छ्या...दोहोरी : बहाना मौलिकताको, प्रचार अश्लीलताको 

छ्या...दोहोरी : बहाना मौलिकताको, प्रचार अश्लीलताको 

काठमाडौँ : लोकदोहोरी भन्ने बित्तिकै तपाईँको दिमागमा के आउँथ्यो ? सायद, शालीन, सभ्य र करुणको अभिव्यक्त  ! तर, प्रविधिको विकाससँगै कलालाई व्यवसायीकरण गर्ने बहानामा लोक दोहोरी पछिल्लो केही समय यता मृत्युतिर लम्किएको छ।

इन्टरनेटको बढ्दो पहुँचका कारण डिजिटल माध्यममा अहिले लाइभ लोक दोहोरीका नाममा अश्लील शब्दको बोलवाला बढ्दो छ।

एउटा उदाहरण :

केटी : आज सुन, मेरो मन रुन्न 

लुकीछिपी पड्काउँदा केही हुन्न।

मिर्मिरे कपालैमा.....

केटो : भेटेको छु विमला र आज

बन्दुक जोडे पड्किने भो आज 

मिर्मिरे कपालैमा.....

केटी सुन यसै मन मेरो भड्किन्न

गोली ओस्या छ भने पड्किन्न 

मिर्मिरे कपालैमा.....

चर्चित गायक नवराज घोरासैनिको पछिल्लो गीत मिर्मिरे कपालैमाको लयमा सामाजिक सञ्जालहरूमा चर्चित यी दोहोरी टुक्काहरूको अर्थ एकातिर भएपनि ‘मिर्मिरे कपालैमा’ बोलको गतिमा भने त्यस्ता अश्लीलताको झलक पाइँदैन।

मनोरञ्जनको भरपर्दो साधन सिनेमा व्यवसायीकरणको ढोँगले अश्लीलता प्रचार गर्न थाले पछि ‘पारिवारिक कथामा आधारित सिनेमा’ भन्दै दर्शकलाई सिनेमा घर बोलाइन्थ्यो। त्यस्तै, अब दोहोरीलाई पनि ‘पारिवारिक कथामा आधारित दोहोरी’ भन्नु पर्ने अवस्था आएको छ।

लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बिजी भन्छन् ‘लोक दोहोरी मौलिकताको रक्षक हो। सामाजिक जनजीवनको बोली हो। मन जित्ने खेल हो।’ दोहोरी सस्तो मनोरञ्जनका साधन कदापि नभएका कारण दोहोरीको मर्म मार्न लागि पर्नेका विरुद्ध बोल्नै पर्ने बेला आएको उनी बताउँछन्।

त्यस्तै,समय अनुसार चल्दाचल्दै अलि बढिनै अश्लीलता दोहोरीले प्रचार गर्न खोज्नुको कारण दर्शक श्रोता पनि भएको गायक पशुपति शर्माको ठम्याई छ।

‘कलाकार बन्छु भन्नेले त्यस्तो गीत नै गाउँदैन। आफूलाई टेष्टगर्न आउनेहरूलाई प्रविधिले भाइरल बनाइदियो,’ उनी थप्छन् ‘दर्शकस्रोता र मिडियाले पनि तीनै मान्छेलाई खोज्न थालेँ, अनि कसको के लाग्छ?’

