विच्छिप्त मनको अध्ययन
मलाई धेरै साथी, स्टमित्र, आफन्तले विच्छिप्त मनसँग खेल्दा, जुध्दा, निराश भएका बिरामीको सेवा गर्दा पारिवारिक जीवनमा असर पर्दैन भन्दै जिज्ञासा राख्नुहुन्छ।
मान्छे डाक्टर, इन्जिनियर जेभएपनि सबैभन्दा पहिला त मान्छे हो। उसमा पनि भावना हुन्छ, सोच हुन्छ।
बिरामीको फिलिङ्ले प्रभावित हुँदैनौँ भन्न सकिँदैन। तर, प्रोफेसनल (व्यावसायिक) हिसाबले लिन नै कोसिस गरिन्छ। अस्पतालमा आएका बिरामीका मनका कुराहरू त्यहीँ सेटल गर्न कोसिस गरिन्छ।
त्यसो त मनोचिकित्सकलाई पनि मानसिक रोगीकै रूपमा हेर्ने गरेको समेत पाइन्छ। मनोचिकित्सकलाई मानसिक रोगी भन्नु हुँदैन। बिरामीका समस्या र समस्या समाधानका विषयको ज्ञान हुने भएकाले मनोचिकित्सकले मनोसमस्याबाट प्रभावित नहुने उपाय अपनाउन अझ बढी सहज हुन्छ।
कतिपयले मनोचिकित्सकले बढी आत्महत्या गर्छन् भनेको समेत सुनिन्छ। मनोचिकित्सकमा आत्महत्याको दर उच्च छ भन्ने सही हैन। प्रोटेक्टिभ फ्याक्टरको बारेमा मनोचिकित्सकलाई बढी जानकारी हुने भएकाले यस्तो घटना बरु न्यून हुन्छ।
केही वर्ष अघिको कुरा गर्ने हो भने त मनोरोगी र मनोचिकित्सकलाई हेर्ने दृष्टिकोण एउटै नै थियो। अहिले पनि धेरै परिवर्तन त भएको छैन। नराम्रो भाषामा भन्नुपर्दा पागलेको डाक्टर भनिन्थ्यो। जुन शब्द प्रयोग गरिनु नै हुँदैन। केही समय यता भने मनोचिकित्सक अत्यावश्यक जनशक्ति रहेछ भन्ने बुझ्न थालिएको छ।
फ्रेण्डलिस्टबाटै हटाए
एक वर्ष अगाडीको कुरा हो। एक जना इन्डियामा बसेर पढ्ने बिरामी हुनुहुन्थ्यो। नेपाल आएर मसँग मनोपरामर्श लिनुभयो। फेसबुकमा एड गर्नु भयो। फेसबुकमा मेरो नाम देखेपछि उहाँलाई साथीहरूले मानसिक रोगको डाक्टर तिम्रो मित्र रहेछ भनेर हाँसिमजाक गरेछन्। त्यपछि उहाँले फोन गरेर दुःखका साथ भन्नुभयो,– डाक्टर शाव तपाईँलाई फ्रेण्डलिस्टबाट हटाउँदैछुहै ! र, हटाउनुभयो । मैले सामान्य रूपमा लिएर हुन्छ भनेँ ।
धन्यवाद पाए
एउटा चिकित्सकलाई बिरामी ठिक भएर घरफर्कंदा अवश्य आनन्द मिल्छ। मेरा पनि कयौँ त्यस्ता रमाइला क्षण छन्। चार वर्ष अगाडीको कुरा हो। भोजपुरकी ३५ वर्षकी महिला १७ वर्षदेखि गाइ गोरुसँगै दाम्लामा बाँधिएर बसेकी रहिछन्।
विवाह गरे पनि रोगको कारण श्रीमानले छोडेका रहेछन्। त्यसपछि माइतीले पनि गोठमा बाँधेर राखेका रहेछन्। ती महिलालाई एउटा संस्थाले उद्धार गरेर अस्पताल ल्यायो। उनलाई सिजोफ्रेनिया जस्तो कडा किसिमको मानसिक रोगको समस्या थियो।
