‘हाउडे' र्‍यापरको समाजसेवी अवतार

‘हाउडे' र्‍यापरको समाजसेवी अवतार
तस्बिर : कृष्पा श्रेष्ठ।

उनको लवाई हेर्दा भने अर्कै छवि बन्छ। ज्यानभन्दा लामो टिसर्ट, चाहिनेभन्दा बढी लुज पाइन्ट अनि खुट्टाभन्दा लामा जुत्ता, टाउकोमा सेतो स्कार्फ, रातो क्याप र कालो चस्मा लगाउने उनी झट्ट हेर्दा ‘हाउडे’ लाग्न सक्छन्। 

जीउ नै दुब्लो। तर, लुगाचाहिँ आफ्नो आकारका पाँच जना अट्ने लगाउँथे। ठूला लुगा अनि च्यातिएका पाइन्टमा हिँड्दा बाजे–बज्यैहरू इन्जिनियरको छोरा ‘हाउडे’ भयो भन्थे। 

तर, ‘हाउडे’ भनिएका उनी कति गम्भीर छन् भन्ने पुष्टिका लागि उनको शिक्षा यात्रा नै काफी छ।

सन् २००० तिरको कुरा हो। उनले किताव कपी नभएर विद्यालय जान नसकेका विद्यार्थीबारे समाचार पढे। यसो घरमा हेरेको यस्ता सामग्री त्यत्तिकै थन्किएका थिए। आफ्नो घरमा थन्किएका शैक्षिक सामग्री ती विद्यार्थीको हातमा पुर्याउन पाए उनीहरूको शैक्षिक यात्रा अगाडि बढ्थ्यो नि भन्ने उनलाई लाग्यो। र, सुरु गरे शैक्षिक अभियान।

उनले आफूले जानेको संगीतलाई शिक्षाको अभियानमा उपयोग गर्ने योजना बनाए। र, सुरु गरे ‘शिक्षा नै जीवनको आधार हो’ अभियान। सन् २००६ बाट सुरु भएको ‘निर्णय एनएसके टुर फर एजुकेसन’ जारी छ।

कार्यक्रममा हरेकसँग एक कलम, एक कापी, एक इरेजर, एक किताब मागेर ग्रामीण भेग पुगिहाल्ने उनले १२ लाख विद्यार्थीको हातमा शैक्षिक सामग्री पुर्याइसकेका छन्।

‘पहिलो एल्बम बिक्रीबाट १० हजार नाफा आयो। मलाई त्यो पैसा के गरौं भयो। र, जमलस्थित सुनगाभा नामक संस्थालाई सहयोग गरें,’ उनले उकेरासँग भने, ‘गीत– संगीतलाई बिजनेसभन्दा समाज परिवर्तनको छायाको रूपमा उपयोग गर्न मन पर्छ। ठूलो काम गर्न नसकिएला। तर, साना काम त गर्न सकिन्छ नै।’

उनलाई शैक्षिक सामग्री संकलन र वितरण साना काम लागे पनि यसले धेरै विद्यार्थीलाई अशिक्षाको अन्धकारबाट बाहिर ल्याउन सघाएको छ। अनि त वर्ल्ड बुक रेकर्डबाट नेसनल एक्सिलेन्ट अवार्ड पाए भने अमेरिकावाट प्रदान गरिने एनपिस अवार्डमा दुई पटक म्युजिक फर पोजिटिभ चेन्जमा नोमिनेसनमा पर्ने नेपाली गायकसमेत बने।

पप गीतमा रमाएनन् निर्णय

उनले जुन समय गायन यात्रा सुरु गरे, त्यो बेला पप गीतको एकाधिकार थियो। जताततै पपको क्रेज। पाका पुस्ताका लागि खै के खै के भए पनि युवा पुस्ता भिजिरहेका थिए पपमा। त्यो बेला उनी भने हिपहपतिर लागे। उनी अगाडिका केही अग्रजहरूले हिपहपलाई नेपाली माटोमा भिजाउने प्रयास नगरेका हैनन्। तर, समाजले स्वीकारिसकेको थिएन। त्यो बेला नव प्रवेशीका लागि सकस पर्ने नै भयो, पर्यो। 

