पूर्वाधार निर्माणकै सिजनमा बढ्यो डन्डी-स्टिलको मूल्य 

पूर्वाधार निर्माणकै सिजनमा बढ्यो डन्डी-स्टिलको मूल्य 

दसैंपछि ग्रिल, स्टिल तथा डन्डीमा मूल्य प्रतिकिलो ४० देखि ५० रूपैयाँसम्म बढेको हाे। 

ग्रिल तथा स्टिल व्यावसायीका अनुसार दसैअघि प्रतिकिलो ७०–७५ रूपैयाँ पर्ने डन्डीको मूल्य अहिले १ सय १० रूपैयाँ पुगेको छ। 

ग्रिल तथा स्टिल व्यावसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष मोहन कटुवाल विकास निर्माणको सिजन सुरु भएलगत्तै बजारमा डन्डीको मूल्य महँगिएको बताउँछन्। 

कोरोना भाइरस (कोभिड–१९) महामारीपछि सञ्चालनमा आउन लागेका उद्योगहरू ग्रिलजन्य फलाम र निर्माण सामग्रीमा भएको उच्च मूल्यवृद्धिले पुनः बन्द हुने अवस्थामा पुगेको उनको भनाइ छ। फलामजन्य सामग्री उत्पादक कम्पनीहरूले आफूखुसी मूल्य बढाएको उनले आरोप लगाए। 

उत्पादक कम्पनीहरूले कार्टेलिङ गरेकाले बजारमा डन्डीको मूल्य अप्रत्यासित बढेको उनको भनाइ छ। 

अन्तर्राष्ट्रिय बजारमा फलामको मूल्य थोरै बढे पनि फलामजन्य सामग्री उत्पादक कम्पनीले सामानमा अत्यधिक मूल्य बढाएको निर्माण व्यावसायी बताउँछन्। 

अन्तर्राष्ट्रियरूपमा ५ प्रतिशत बढ्दा नेपालमा भने २० प्रतिशतसम्म बढाइने गरिएको उनको आरोप छ। 

‘भारतको तुलनामा नेपालमा तेब्बर गुणा मूल्य बढेको छ,’ उनले भने। 

बजार अनुगमन भएन

उद्योगीहरूले ग्रिल, स्टिल तथा डन्डीमा आफूखुसी मूल्य बढाउँदा पनि सरकार मौन बसेको व्यावसायीको आरोप छ। 

सरकारले अनुगमन नगर्दा मूल्य वृद्धि नरोकिएको अध्यक्ष कटुवालले बताए। अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धि अनुसार नेपालमा पनि मूल्य बढाउनुपर्ने उनको भनाइ छ। ‘अहिलेको मूल्यवृद्धिले ११ हजार ग्रिल व्यावसायीहरूको रोजगारी गुम्ने खतरा छ,’ उनले भने। 

मूल्यवृद्धिले व्यावसायी मारमा

निर्माण सिजनमा भएको ग्रिल, स्टिल तथा डन्डीमा मूल्यवृद्धिले व्यावसायीहरू मारमा परेका छन्। 

नेपाल निर्माण व्यावसायी महासंघले डन्डी, जिआई वायर, तारजालीको मूल्य अप्रत्याशित बढ्नुमा फलामजन्य वस्तु उत्पादक कम्पनीहरूले कार्टेलिङ गरेको आरेप लगाएको छ। 

महासंघले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अहिले डन्डी, पाता, जिआई तथा ग्याबिन तारलगायत सामग्रीहरूमा अत्यधिक मूल्यवृद्धि गरिएको छ, यसमा उत्पादक कम्पनीहरूको मिलेमतो भएको देखिन्छ।’ 
 

माघ ८, २०७७ बिहीबार १९:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।