ‘मृतक’
पढ्न गएको छोरो आन्दोलनमा मारियो भन्दा एक छिन पत्याउनै सकेनन्। नपत्याए पनि सत्य त्यही थियो उनीहरूले जेठो छोरो गुमाई सकेका थिए।
२०४८ फागुन २८ गते मोरङको बेलबारीमा बिद्यार्थीहरुको वृहत् आन्दोलन थियो। ३ जना विद्यार्थीको गाडीको ठक्करले मृत्यु भएपछि मोरङ र सुनसरीका विद्यार्थीले संयुक्त आन्दोलन गर्ने भए। सोही आन्दोलनमा पुगेका थिए राजेन्द्र तिम्सिना। निकै आनाकानी गरेका राजेन्द्र साथीकै दबाबमा आन्दोलित भए। त्यस बेला उनका नजिकका साथी हुन गायत्री लम्साल । उनै लम्सालको आग्रहमा उनी बेलबारी हानिए।
चक्काजामकै बेला तत्कालीन मन्त्री बलबहादुर राई आइपुगे। आक्रोशित बिद्यार्थीहरुले मन्त्रीमाथि हातपात गर्न खोजे। प्रहरीले आन्दोलनमा दमन गर्यो। भिड झनै आक्रोशित हुन थालेपछि प्रहरीले गोली चलायो। सोही गोलीको निशानामा परे राजेन्द्र।
आफ्नै जोडबलले लिएर गएको साथी सडकमा ढलेपछि भयभीत भए लम्साल। उनीसँगै सोही क्याम्पसका सय बढी विद्यार्थी आन्दोलनमा सहभागी थिए। गोलीको निशानामा परेका राजेन्द्रको अस्पताल पुर्याउन नपाई मृत्यु भयो।
मृतकको शवलाई भोलिपल्ट इटहरी चौक परिक्रमा गइयो। उनै लम्सालका अनुसार हजारौँको सभाले राजेन्द्रलाई इटहरीको पहिलो शहीद घोषणा गर्यो। अहिले पनि उनको परिवार शहीद राजेन्द्रको नामले चिनिन्छ । स्थानीयहरू शहीदको परिवार भनेर श्रदा गर्छन्। विद्यार्थी आन्दोलनको क्रममा मारिएकाले इटहरीको पहिलो शहीद भएको बताउँछन् लम्साल। राज्यले सहिद नभने पनि जनताले शहीदको पहिचान दिलाएको उनको भनाई छ।
स्थानीय बद्री प्रसाद ढुङ्गेल आफूहरूले शहीद परिवार भनेरै चिन्ने गरेको बताउँछन्। विद्यार्थीको अधिकारका लागी ज्यान गुमाएका कारण शहीद भन्ने गरेको उनले बताए। ‘उनी एक इमानदार र मेहनती युवा हुन जसले अरूको लागी आफ्नो ज्यान गुमाए,’ उनले भने ।
राजेन्द्रको मृत्युपछि शोकमग्न भयो परिवार। पछि सरकारले राहत दिने कुरा उठेपछि द्रोण जिल्ला प्रशासन कार्यालय सुनसरी पुगे। २५ हजार राहत रकम पाए। सो रकमले राजेन्द्र अध्ययनरत जनता बहुमुखी क्याम्पसमा अक्षयकोष खडा गरिदिए। अहिलेसम्मपनि अक्षयकोष सञ्चालनमै छ।
द्रोणलाई छोराको लागी केही गर्ने हुटहुटी जागिरह्यो । राजेन्द्रकै नाममा एउटा पार्क र भवन समेत बनाइदिए। इटहरी १ मा राजेन्द्र पार्क सँगै सेमिनार हल समेत निर्माण गरिदिएका छन् उनले। पढाइमा निक्कै अब्बल राजेन्द्रको सम्झनामा तिम्सिना दम्पती अझै टोलाइरहेको छ।
गाउँका शहीद राजेन्द्र राज्यको नाममा मृतक मात्र छन्। शहीद नबनाएकोमा गुनासो गर्छन् बाबु द्रोण। ‘शहीद हुनुपर्ने थियो तर किन भएन भन्ने लागेको छ। पारिवारिक झगडामा मर्नेहरू शहीद भए तर ऊ (राजेन्द्र) भएन, उनले भने।
माघ १६, २०७७ शुक्रबार ०८:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।