दुई महिना अस्पताल भर्ना गरेर उपचार गर्दा उनी पूर्णरुपमा ठिक भइन्। दुई महिनापछि तपाइ हामी जस्तै समान्य भएर घर फर्किन्। उनले घर गएको ३÷४ महिनापछि फोन गरिन्। तपाईँको उपचारको कारणले म गरिखान सक्ने भएँ भन्दै धन्यवाद दिइन्। एक जना विच्छिप्त बिरामी ठिक भएर फोन गर्दा मलाई असाध्यै खुसी लाग्यो। त्यो बिर्सनै नसक्ने क्षण हो।
आफ्नै कर्मचारीले गरे आत्महत्या
कहिलेकाहीँ दुखद घटना पनि हुन्छन्। एक वर्ष पनि भएको छैन जस्तो लाग्छ। मेरै कार्यालयमा सुब्बा पदमा कार्यरत कर्मचारी हुनुहुन्थ्यो। उहाँको रिटायर्ड हुने बेला भएको थियो। करिब ५६ वर्षको हुनुहुन्थ्यो। उहाँ डिप्रेसनको समस्या भएर उपचाररत हुनुहुन्थ्यो। पछि सरुवा भएर अन्य कार्यालयमा जानुभयो। उहाँ अख्तियारमा पर्नुभएछ (भ्रष्टाचारको मुद्दा लाग्यो)। त्यसपछि उहाँ यति विचलित हुनुभएछ कि,–हाम्रो औषधिले समेत काम गरेनछ। र, उहाँले आत्महत्या गर्नु भएछ ।
उहाँको उपचार मैले नै गरेको थिएँ। आफ्नै कार्यालयका कर्मचारी र मेरै बिरामीको मृत्यु हुँदा मलाई पीडा भयो । यो घटना मेरो असफलता पो हो कि भन्ने पनि लाग्यो ।
उपचार नगरेको खण्डमा मानसिक रोगीले आत्महत्या गर्ने सम्भावना धेरै हुन्छ। अहिलेसम्म मैले उपचार गरेकामध्ये ४÷५ जनाले आत्महत्या गरेको सुनेको छु। यस्तो सुन्दा मलाई निक्कै पीडा हुन्छ।
पूर्ण ठिक हुन्छ
मानसिक रोग पनि अरू रोग जस्तै हो। समयमै उपचार पाए अधिकांश मनोरोग पूर्णरुपमा ठिक हुन्छ। बाईपोलार डिसअर्डर, क्रोनिक किसिमको साइकोसिस जस्ता कतिपय कडा किसिमका मानसिक रोगमा भने जीवनभर औषधी उपचार गर्नुपर्ने हुन सक्छ।
शिक्षक बन्ने धोको, साहित्यमा रुचि
मनोचिकित्सक नभएको भए शिक्षक बन्थेँ। मेरो त शिक्षक बन्ने धोको थियो। अहिले पनि त्यो धोको पूरा भएको छैन। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको मनोचिकित्सक विभागमा फ्याकल्टी डाक्टरका रूपमा छु।
म साहित्य प्रेमी पनि छु। कहिलेकाहीँ कविता लेख्न खुब मन पर्छ। साहित्यमा डुब्छु। यसले आनन्द मिल्छ।
जागिर यात्रा र सिजोफ्रेनियाको अध्ययन
वि.सं. २०६० सालमा त्रिवि शिक्षण अस्पतालको बाल रोग विभागमा मेडिकल अफिसरका रूपमा करार जागिरे भएर करिब आठ महिना बिताइयो।
एउटा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था (आइ एनजिओ) ले मासिक ४० हजार दिनेगरि जागिरको अफर गर्यो। त्यसपछि करारको जागिर छोडेर दोलखा जिल्लाको जिरिस्थित जिरेल वस्तिमा सिजोफ्रेनिया मानसिक रोगको अध्ययन गर्ने जागिर खाएँ।
त्यहाँ २०६० को अन्त्यदेखि २०६२ सम्म काम गरेँ। यो कामले आर्थिक तनाव कम भयो । बौद्धिकतामा पनि केही निखारता आएको महसुस भयो।
