उकेरा समीक्षा : नारीवादले थिचिएको ‘छ पात्रको एकालाप’

उकेरा समीक्षा : नारीवादले थिचिएको ‘छ पात्रको एकालाप’

झन्डै वर्ष दिन सुनसान भएको थिएटरको मञ्चमा प्रकाश पर्योे माघ १ गते। दर्शकले नाटक हेर्ने मौका पाए। तर,यतिका समयसम्म नयाँ नाटक हेर्न नपाएका दर्शकको धित मर्ने नाटक भने बन्न सकेन ‘छ पात्रको एकालाप’। 

‘गोठाले नाटक घर’ बत्तिसपुतलिमा प्रदर्शन भइरहेको ‘छ पात्रको एकालाप’ नाटक रङ्गमञ्च लयमा फर्कियो है भन्ने सन्देश दिन मात्र प्रदर्शन गरिएको देखियो।

फरक फरक छ पात्रको निजी अनुभूतिलाई गाँसेर शिल्पी थिएटरका युवराज घिमिरेले कथेको नाटकले दर्शकलाई प्रश्न त गर्यो तर उत्तरको ओज अनुभव गराउन सकेन दर्शकलाई। 

प्रस्तुतिमा केही रोमाञ्चकता भए पनि गम्भीर विषयवस्तु सतही रूपमा प्रस्तुत भएकाले नाटकले आफ्नो प्रभाव जमाउन सकेको देखिएन। नाटक हेर्दा  लेखनको कमजोरी मञ्चमै छरपस्ट भइरहे।

पवित्रा खड्का, सङ्गीता उराँव, नम्रता अर्याल, साहिना भट्टराई, सुहाना आचार्य र सुमित्रा लामिछानेले आफ्नो अभिनय मार्फत लेखन कमजोरी ढाक्ने प्रयास त गरे तर जगै कमजोर भएकाले सफल भने भएनन्।

न्यायालयदेखि सुन्दरतासम्म, यौनिकतादेखि मानसिकतासम्म र सामाजिकतादेखि नारि हिंसासम्म नाटकमा प्रश्नै प्रश्न छ। नारीवादी दृष्टिकोणबाट तयार गरिएको नाटकले नारीवादलाई दर्साउन पुरुषतत्वलाई हेला गरेको प्रस्टै देखिन्छ। तर किन हेलाँ ? उत्तर छैन।

सबै पुरुषलाई एकै कित्तामा राख्नु नाटकको दुर्बल पक्ष हो।

पुरुषको लिङ्गलाई प्रश्न गर्दै रम्नुभन्दा पनि पुरुषवादी मानसिकताको विकास कसरी भयो र त्यसलाई बदल्न के गर्न सक्छन् भन्ने पक्षतिर अलिकति ध्यान दिएको भए मात्र पनि नाटकको ओज बढ्न सक्थ्यो। तर खै किन हो, निर्देशकले त्यतातिर वास्तै गरेको देखिएन।

चरम नारीवादी पात्रहरूले एकोहोरो पुरुषतत्वमाथी प्रश्नको हमला गरिरहँदा त्यसको विरुद्धमा कुनै पात्रले कार्यब्यापार किन गरेनन्? यती धेरै प्रश्नको जन्म किन भयो? र त्यो प्रश्नको समाधानको बाटो के हो ? यसतर्फ नाटकको दृष्टि परेकै देखिएन। यी सबै कारणको केन्द्रबिन्दु नाटकका निर्देशक घिमिरेमा रहेको चरम नारीवादी देखिने मोह हो भन्दा फरक पर्दैन। 

नाटकमा उनले उठान गर्न खोजेको नारीवादले उल्टो नारीवादकै उपेक्षा गरिरहेको देखिनु उनको ठुलो लेखकीय असफलता हो।

यो समस्या र्दशाउनमात्र तयारी गरिएको नाटक हो भन्दा फरक पर्दैन।

सतही प्रश्न मात्र गर्नुभन्दा तथ्यको खोजी पनि गरेको भए नाटक मञ्चमा उभिन लायक हुन्थ्यो। तर अति नै कमजोर पटकथाले नाटक लुलो देखियो। जसलाई अभिनयको बलमा कलाकारहरूले उभ्याउन सकेनन्।

०००

सामाजिक रूपमा महिला कसरी थिचिएका छन् ? रङ्गको विभेद र हाम्रो समाजको सुन्दरताको परिभाषाले महिलालाई कसरी चोट पुर्याएको छ ? नारी भएर यो समाजमा बाँच्न किन कठिन छ ? नारी उपभोग्य वस्तु मात्र हुन् त ? खै नारी अस्तित्व ?