तैपनि उनी अगाडि बढे सन् १९८० को दशकबाटै सुरु भएको हिपहप कल्चरमा। स्वच्छन्दता र विद्रोहको प्रतीकको रूपमा फैलँदै गएको ‘रिदम एन्ड पोइम’ अर्थात् र्यापमा उनको मन गढ्दै गयो।

जमैकावासीले विद्रोहको आवाज अभिव्यक्त गर्न सुरु गरेको शैलीलाई एक दिन नेपालमा भिजाउने सपना थियो उनको। लागि रहे उनी यसैमा। ‘चोर चोर यो देश छोड’ गीत सेन्सरमा पर्यो। र, सेन्सर बोर्डले शब्द नै हटाउन लगायो।

उनलाई त्यो घटनाले शब्द र संगीतको शक्तिको आभास गरायो। निरास हैन, झन् प्रतिवद्ध भए उनी। अलि नेपालीपन दिने फ्लेवरको भाका समात्ने हो भने रुचाउँछन् कि भनेर ‘दिन पनि बित्यो, रात पनि बित्यो’ बोलको गीत रेकर्ड गराए। उनको चयन जम्यो। नेपाली स्रोताले उनको यो प्रयास रुचाए। सामान्य प्रकृतिका गीतमा पनि बीचमा छुस्स र्याप लय हाल्ने क्रम सुरु भयो। 

त्यही गीतले उनलाई बेस्ट म्युजिक भिडियो अवार्ड दिलाउँदा फुरुंगै भए। धेरै र्यापरहरू निस्किए। नेपाली संगीत क्षेत्रले र्याप विधालाई स्वीकार गर्दै गयो।

गीत–संगीतसँगै समाजसेवामा समेत सक्रिय भइरहेका निर्णयका २२ वर्षअघि जुन उमेर समूहका फ्यान थिए, आज पनि उनका अधिकांश फ्यान त्यही उमेर समूहका छन्। यसले उनलाई सदाबहार नेपाली हिपहप गायकको पहिचान दिएको छ।

दुई दशकभित्र धेरै र्यापर आए, गए। तर, उनी निरन्तर सक्रिय छन्। यत्रो लामो समय एकै विधामा रमाउन सक्नुको रहस्य ‘एउटै रफ्तारमा हिँड्नु, धेरै आशा नगर्नु’ रहेको बताउँछन् उनी। 

अमेरिका बसाईले जगाएको संगीतको मोह

उनका बुबा नेपालकै इरिकेसनमा पहिलो विद्यावारिधि (पिएचडी) गर्ने इन्जिनियर। पिएचडी अध्ययनको सिलसिलामा सन् १९८९ मा उनको परिवार अमेरिका पुग्यो। उनीहरू बस्ने लोगन सिटीमा नेपाली थिएनन्। एकैपटक घुलमिल हुन नसक्ने र लजालु प्रवृत्तिका निर्णयलाई साथी बनाउन समय लाग्यो। त्यही मौकामा गितार बजाउन सिके। त्यति बेला अमेरिकामा पनि हिपहप संगीतले भर्खर जग हाल्दै थियो। उनलाई लय नयाँ लाग्यो। हिपहप गीत सुन्न थाले। जति सुन्यो त्यति मजा आउन थालेपछि रस बस्यो।

आफैं किन नगाउने ? हिपहप गीत लैख्दै, गाउन थाले। धक फुकाएर भन्न नसकेका पक्षहरू सरर अक्षरमा कुद्न थाले। त्यसैलाई भाका हालेर अभिव्यक्त गर्न थाले।

