तरकारी खेतीमा सुब्बासा’ब
त्यसपछि उनी बिहानको ९ नबजुन्जेल करेसाबारीमा तरकारी गोडमेल र स्याहारमा खटिन्छन्। अहिले भने उनलाई तरकारी बेच्न भ्याइनभ्याइ छ। कारण हो– तरकारीको सिजन सुरु हुनु। करेसाबारीबाट टिपेर ल्याएका तरकारी किन्न उनको घरमै व्यापारी आउने गरेका छन्।
उनी अर्थात् वीरेन्द्रनगर–४ का यामलाल गिरीको बिहानको दिनचर्या हो यो। उनको परिचय कृषकका रूपमा मात्रै सीमित छैन। उनी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका नायब सुब्बासमेत हुन्।
बिहानको ९ बजे कार्यालय हिँडेपछि उनी दिनभर कार्यालयकै काममा व्यस्त हुन्छन्। र, बेलुका घर फर्किएपछि पुनः कृषि–कर्ममै खटिन्छन्।
पछिल्लो समय उनको दिनचर्या जागिरसँगै कृषि–कर्ममा बितिरहेको छ।
त्यसो त कृषि–कर्ममा रमाएका पनि छन् उनी। ‘कृषिमा लागेर खाली समय पनि सदुपयोग भइरहेको छ,’ उनी भन्छन्।
उनी तरकारी खेतीलाई बाँचुन्जेलको ‘जागिर’ भन्न रुचाउँछन्।
‘सरकारी जागिर समाजमा इज्जत धान्ने बाटो हो। तरकारी खेती परिवार पाल्ने आधार,’ उनी प्रष्ट्याउँछन्।
उसो त उनी जागिरभन्दा कृषिबाटै तेब्बर आम्दानी पनि गर्छन्। ‘कृषिबाट मासिक एक लाखसम्म आम्दानी हुन्छ,’ गिरी भन्छन्, ‘तर, यसमा परिवारका सबै सदस्यहरूको मेहेनत छ।’
तरकारी राम्रो उत्पादन गर्न सके सरकारी जागिर नभए पनि जीवनयापन गर्न सकिने उनको भनाइ छ।
उनले तरकारी खेती थालेपछि श्रीमती रम्बा पन्त गिरीले जागिर गर्न पाइनन्। ‘जागिर खाएपछि जहाँ खटायो त्यही जानुपथ्र्याे, यहाँ घरमै बसेर राम्रो आम्दानी भएको छ,’ गिरीले तर्क गर्छन्, ‘पैसा कमाउन जागिर होइन, जाँगर चाहिँदो रहेछ।’
उनले तरकारीमा जैविक मल हाल्नका लागि घरमा लोकल जातका ३ वटा गाईसमेत पालेका छन्।
तरकारी र दुध बिक्री गर्न गिरीलाई बजार जानुपरेको छैन। ‘सरकारी कर्मचारी र डोके व्यापारीहरू घरमै आएर तरकारी लैजाने गरेका छन्। दुध पनि छिमेकीहरूले किन्छन्,’ उनी भन्छन्, ‘घरबाटै तरकारी बिक्री हुँदा ढुवानी खर्च बचेको छ।’
गाईको गोबरमल र गहुँत तरकारी खेतीमा प्रयोग गर्छन् उनी। ‘तरकारी खेती गाईको गोबरमल र गहुँत सबैभन्दा राम्रो हुने थाहा पाएपछि गाईपालन सुरु गरेको हुँ,’ उनी सुनाउँछन्।
तरकारी खेतीमा घरमै उत्पादित जैविक मल राखेपछि रासायनिक मलको आवश्यकता नपर्ने उनको भनाइ छ। तरकारी खेतीमा जैविक मलको प्रयोग मानव–स्वास्थ्यका लागि लाभदायक रहेको उनी बताउँछन्।
उनले पाँच कठ्ठा जमिनमा ७ लाख रूपैयाँ लगानी गरिएको बेमौसमी तरकारी खेती गरेका छन्। यस्तै, १० लाख रूपैयाँ लगानी गरिएको गाईपालन पनि गरेका छन्।
‘अन्य खेतीपाती गर्दा पाँच कठ्ठा जमिनमा ६ महिना खान पुग्थेन्,’ गिरी भन्छन्, ‘तरकारी खेती गरेदेखि र गाईपालनबाट लाखौं आम्दानी भएको छ।’
घर खर्च र लगानी कटाएर वार्षिक ८-१० लाख रूपैयाँ बचत गर्ने गरेको उनको भनाइ छ।
उनले कान्छी छोरी प्रिसिलालाई आइएससिएजी पढाएका छन्। ‘कृषिमा सम्भावना देखेर नै छोरीलाई आइएससिएजी पढाएको हुँ,’ उनी सुनाउँछन्।
छोरीले कृषि पढाइले उनी दंग छन्। ‘छोरीले कलेजमा सैद्धान्तिक कुरा सिक्छिन्, घरमा प्राक्टिकल (अभ्यास) गर्छिन्,’ उनी भन्छन्।
छोरीले कृषि पढ्न थालेपछि तरकारी खेती गर्न सहज भएको उनको भनाइ छ। ‘पहिले युट्युब हेरेर खेती गर्ने तरिका सिक्थें। अहिले छोरीले नै सिकाउँछिन्,’ गिरी भन्छन्, ‘सबै युवाले व्यावहारिक शिक्षा पढेको भए स्नातकोत्तर (डिग्री) गरेर पनि विदेश जानु पर्दैनथ्यो।’
उनी कर्मचारीलाई पनि खाली समयमा तरकारी खेती गर्न सुझाउँछन्। कार्यालयपछिको समय सदुपयोग गर्न सके कर्मचारीले पनि आफैले उत्पादन गरेको तरकारी खान सक्ने उनको भनाइ छ।
‘कौशीमै आफूलाई खान पुग्ने तरकारी फलाउन सकिन्छ,’ उनी भन्छन्, ‘तर, यसका लागि जाँगर चाहिन्छ। जाँगर भए न बजारबाट तरकारी किनेर खानुपर्छ न त रोजगारीका लागि विदेश जानुपर्छ।’
उनी कृषि–कर्ममा जीवनभर लागिरहने बताउँछन्। ‘अवकासपछिको जीवन त यसमै पूर्णरूपले समर्पित हुनेछु,’ उनले योजना सुनाए।
माघ २, २०७७ शुक्रबार १८:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।