मिडियाप्रति प्रधानमन्त्रीको आक्रोश : केही मिडियाले सरकारको राम्रो काम देख्नै सकेन

मिडियाप्रति प्रधानमन्त्रीको आक्रोश : केही मिडियाले सरकारको राम्रो काम देख्नै सकेन

आफू पक्षीय नेपाल प्रेस सङ्गठनको दोस्रो राष्ट्रिय भेलामा प्रधानमन्त्री ओलीले अधिकारका पक्षमा, हिंसाका विरुद्ध, अवसर र शान्तिको पक्षमा कलम चलाउनु पर्ने बताए।

स्वार्थका लागि समाचार नलेख्न भनेका प्रधानमन्त्री ओलीले केही मिडियाले सरकारको राम्रो काम देख्नै नसकेको उल्लेख गरे। 'राम्रो कुरा सुन्दिन, हेर्दिन र बोल्दिन भनेर बसेका छन् ओलीले भने देशको लागि पीत पत्रकारिताको ठुलो समस्या छ।' 

दाहाल-नेपाल समर्थक नेपाल प्रेस सङ्गठनले मङ्गलवार दोस्रो राष्ट्रिय भेला गरेको थियो। आज ओली समर्थक प्रेस सङ्गठनले राष्ट्रिय सभागृहमा छुट्टै भेला गरेको हो। नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजित भएपछि प्रेस संगठन पनि विभाजित भएको छ। भेलामा प्रधानमन्त्री ओलीले एकताबद्ध, योजनाबद्ध, गतिशील हुनुपर्ने उपदेश पनि दिए। 

उनले आफूहरू पेरिसडाँडाम जस्तो कालो झन्डा फहराउने नभई रातो झन्डा फहराउने भएको बताए । ‘हामीलाई कसैसँग प्रतिशोध लिनुपर्ने छैन, देश बनाउनुछ । सुशासन गर्दै भ्रष्टाचार समाप्त पार्नुछ । देश बनाउन यी गन्तव्यतर्फको यात्रा तय गर्नुछ’, ओलीको भनाई छ । उनले समाजमा विभिन्न प्रकारका तत्त्व हुने भन्दै उनीहरूले जनतालाई सिनेमा देखाइरहेको बताए ।

‘समाजमा विभिन्न किसिमका तत्त्व हुन्छन्, तिनीहरू सिनेमा देखाउँछन् । सिनेमामा हिरो हिरोइन हुन्छ, लभ परेको हुन्छ, हिरोइन घाइते हुन्छे । हिरो रुन्छ । वास्तवमा त्यो केही पनि होइन । त्यो सबै तमासा हो’ पुष्पकमल दाहाल र माधव नेपाललाई सङ्केत गर्दै ओलीले उनीहरूले तमासा र सिनेमा देखाइरहेको बताए ।  उनले त्यस्तो तमासा र सिनेमा देखाइरहेकाहरूलाई सजग गराउन आव्हान गरे । 

माघ ८, २०७७ बिहीबार १५:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।