जातीय विभेद र बलात्कारजस्ता जघन्य हिंसाविरुद्ध नाटकले प्रश्नै प्रश्न तेर्स्याएको छ। ती प्रश्न उठ्नु जरुरी पनि हो । प्रश्नले समाजलाई सोच्न प्रेरित पनि गर्ला तर प्रश्नको चित्तबुझ्दो उत्तर दिने जिम्मेवारी पनि नाटककै हैन र ?

तर सबै पात्रको आलाप मानवतामा गएर रोकियो। 

मानवता सबैभन्दा ठुलो हो भनेर दर्साउन नाटकले ४५ मिनेट सम्म विना लक्ष्य, विना पृष्ठभूमिका पात्रलाई प्रतिबिम्ब मनाउँदै कुण्ठा पोखाउनुको कारण पनि देखिँदैन। पात्रहरूले उठाएका मुद्दा र त्यस समस्याको हल खोज्न नाटकले प्रयासै गरेको छैन। दर्शक पहिलेदेखि नै जानकार प्रश्नहरूको थुप्रो मात्र लगाउन नाटक मञ्चन गर्नुको के काम ?

सतही प्रश्न मात्र गर्नुभन्दा तथ्यको खोजी पनि गरेको भए नाटक मञ्चमा उभिन लायक हुन्थ्यो। तर अति नै कमजोर पटकथाले नाटक लुलो देखियो। जसलाई अभिनयको बलमा कलाकारहरूले उभ्याउन सकेनन्।

 

नाटकले पुरुषवादी मानसिकताको कारण उत्पन्न भएको लौगिंक, सामाजिक समस्या दर्साए पनि धार्मिकताको कारण नेपाली नारिले भोग्नु परेको समस्यालाई छुन पनि जरुरी ठानेन। मानसिक रूपमा पारेको प्रभावलाई नाटकले सन्तुलित रूपमा प्रस्तुत गर्न सकेन।

पटकथासँगै फिजिकल थिएटरको उपयोग गरिएको नाटकको कोरियोग्राफी कमजोर छ। भेसभुसा र नाटकको थिमको सन्तुलन पनि भेटिन्न।

सामान्य प्रकाश व्यवस्थापन रहेको नाटकमा प्रयोग गरिएको ध्वनि, लाइभ सङ्गीतको प्रयोग भने राम्रो छ।

कोरोनाकलामा चुनौतीसहित प्रदर्शित नाटकको अर्को राम्रो पक्ष न्यूनतम प्रप्सको प्रयोग हो। ठुला सेट विना नाटक गर्न सकिँदैन भन्नेहरुकालागि यस नाटकले राम्रो जवाफ दिएको छ। 

आर्थिकरुपमा कमजोर नाट्य क्षेत्रलाई प्रस्तुतीकरणमा दखल हुने हो भने न्यूनतम स्रोतसाधनको उपयोगबाट पनि काम गर्न सकिन्छ भन्ने प्रेरणा नाटकले दिएको छ। 

एकै प्रप्स सेतो रिगंलाई निर्देशकले विविध अड्चनको रूपमा प्रयोग गरेका छन्। 

नाटकमा प्रयोग भएका कथ्यमा प्रश्न मात्रै हुँदा खल्लो महसुस भए पनि कलाकारको मेहनत भने अनुभव गर्न सकिन्छ। सरल दृश्य समायोजनले दर्शकलाई बाँध्न भने नाटक सफल छ।

यदि तपाईँलाई सोच्न मन पर्छ भने यो नाटक तपाइको लागि हो।

माघ ८, २०७७ बिहीबार १६:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।