मनोरोगीहरूसँगको मेरो साक्षात्कार अलि अगाडी देखिनै थियो। जिरीको जिरेल समुदायमा सिजोफ्रेनियाको बारेमा अध्ययन गरेको थिएँ। त्यसैले सिजोफ्रेनिया कस्तो हुन्छ? डिप्रेसनका बिरामीको व्यवहार कस्तो देखिन्छ। उनीहरूलाई समाजले कसरी व्यवहार गर्छन् र चिकित्सकको भूमिका कस्तो हुनुपर्छ भन्ने केही ज्ञान थियो।
र, तीन वर्षसम्म नेपालको राम्रो इन्स्टिच्यूडमा एमडी गर्न पाएको हिसाबले पनि मेन्टल हेल्थको क्षेत्रमा भिज्न सहज भैसकेको थियो। जिरीमा बिहानैदेखि अल्कोहल सेवन गरेको पाइएको थियो। त्यसले पनि मानसिक स्वास्थ्यमा असर परेको देखिएको थियो।
त्यसपछि वि.सं. २०६२ मा नै काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा सेवा गरेँ। र,त्यहाँको करारको जागिर छाडेर केही महिना काठमाडौँ फर्पिङकोमनमोहन सामुदायिक अस्पतालमा सेवा गरेँ।
फर्पिङको जागिरपछि भने लोकसेवा पासगरीवि.सं. २०६३ सालबाट मेडिकल अधिकृतका रूपमा सरकारी स्थायी जागिरको यात्रा सुरु भयो।
हामी मध्यम वर्गीयलाई सरकारी जागिर स्थायी आधारजस्तो हुँदो रहेछ। सरकारी जागिरे भए पनि सुरुमा आफ्नै जिल्लाको ‘पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र’ पोस्टिङ भएँ।
पोस्टिङको पनि रोचक प्रसङ्ग छ। सबैको पोस्टिङ भैसकेको थियो। एक जना उपसचिवले सबैको पोष्टिङसकिसक्यो तपाईँको कहाँ बनाउने भनेर सोध्नुभयो। त्यसपछि मेरो नागरिकता हेर्दा काभ्रे देख्नुभयो। पाँचखालमा खाली रहेछ। त्यसपछि त्यहीँ पोस्टिङ भयो।
त्यहाँ करिब अढाई वर्ष सेवा गरेँ ।त्यो बेला हेल्थ पोस्टमा खासै सुविधा थिएन।
विच्छिप्त मनको अध्ययन
जागिर सँगसँगै थप अध्ययन पनि अगाडी बढाउँदै गएँ। सरकारी कोटामैमनोचिकित्सा विषयमा एमडी गरेको हो। वि.सं. २०६६ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडीका लागि भर्ना भएँ। र,वि.सं. २०६९ मा तीन वर्षे स्नातकोत्तर तह(एमडी)को अध्ययन पूरा गरेँ।
अन्य चिकित्सकीय विधाको तुलनामा आर्थिक लाभ कम मिल्नेभएपनि व्यक्तिको मन, भावना बुझ्न र पढ्न पाइने भएकाले यो विषय रोजेको हो। यसमा म सन्तुष्ट पनि छु।
एमडी गरे लगत्तै ललितपुरस्थित लगनखेलको मानसिक अस्पतालमा पदस्थापन भयो। त्यसपछि म यहीँ सेवारत छु। अस्पतालमावि.सं. २०७२ देखि प्रमुख कन्सल्ट्यान्ट साइक्याट्रिस्टका रूपमा सेवारत छु।
मानसिक अस्पतालमा पुग्दा अन्य क्षेत्रमा निको हुन नसकेका कयौँ बिरामी रिफर भएर आउँथे । कडा किसिमका मानसिक रोगीहरू आउँथे। विच्छिप्त भएका, औषधिले नछोएका, आर्थिक विपन्नताले औषधी खान नसक्ने बिरामी देख्दा सुरुसुरुमा नरमाइलो लाग्थ्यो। मन कुँडिन्थ्यो।