‘म ८ वर्षको थिएँ। धेरैजसो साथीहरू स्पेनिस। र्याप गाएर क्यासेटमा भर्थे। स्पेनिस साथीहरू मुखबाटै म्युजिक निकाल्थे। रेकर्ड गरेका गीतहरू सुन्दै विवोयिंग, ब्रेक डान्स गर्थे,’ उनले ती दिन सम्झिए।

त्यति बेला एमसी ह्यामरको क्रेज थियो। स्कुल अनि टोलका साथीहरूले नेपाली ह्यामर भनेर बोलाउन थाले उनलाई। उनी जोस्सिए। घरमै थुप्रै गीत रेकर्ड गराए। विषयचाहिँ  मानवीय प्रवृत्ति र स्वतन्त्रता थियो।

उनले पहिलो रेकर्ड भएको गीत सन् १९८९ को ‘वी स्ट्रोड फ्रम बटन’ भन्ने थियो। भाषा अंग्रेजी। संभवत यही नै नेपालको पहिलो रेकर्ड गरिएको र्याप गीत हो। सुरुमा लजालु स्वभावका निर्णयलाई यही गायकीले पढाइमा पनि अब्बल बनाउँदै लग्यो। कक्षा ८ मा पढ्दै गर्दा प्रेसिडेन्सियल एकेडेमिक फिटनेस अवार्ड पाए। यो अवार्ड अमेरिकाको हरेक सहरमा एक–एक जनाले पाउँथ्यो। प्रमाणपत्रमा तत्कालीन अमेरिकी राष्ट्रपति सिनियर जर्ज बुसको हस्ताक्षर थियो।

कक्षा ८ मै पढ्दा समर होलिडेमा कम्युनिटी क्लबवाट घाँस उखेल्ने काम पाए। तर, आमालाई हातहरू फुट्ने गरी काम गर्ने गएको पटक्कै मन पर्दैनथ्यो। तर, उनले बिदाभरी काम गरे। त्यसबाट उनले १ सय ४० अमेरिकी डलर कमाए। 

उनी आफैले कमाएको पैसाबाट नाइक एयर जोर्डेनका जुत्ता किनेर लगाउन चाहन्थे। तर, उनी बस्ने सहरमा त्यो जुत्ता आइसकेको थिएन। दुई घण्टाको ड्राइभमा गएर जुत्ता किनिछाडे उनले।

त्यो जुत्ताप्रतिको उनको क्रेजको कारण भने बास्केटबल खेलाडी माइकल जोर्डन थिए। उनी जोर्डनको फ्यान। हिपहप संगीत जस्तै मनपथ्र्यो उनलाई बास्केटबल। उनी राम्रो बास्केटबल खेलाडी पनि हुन्। जोर्डनको टिमको होम कलर राटोबाट उनी प्रभावित थिए, भएका हुन्। निर्णयले लगाउने राटो टिसर्ट र क्याप त्यही प्रभावको नतिजा हो जो अहिलेसम्म उनको पहिचान बनिरहेको छ।

कक्षा ९ पढ्न उनी नेपाल आइपुगे। सेन्ट जेभियर्समा भर्ना भएपछि केही समय उनको लागि निकै सकसपूर्ण रहे। नेपाली साथीहरूसँग भिज्न २ वर्ष लाग्यो उनलाई। 

‘सुरुका ६ महिना त नेपाली भाषाको ट्युसन नै पढें। तर, संगीतले बिस्तारै साथीहरू जोड्दै लग्यो। त्यसताका नेपालमा भर्खर–भर्खर एमटिभी च्यानल आउन थालेको थियो। अमेरिकावाट ६० वटा जति अंग्रेजी गीतका क्यासेट चक्काहरू ल्याएको थिएँ। नेपालमा नपाइने ती गीत सुनाउन थालेपछि साथीहरू नजिकिन थाले,’ उनले भने।

