एमसीसीबारे छिटो टुङ्गो नलगाए ऊर्जा क्षेत्रमा समस्या आउँछ : मन्त्री रायमाझी
रिपोर्टर्स क्लब लुम्बिनीले बुटवलमा गरेको कार्यक्रममा मन्त्री रायमाझीले बहुचर्चित एमसीसी परियोजनाबारे निर्णय गर्न रत्तिभर ढिलाइ गर्न नहुने भन्दै एमसीसी पास गर्ने वा खारेज गर्ने भन्ने बारेमा तत्काल निर्णयमा नपुगे ऊर्जा क्षेत्रमा ठुलो समस्या आउने बताए ।
एमसीसीबारे आफू घनिभूत छलफलमा रहेको मन्त्री रायमाझीको भनाई छ । उनले यदि विदेशी सहयोग आवश्यक नरहे स्वदेशी लगानीमा भए पनि ट्रान्समिसन लाइन तत्काल निर्माण गर्नुपर्ने अन्यथा ऊर्जा क्षेत्रमा ओभर लोडको अवस्था सिर्जना भै अर्को सङ्कट उत्पन्न हुने तर्क गरेका छन्।
उनले नेपालमा आगामी वर्षसम्म ५ सय मेगावाट बिद्युत् आन्तरिक खपत भन्दा बढी उत्पादन हुने र सोको व्यवस्थापनका लागि ट्रान्समिसन लाइन आवश्यक रहेको बताए।
मुलुकमा लोडसेडिङ अन्त्य गर्ने कार्य योजना आफ्नै रहेको दाबी गर्दै मन्त्री रायमाझीले २०७२ मा ऊर्जा सङ्कट हटाउन ९९ बुँदे कार्य योजना आफूले तयार गरेको बताए । कुलमान घिसिङलाई आफूले प्रोत्साहन गरेको समेत उल्लेख गर्दै लोडसेडिङ अन्त्य गर्ने कामको जस अरूले लिएको उनले सुनाए । मन्त्री रायमाझीले भने—अव उत्पादन हुने बिद्युत् खपत गर्न तुरुन्त नयाँ उपाय खोज्नु पर्ने कुरामा हामी तत्काल गम्भीर हुनुपर्छ।
मन्त्री रायमाझीले नेकपा भित्रकै विवादका कारण प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको दोहोर्याए। प्रधानमन्त्रीले राजनीतिक अस्थिरताको विकल्पका रूपमा चुनाव रोजेको भन्दै सबैलाई चुनावमा होमिन उनले आग्रह गरे। राजनीतिमा सबै विकल्प र सम्भावनाका ढोका खुला रहने उल्लेख गर्दै रायमाझीले भोलि पार्टी एकता नहोला भन्न नसकिने बताए।
माघ २, २०७७ शुक्रबार २०:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।