सय रुपैयाँको औषधि किन्नसम्म नसक्ने बिरामीलाई कयौँ पटक त औषधी किन्ने, चिया–डुनौट खाने पैसा पनि दिएको छु।
सधैँ पैसा दिन सम्भव हुने कुरा भएन। नेपाल सरकारको छात्रवृत्तिमा एमडी पढ्न पाउनु सार्थक पनि रह्यो। किनकि मेरो बुवा आमाले लगानी गरेर पढाउनुपरेको भए लगानी उठाउनुपर्ने हुन्थ्यो। बिरामीसँग प्रत्यक्ष–अप्रत्यक्ष रूपमा एक्सपेक्ट गरिन्थ्यो होला। तर, मेरो पढाइखर्च उठाउनुपर्ने बाध्यता नभएकाले पनि सहज छ।
खुसीको सिमानै थिएन
बाल्यकालदेखि एमबिबिएस र नर्वदासँग लगनगाँठो कसिदासम्मको चर्चा गर्न मन लाग्यो।मेरो जन्म काभ्रेपलान्चोक पनौती नगरपालिका–२, कुशादेवीमा भएको हो। पाँच जना दिदीबहिनीको म एक्लो भाइ।
बुवा पुरेत्याइँ गर्नुहुन्थ्यो। त्यसले पढ्ने राम्रो पारिवारिक वातावरण मिल्यो। आफ्नै गाउँमा रहेको कुशादेवी माविबाट वि.सं. २०४६ सालमा एसएलसी गरेँ।
एसएलसी दिएकै वर्ष काठमाण्डौं आएर महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थानमा प्रवीणता प्रमाणपत्र तहको फार्मेसी अध्ययनको छनौट गरेँ । वि.सं.२०५० सालमा तीन वर्षे फार्मेसी उर्तीण भएँ ।
त्यसपछि त्रिवि शिक्षण अस्पतालमै केही महिना फार्मेसी सहायक तहमा काम गरेँ। त्यसपछि वि.सं.२०५३ सालसम्म पाटन अस्पतालमा फार्मेसी टेक्निसियनका रूपमा सेवा गरेँ । पाटन अस्पतालको जागिर छोडेपछि वनस्पति विभागको वनस्पति प्रयोगशालामा केही महिना ल्याब टेक्निसियन भएर पनि काम गर्ने अवसर मिल्यो।
अध्ययनको भोक मरेकै थिएन। त्यसैले चिकित्सा शास्त्र अध्ययन संस्थानमा वि.सं. २०५४ सालमा एमबिबिएस अध्ययनका लागि भर्ना भएँ।
वि. सं. २०५९ सालमा पाँच वर्षे एमबिबिएस उर्तीण हुँदाको क्षणको कुरै छाडौँ। खुसीको सिमानै थिएन।
एमबीबीएस् उर्तीण भएकै वर्ष नर्वदा खनालसँग वैवाहिक यात्रामा गाँसिएँ। र, उनीसँगको यात्रा सुरु भयो। उनी (नर्वदा) पनि स्वास्थ्यकर्मी नै हुन्। अहिले नेपाली सेनाको मेजर प्राविधिक ‘नर्स’ पदमा सेवारत छन्। चौध वर्षकी अनु र दश वर्षकी आभाश्री हाम्रा दुई छोरी छन्।
हामी दुवै जना बिहान पाँच बजे नै घडीमा आर्लम लगाएर उँठ्छौं। अनि दुवै जना भान्सामा छिरेर खाना बनाउँछौँ। छोरीहरूलाई स्कुल पठाएर अफिस लाग्छौँ। बेलुका भने फर्कन ढिला हुन्छ। त्यसैले बेलुका बुवा आमाले छोरीहरूलाई खानपानको व्यवस्था मिलाउनुहुन्छ।
लेखक : मानसिक अस्पताल लगनखेलका प्रमुख कन्सल्ट्यान्ट साइक्याट्रिस्ट हुन
माघ ३, २०७७ शनिबार ०७:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।