संगीतमा टर्निङ प्वाइन्ट

प्लस टुमा साइन्स विषय रोजेर क्याम्पियन एकेडेमी पुगेपछि आफ्नो संगीतप्रतिको रुचिलाई खुलेर बाहिर ल्याउन सके उनले। उनी कलेजकै पहिलो विद्यार्थी अध्यक्ष पनि भए। त्यही जिम्मेवारीले अरुलाई प्रोत्साहित गर्ने जिम्मेवारी पनि बढ्यो।

हरेक कार्यक्रममा नाच्न–गाउन उनी नै अग्रपंक्तिमा हुन्थे। यही समयमा उनले अरु ३ जना साथीहरूसँग मिलेर र्यापर युनियन समूह बनाएर आफ्नो जीवनमा हिपहप संगीतको शिलान्यास गरे। कलेज पढ्दैताका सन् १९९८ मा इमेज एफएममा आरजेका रूपमा कार्यक्रम चलाउन थाले। 

त्यो बेला इमेज एफएम बल्ल सुरु भएको थियो। उनले हरेक शुक्रबार हिपहप संगीतसम्बन्धी नै कार्यक्रम रोजे। नेपाली रेडियोहरूमा हिपहप संगीत बज्दैनथ्यो। उनले हिपहपकै कार्यक्रम सुरु गरेर रहर पनि मेटे। अनि नेपाली माटोमा नौलो संगीत भिजाउन पनि थाले। 

भर्खर समाजले स्वतन्त्रताको अनुभव गर्दै थियो। बहुदलीय व्यवस्थाले पखेटा हाल्दाहाल्दै सशस्त्र द्वन्द्व सुरु भयो। यसले युवामाझ फ्रस्टेसन बढाउने नै भयो। उनले ‘ब्रिङ्गस दि हाउस डाउन’ गीत रेकर्ड गराए। त्यति बेला इमेज एफएम, कान्तिपुर एफएममा उनको यो गीत नम्बर वान चार्टमा पुगेको थियो। उनी विस्तारै युवा स्रोतामाझ परिचित हुँदै गए। उनका आफ्नै फ्यान फलोइङ बन्न थाल्यो। 

यही गीतको नामैबाट कार्यक्रमको नाम पनि राखे, जुन २२ वर्षसम्म चलिरहेको छ। २२ वर्षदेखि चलाइरहेको उनको यो कार्यक्रमका फ्यान सर्कलहरू उत्तिकै छन्। सोसल मिडिया, युट्युबको क्रेजले टेलिभिजन मोह घट्दै गएको माहोलमा उनको क्रेज उस्तै रहनु अचम्मै हो। 

उनका कार्यक्रमले हिपहपका नयाँ पुस्ता जन्माउँदै र हुर्काउँदै ल्यायो। नेपसाइडर, म्याडजोनहरू हिपहपमा आउन थाले। पछि र्यापर युनियन ग्रुप नै खुल्यो।

उनले फर यु अल नामक सिडी बजारमा ल्याए। बजार तात्यो। दोस्रो एल्बम निकाल्न कम्पनी लाइनमा बसेका थिए। ‘दि गेम मस्ट गो अन ’ नामक दोस्रो एल्बम बजारमा ल्याए। निर्णयको एल्बम नेपालको पहिलो अंग्रेजी हिपहप एल्बम मानिन्छ। अनि ‘ब्रिङ्ग दी हाउस डाउन’ नेपालकै पहिलो हिपहप कार्यक्रम बन्यो। 

तेस्रो एल्बमको नाम राखे, ‘नेपाली टच’। सशस्त्र द्वन्द्व बढ्दै थियो। नेपालमा बसेर केही हुन्न भन्ने नकारात्मक भाव बढ्दो थियो युवामा। चार जना थिए उनीहरू। साथीहरू विदेसिएपछि उनी एक्लै भए।