पहिले घरबार बसाउने, अहिले गलल हँसाउने

नेपाली समाजमा दोहोरी आज पनि विशिष्ट स्थानमा छ। मेलापात गर्दा होस् वा रामरमिता दोहोरी गाउन आज पनि तन्नेरीहरू तछाड्मछाड् गर्छन् नै। तर आज गाइने दोहोरी दोहोरी नभएर फोहोरी भएको लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष बिजी दाबी गर्छन्।

‘पहिला–पहिला सात दिन, सात रात दोहोरी गाएर, सुखदुख बुझेर, मन मिलेर घरजम गर्थे,’ बिजी भन्छन् ‘दोहोरी भनेको शालीनता हो। शिष्टता हो। अनुशासन हो।’ दोहोरी सम्मान र सुखदुख पोख्ने थलो भएको उनको दाबी छ। 

वरिष्ठ लोक दोहोरी गायिका बिमा कुमारी दुरा दोहोरीले बाटो बिराएको बताउँछिन्। दोहोरीको सवाल जवाफमा असुहाउँदो टुक्का गाँसेर दर्शकलाई एकछिन रमाइलो गराउने प्रवृत्तिले दोहोरी भनेकै त्यस्तै दुइअर्थि र यौनिकता प्रचार गर्ने थलो हो भन्ने बुझाई बढिरहेको दुरालाई लागिरहेको छ। 

‘यौनका कुरा दोहोरीबाट भनिरहन पर्दैन नि। प्राकृतिक कुरा हो। आफैँ पनि सिक्न सक्छन्, अन्य माध्यम पनि होला सिक्ने, सिकाउने,’दुरा भन्छिन् ‘दोहोरीमा माया प्रेम, मिलन विछोड्, सामाजिक कथा, पारिवारिक समस्या लगायतका अन्य धेरै विषयमा सवाल जवाफ हुन्छ। त्यो सवाल जवाफले मान्छेले एक अर्कालाई बुझ्ने, चिन्ने मौका पाउँथे। तर अहिलेको दोहोरी सिधै यौनकै कुरामा गएर अड्कन्छन्।’

गायक शर्मा दोहोरी सबैको भएकाले सबैले गाउनु राम्रो भएपनि मर्मलाई मार्नु गलत भएको बताउँछन्। 

‘घरजम नभएकाहरूलाई दोहोरीले घरजम दिन्थ्यो। मनका पीडा, कुण्ठा पोख्ने थलो दोहोरी हुन्थ्यो। माया प्रेम देखि सामाजिक विकृति माथि पनि दोहोरीले मान्छेलाई, समाजलाई सचेत बनाउने काम गनुपथ्र्यो।’ शर्माले भने। 

दोहोरीमा कतै दोअर्थि शब्द प्रयोग हुन सक्ला तर यौन पाठ पढाएर दर्शकलाई हँसाउने ध्याउन्नमा कलाकारहरू लाग्दा दोहोरीको सम्मानमा आँच आएको शर्माले उकेरासँग भने। 

बहाना मौलिकताको प्रचार अश्लीलताको 

नेपाली समाजमा प्रचलित दोहोरीको मर्म र अभिव्यक्ति शैलीमा गणतन्त्रको प्रभाव परेपछि यतिबेला दोहोरीको पहिचानमाथि नै प्रश्न उठिरहेको लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष बिजी स्वीकार गर्छन्। 

‘दोहोरी मान्छेका सुख दुखमा केन्द्रित भएर गरिने सवाल जवाफ हो। यो जनबोलीमा हुर्किन्छ, मौलिन्छ। त्यसैले यसले मौलिकता बोक्छ।’ तर कलाकारितालाई व्यावसायिक बनाउने नाममा दोहोरीमाथि भद्दा मजाक भइरहेकोमा प्रतिष्ठानको ध्यानाकर्षण भएको उनको दाबी छ।  

‘दोहोरीले शिष्टता गुमाए पछि त्यो दोहोरी रहेन नि। रत्यौलीमा समेत मनै रुवाउने गीत आमा दिदिहरुले गाउँछन्, ’बिजी भन्छन् ‘दोहोरी भनेकै फोहोरी हो भन्ने छाप दर्शकमा पर्न थाल्यो।’ यसरी रमिते कलाकारहरूले साधना गरिरहेका कलाकारहरूलाई विस्थापन गर्दै जान थालेपछि भोलि दोहोरीले आफ्नोपन दाबी गर्न र जनस्तरमा विश्वास जित्न गाह्रो हुने जिसीको ठम्याँईं छ।

‘के त्यसो भए दोहोरीले मौलिकता गुमाइ सकेको हो त?’

