बाबुराम भन्छन् : ‘मृत्यु संस्कारमा भोजभतेर र दक्षिणाको कुरा नगरौँ’

बाबुराम भन्छन् : ‘मृत्यु संस्कारमा भोजभतेर र दक्षिणाको कुरा नगरौँ’

संवैधानिक निकाय, सुरक्षा लगायत राज्यका सबै अङ्ग नियन्त्रणमा लिएर तथा राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा सेटिङ गरेर ओलीले संसद् विघटन गरेको भट्टराईको विश्लेषण छ। 

प्रेस नेपालले आज (शुक्रवार) बुटवलमा गरेको पत्रकार भेटघाटमा भट्टराईले व्यवस्था भत्काउने र निरङ्कुश शासक बन्ने ओलीको ‘माइन्ड सेट’का कारण प्रतिनिधिसभा विघटन गरिएको दाबी गरे। ‘चुनाव गर्न होइन, व्यवस्था भत्काउने र निरङ्कुश शासक बन्न चुनाव घोषणा गरिएको हो’–भट्टराईले भने–‘ओलीको माइन्ड सेट नै गलत आचरण र चरम महत्त्वाकाङ्क्षाको छ।’ संसद् पुनर्स्थापना नगरी हुने चुनावबाट कसैको बहुमत नआउने र मुलुक संवैधानिकरुपमै संधैंका लागि अस्थिरतामा फस्ने भट्टराईले टिप्पणी गरे।   

‘सबै कुरा सेटिङमा भएको छ, राष्ट्रिय–अन्तर्राष्ट्रियरुपमा सेटिङ भएको छ’–डा. भट्टराईले भने–‘अदालतबारे मैले बोल्नु उपयुक्त हुन्न, तर अरूले प्रश्न उठाइरहेका छन्, सुरक्षा निकाय, संवैधानिक आयोगहरूमा आफ्ना मान्छे नियुक्त गरेर सबै अङ्ग नियन्त्रणमा लिइसकेपछि मात्रै संसद् विघटन भएको छ।’

असंवैधानिक तरिकाले गरिएको संसद् विघटनले मुलुक दुर्घटनामा धकेलिएको र देशमा विदेशी हस्तक्षेप बढ्ने खतरा औंल्याउंदै भट्टराईले सर्वोच्च अदालतले पुनर्स्थापना गरेर दुर्घटनाबाट बचाउनुपर्ने आग्रह गरे। 

तेस्रो जनआन्दोलनको खाँचो

प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमलाई सर्वोच्चले नसच्याए तेस्रो जनआन्दोलनको बलमा संसद् पुनर्स्थापना गर्नुपर्नेमा भट्टराईले जोड दिए। संसद् विघटनको घटना हिम शिखरको टुप्पो देखिएको अवस्था मात्र हो भन्दै भट्टराईले अदालतबाट यो नसच्चिए हिम शिखर फुटे जस्तै जोखिमयुक्त हुने बताए। ‘संसद् विघटनको गल्तीलाई सच्याउने सजिलो बाटो सर्वोच्चको फैसला हो’–भट्टराईले भने–‘नभए दोस्रो जनआन्दोलन भन्दा पनि उच्चस्तरको तेस्रो जनआन्दोलनको खाँचो छ, त्यसले मात्रै संसद् पुनर्स्थापना गर्नसक्छ।’ 

ओली समूह र कमल थापाको पार्टीबाहेकका सबै राजनीतिक शक्ति एक भएर संयुक्त जनआन्दोलन उठाउनुपर्ने भट्टराईको धारणा छ। 

नेपाली काँग्रेसको अनिच्छा र नेकपा विभाजनको औपचारिक टुङ्गो नलागेकाले संयुक्त आन्दोलनमा ढिलाइ भइरहेको भट्टराईले बताए। पत्रकारको जिज्ञासामा भट्टराईले प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म आफ्नो पार्टी प्रदेश सरकारमा पनि सहभागी नहुने बताए। ‘मृत्यु संस्कारमा भोजभतेर र दक्षिणाको कुरा नगरौँ’–पत्रकारको प्रश्नमा भट्टराईले भने। 

माघ ९, २०७७ शुक्रबार १९:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।