त्यसपछि उनले र्यापर युनियनको नाम छाडेर निर्णयको नामबाट एल्बम निकाल्न सुरु गरे। उनले ‘म नेपाली एनएसके स्टाइल’ नामक एल्बम निकाले। त्यही एल्बममा रहेको ‘म नेपाली, तिमी नेपाली’ गीतले उत्कृष्ट राष्ट्रिय गीतको पुरस्कार पायो। वाह हिपहपलाई राष्ट्रिय गीतको पुरस्कार। यस्तो पनि गीत हुन्छ भन्ने अवस्थाबाट अगाडि बढेर राष्ट्रिय गीतको पुरस्कार पाउने अवस्थासम्म आइपुग्दा उनी पुलकित हुने नै भए।

रातो टोपी अनि सेतो स्कार्फ

रातो टोपीसँग उनको गहिरो सम्बन्ध छ। सानैदेखि नै रातो टोपीप्रति उनको गज्जबको मोह थियो। पुराना एल्बम पल्टाउँदा पनि उनले रातै क्याप लगाएको देखिन्छ। बास्केटबल हेर्ने र खेल्न थालेपछि उनको मनपर्ने सिकागो बुल्स टिमको टोपी पनि रातै थियो। उनी त्यहीबाट रातो टोपीको फ्यान भएका हुन्। तर, सन् १९९९ देखि भने उनी जानेरै रातो क्यापलाई आफ्नो ड्रेस कोड बनाएर लगाउन थालेका हुन्। 

‘यो रगतको प्रतीक हो। यसले गरिब र धनी, कथित तल्लो र माथिल्लो वर्ग सबैको रगत एउटै हुन्छ भन्ने सन्देश दिन्छ,’ निर्णयले भने। 

देश र जनताका विषयमा गीत गाउने निर्णयले राज परिवारको हत्या र माओवादी द्वन्द्व सुरु भएपछि सेतो स्कार्फ लगाउन थालेका हुन्। शान्तिको प्रतीकको रूपमा सेतो स्कार्फ लगाउन थालेका उनले अहिले पनि स्कार्फलाई छोडेका छैनन्। ‘बन्दुकको अशान्ति हटे पनि मनमा शान्ति छैन’ भन्दै उनले भने, ‘जुन दिन देशमा शान्ति छाउँछ अनि यो सेतो स्कार्फ छाड्छु।’

तर, देश जसरी राजनीतिक दाउपेचमा जेलिँदै गइरहेको छ। उनले चाँडै सेतो स्कार्फ छाड्ने दिन आउने संकेत भने छैन।

उनी आफूले लगाउने ज्यानभन्दा ठूला लुगालाई ‘कम्फर्टेबल पहिरन’ भन्न रुचाउँछन्। हुन पनि हिपहपको विशेषता भन्नु नै कुनै विषयमा पनि सीमा नकोरिनु नै हो, जुन पोशाकमा आफूलाई सहज लाग्छ, त्यस्तै लगाउने हो। 

कम्मरभन्दा मुनि पाइन्ट लगाउनु हिपहप कल्चर नै हो। त्यस बेला जेलमा बस्दा काला जातिहरू दुब्लाउँदै जान्थे। त्यसकारण उनीहरूको शरीरभन्दा लुगाको आकार ठूलो हुन्थ्यो। पाइन्ट, कम्मरभन्दा तल हुन्थ्यो। पछि त्यही फेसन बन्यो। उनी पनि हिपहप गायक भएकाले त्यो फेसनलाई सुरुदेखि पछ्याउँदै आएका छन्।

हिपहप कतातिर ?
    

उनी अहिले नेपाली र्याप गीतमा बढी छाडापन र अश्लील शब्दहरू प्रयोग भइरहेको स्वीकार्छन्। र्याप गीतको मुख्य मर्म नै नबुझी छाडा बोल्दैमा र्याप हुन्छ भन्ने संस्कारलाई त्याग्ने बेला आइसकेको बताउँछन् उनी। भन्छन्, ‘सुरु भएको पीडा बोल्नलाई हो यो संगीत नै पीडा पोख्ने माध्यम हो।’ 

माघ ५, २०७७ सोमबार १८:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।