होइन, सामाजिक सञ्जाल युट्युब, टिकटक, फेसबुकमा  दोहोरी जस्ता दोहोरी पनि भएको गायक शर्मा बताउँछन्। ‘तर, दोहोरीको अर्थ दोहोरो अर्थ लाग्ने शब्द कदापि हुन सक्दैन। दोहोरीले नेपाली जनजीवनको सुखदुख बोक्ने गर्छ। माया प्रेम अभिव्यक्त गर्ने गर्छ,’ शर्माले भने। 

अभिव्यक्तिको उच्चतम माध्यम मध्यको दोहोरीले माया प्रेम, सुख, दुख र बहुजन हितको भाव सञ्चार गर्नु भन्दा पनि रतिरागमा दर्शक श्रोतालाई हँसाउन खोज्नुले कुनै बेला करुणारस केन्द्रित दोहोरी रतिरागका कुराले सस्तो हास्य माध्यम झैँ देखिएको छ।

पछिल्लो समय दोहोरीको विषयवस्तु र शब्द चयनले सिधै अश्लीलता झल्काउने दोअर्थि शब्द विधान प्रचलनमा छ। यसले दोहोरीको मैलिकता नभई अश्लीलताको प्रचार गरिरहेको वरिष्ठ गायिका दुराको बुझाई छ। 

दोहोरीका रक्षक नै भक्षक

‘पछिल्लो समय लोकदोहोरीको प्रर्बद्धनकर्ता, रक्षक हुँ भन्नेहरूले नै दोहोरीलाई फोहोरी बनाइरहेका छन्’ बिजी भन्छन्‘ ढलान घरमा खरका छानो बनाएर मौलिकता देखाउन खोज्नेले दोहोरीको मौलिकतालाई अश्लील बनाइदिए।’ 

बिजी दोहोरी विकृत हुनुमा दोहोरी साँझको ठुलो  भूमिका रहेको आरोप लगाउँछन्। 

तर, गायक शर्मा भने दोहोरी साझँहरुले नै दोहोरीको लय बिगारेको मान्न तयार छैनन्। 

‘कलाकारको लक्ष्य के हो? उसको अनुशासन के हो?’ त्यसले फरक पार्ने शर्मा बताउँछन्। 

‘मैले ६ वर्ष दोहोरीमा काम गरे। आज म जे छु, त्यो दोहोरी साँझकै देन हो,’उनी भन्छन् ‘कलाकारले आफ्नो लक्ष्य चिन्नु पर्छ। दर्शकलाई एकछिन रमाइलो गराउँछु भनेर यौनजन्य टुक्का ल्याउनुले कलाकारकै आत्मअनुसासनमा प्रश्न गर्ने उनी बताउँछन्।

दोहोरीको विकासमा दोहोरी साँझहरूको राम्रो योगदान भए पनि कलाकारले आफ्नो धर्म बिर्सिँदा र प्रविधिको पहुँच बढ्दा दर्शकले फोहोरी दोहोरीलाई स्विकार्नु पर्ने बाध्यता पनि रहेको शर्माको दाबी छ।

कलाकारले आफ्नो पेसागत धर्मलाई मारेर पैसामुखी हुनुपनि दोहोरीमा अश्लीलता बढ्नुको अर्को कारण भएको दुराको ठम्याँईंछ।

प्रविधिको मार, दोहोरीको हार

प्रविधिको विकासले कला प्रदर्शन गर्न ढोेकाढोकामा पुग्नुपर्ने दिनको अन्त्य गर्यो तर, कलाको स्तर मापन गर्ने संयन्त्र नहुँदा कलामा प्रयोगको नाममा विकृति बढ्दै गएको गायक शर्माको बुझाई छ।

