सर्वोच्चलाई काँग्रेस नेता थापाको आग्रह : कसैप्रति आग्रह पूर्वाग्रह नराखी निर्णय गर्नुस् 

सर्वोच्चलाई काँग्रेस नेता थापाको आग्रह : कसैप्रति आग्रह पूर्वाग्रह नराखी निर्णय गर्नुस् 

नेपाली काँग्रेस बुटवल उपमहानगर समितिले आयोजना गरेको विरोध सभामा नेता थापाले प्रधानमन्त्री केपी ओलीले संविधान च्यात्दै संसद् विघटन गरेर नेपाली जनताको विश्वास माथि घात गरेको आरोप लगाए। 

नेता थापाले निर्वाचनका लागि काँग्रेस जुनसुकै बेला तयार रहेको तर, ओलीको कदम असंवैधानिक जुनसुकै हालतमा सच्चिनु पर्ने बताए। संसद् पुनस्र्थापना हुनुपर्छ उनले भने, संवैधानिक पद्धति अनुरूप निर्वाचन हुनुपर्छ। नेता थापाले संवैधानिक तरिकाले केपी ओली र विद्यादेवी भण्डारीलाई घर पठाएर देश, सरकार र संसद् सम्हाल्न नेपाली काँग्रेस तयार रहेको बताए।  

नेकपा एकतालाई एउटै बोटमा आलु र काउली फले जस्तै भनेका नेता थापाले दुवै तरकारी एउटै बोटमा फलाउन खोज्दा आज रुँदै हिँड्नु पर्ने अवस्था आएको टिप्पणी गरे। थापाले भने—आलु काउली पार्टी बनाउँदा आज यो परिणाम आयो, देश र जनताले दुःख पाउनु पर्यो। 

मुलुक र जनताको साझा अभिभावक बन्नुपर्ने राष्ट्रपति र प्रधानमन्त्री जस्तो संस्था एउटा गुटको सदस्य बनेकाले नेपालको राजनीतिमा अप्रत्याशित र कल्पना नगरेको परिस्थिति सिर्जना भएको उनको भनाई छ।

नेता थापाले अदालतले फैसला गर्दा न्यायपूर्ण ढङ्गले गर्ने विश्वास समेत व्यक्त गरे। उनले भने—सम्मानित न्यायमुर्तीहरु कसैको प्रभावमा नपरी संवैधानिक धारा उपधाराको व्याख्या गरेर कसैप्रति आग्रह पूर्वाग्रह नराखी निर्णय गर्नुस्। 

 

माघ ८, २०७७ बिहीबार १८:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।