१० वर्षमा २७ करोड खर्च, सहिद स्मारक पार्क निर्माण सक्न अझै ४ वर्ष लाग्ने 

१० वर्षमा २७ करोड खर्च, सहिद स्मारक पार्क निर्माण सक्न अझै ४ वर्ष लाग्ने 

पार्क निर्माणको काम भने २०६८ सालबाटै सुरु भएको हो। तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयको अगुवाइमा गोकर्णमा ऐतिहासिक लोकतान्त्रिक आन्दोलनको सम्झनामा राष्ट्रिय सहिद तथा शान्ति स्मारक पार्क निमार्ण गर्ने घोषणा गरिएको थियो। 

पार्क २०७१ साल भित्रै निमार्ण सम्पन्न गरी सक्नु पर्ने गरी २०६८ सालबाट निमार्ण थालिएको थियो। निर्माण सुरु भएको १० वर्षमा निर्माणको काम जम्मा ७० प्रतिशत मात्रै भएको आयोजनाले नै स्वीकार गरेको छ । 

यसले नेपालको सबै भन्दा ठुलो सहिद स्मारक तथा शान्ति पार्क कछुवाको गतिमा निमार्ण भइरहेको प्रस्ट हुन्छ। पहिले शान्ति तथा पुनर्निर्माण मन्त्रालयको अगुवाइमा सुरु भएको काम अहिले शिक्षा मन्त्रालयले युनेस्कोसँग सम्झौता गरी पार्क निमार्ण कार्य अघि बढेको र अबको चार वर्ष पछि आयोजना सम्पन्न गर्ने यज्ञडोल सामुदायिक वन तथा आयोजनाका प्रमुख सुदर्शन सिग्देलले बताए । 

२०७४ सालमा शान्ति मन्त्रालय नै खारेज भएपछि यो पार्क निमार्ण आयोजना कसले हेर्ने भन्ने निकाय नै भएन। त्यसपछि गोकर्ण जङ्गल सामुदायिक वन मातहतमा ल्याएर आयोजना सहरी तथा भवन निमार्ण आयोजनामा स्थानान्तरण गरिएको उनले बताए। 

सिग्देलकै शब्दमा आयोजना निर्माण सम्पन्न हुन अझै ४ वर्ष लाग्नेछ । आयोजना प्रमुख सिग्देल निर्माणको काम तोकिएको समयमा नसकिनुमा देशको राजनीतिक अस्थिरतालाई देखाउँछन्। नेपालमा विभिन्न राजनीतिक परिवर्तन भइरहँदा विकासका आयोजनामा पनि असर परेकाले तोकिएको समय भित्र निमार्ण गर्न नसकोको सिग्देल बताउँछन्। 

ठेकेदारको लापरबाही, बढ्दो निमार्ण सामाग्रीको लागत लगायत विभिन्न कारण देखाउँदै आयोजना धकेलिँदै गएको निमार्ण पक्ष बताउँछ। पुरानो भुक्तानी दिनु पर्ने र बाँकी काम सोही भवन निमार्ण आयोजनाबाट काम हुने उनले बताए। 

अहिले विभिन्न सङ्घ, संस्था, शिक्षा मन्त्रालय, युनेस्कोसँगको साझेदारीमा काम भइरहेको छ, उनले भने, ‘यस आयोगको विधान र हाम्रो कार्ययोजनाको विधान करिब ९० प्रतिशत मेल खाने छ। यो शान्तिसँगको कुरा होस्, संस्कृतिसँगको कुरा होस्। अहिले हामीले जे जे काम गर्दैछौ। त्यो सबे युनेस्कोसँग मिलेर गरिरहेका छौ, यो सम्झौता भएको करिब ४ महिना जति भयो। अब हामीले नयाँ ढङ्गले काम अगाडि बढाउने छौ। अब चार वर्ष भित्र काम सकिन्छ।’ 

गोकर्णेश्वर नगरपालिका ४ स्थित यज्ञडोल (जगडोल) डाँडामा ६ सय ५० रोपनी जग्गामा पार्क फैलिएको छ। जस अन्तरगत पिकनिक स्पोर्ट, भिडियो सुटिङ, सङ्ग्रहालय ग्राम आदि निमार्ण भइरहेको छ। 

त्यस्तै राष्ट्रिय सहिद तथा शान्ति पार्क व्यवस्थापन समितिका सदस्य ईश्वर चालिसेका अनुसार हाल सहिद पार्कको ३० प्रतिशत मात्रै निर्माणको काम बाँकी छ। हामीले सहिद स्मृति पार्क बनाउँछु भनेर मात्र हुँदैन, उनले भने, ‘त्यसै अनुसारको दक्ष जनशक्ति पनि चाहिन्छ। अनि सरकारले बजेट विनियोजन गरेर मात्र पनि हुँदैन, ठेकेदारले पनि त्यसै अनुसारका काम गर्नु प¥यो नि।’

दोस्रो जनआन्दोलनको अभिलेख राख्न, सहिदलाई श्रद्धा व्यक्त गर्न सहित भएका निजामती कर्मचारी, दुर्घटनामा निधन भएका वनविज्ञको स्मरण गर्न, शान्ति तथा एकताको सन्देश दिन पार्क निर्माण भइरहेको उनले बताए।

अहिले पार्कको प्रवेश शुल्क १० रुपैंया तोकिएको छ। जसबाट सङ्कलन भएको रकम ५० प्रतिशत सरकालाई र ५० प्रतिशत रकम त्यही पार्कमा काम गर्ने कर्मचारीको लागि खर्च गरिएको प्रमुख सिग्देलले बताए। कोभिडको बेलामा बन्द भएको पार्कमा अहिले दिनहुँ जस्तै आन्तरिक पर्यटक अवलोकनका लागि जान थालेका छन्। बिहान १० बजे देखि बेलुका ४ सम्म पार्कमा प्रवेश गर्न पाइन्छ। 

 

माघ ५, २०७७ सोमबार १३:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।