‘पहिले पो एउटा गीत बनाउन, बजाउन, देखाउन हजार जनालाई ज्यू, ज्यु गर्नु पर्यो। त्यहीमाथि सेन्सर हुन्थ्यो। आत्म अनुशासनमा बसेका कलाकार हुन्थे,’ शर्मा थप्छन्‘अब अहिले जे  बनाए पनि भाछ। जे गरे नि भाछ।  कसैको रोक तोक छैन।’ 

कलाकार बन्छु भनेर आउने भन्दा पनि फुर्सद कटाउन आफूलाई टेस्ट गर्न आउनेले समस्या बनाएको शर्माको बुझाई छ। 

‘राम्रा गीत कुनाकुनामा लुक्छन्। दर्शकसँग पनि विकल्प नभए पछि, जे  आउँछ त्यही नहेरेर के गरुन् बरा।’ शर्माले भने।

त्यस्तै, बिजी भन्छन् ‘सर्जक पैसाको अभावमा मरिराको हुन्छ। उसैको सृजना प्रयोग गरेर लाखौँ कमाउने।’ भाका प्रयाग गर्न अनुमति लिने व्यवस्थाको अभ्यास प्रतिष्ठानले गरिरहेको उनले उकेरालाई बताए।

‘प्रविधिको क्षेत्र ठुलो छ। दोहोरी गाउन अनुमति लिनुपर्यो भने त जथाभाबी गाउन पनि पाएनन्। जथाभाबी गाएर गीत र सर्जकको अपमान भयो।’ त्यसैले, प्रविधिको दुरुपयोगलाई प्रविधिकै प्रयोगबाट रोक्न प्रतिष्ठान लागि परिरहेको उनले बताए।

‘प्रविधिको मारमा परेर दोहोरीले आफ्नो मौलिकता गुमायो भने त त्यो त ठुलो हार भयो नि,’प्रविधि र पैसाको लोभमा बढेको दोहोरीको विकृतिलाई प्रविधिकै प्रयोगले लगाम लगाउनु पर्ने बिजीको भनाइ छ।

छैन शब्दमा सेन्सर सीप

‘कुनै जमाना थियो, गीत गाउनको लागि साधना चाहिन्थ्यो। शब्द, सङ्गीतमा खुबै ख्याल दिइन्थ्यो। राजनीतिक परिवर्तनसँगै अभिव्यक्ति स्वतन्त्रताको बाटो फराकिलो हुँदै गयो,’ लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष बिजी भन्छन् ‘अभिव्यक्ति स्वतन्त्रताको बाटो जति फराकिलो हुँदै गयो त्यति मानिसलाई भाव अभिव्यक्त गर्न  सहज वातावरण भयो। त्यसले सबै खाल्का मानिसले आफ्नो भाव राख्ने मैका पाए। त्यसको प्रत्यक्ष असर दोहोरीमा पनि पर्न गायो।’

राज्यले लोकगीत विकास बोर्डको स्थापना नगरे सम्म यो समस्या हल हुन गाह्रो भएको बिजीको भनाइ छ।

‘लोकदोहोरी प्रतिष्ठान सामान्य जिल्लामा दर्ता भएको संस्था हो। हामीले हाम्रा सदस्यहरूलाई दोहोरीको मापदण्ड बुझाएका छौ,’ उनले भने।

‘राज्यले हामीलाई जिम्मा दियो भने हामी दोहोरीमा सेन्सर सीपको जिम्मा लिन तयार छौ।’ तर राज्यलाई बारम्बार ध्यानाकर्षण गराउँदा पनि मौन रहँदा मौलिकता बोकेको  लोकप्रिय गायन विधा दोहोरीलाई छ्या : भन्ने दिन नआउला भन्न नसकिने बिजीको दाबी छ।

 

माघ ९, २०७७ शुक्रबार १०:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।