दाहाल–नेपालसँगको भेटबारे देउवाको दाबी 'अदालतबारे म नि बोल्दिन तपाईँहरू नि नबोल्नुस् भने'

दाहाल–नेपालसँगको भेटबारे देउवाको दाबी 'अदालतबारे म नि बोल्दिन तपाईँहरू नि नबोल्नुस् भने'

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीले अदालतलाई सडकबाट नधम्क्याउने बताएका छन्। पर्वत शङ्कर पोखरीमा आयोजित हरिदत्त तिवारीको १८ औँ स्मृति सभामा बोल्दै उनले भने‘ अदालतमा विचाराधीन मुद्दामा यो गर ऊ गर भन्न मिल्दैन। हाम्रो पार्टीले अदालतलाई धम्क्याउने र तर्साउने काम गर्दैन।’

उनले  अदालतले विवेक प्रयोग गर्नेमा आफ्नो विश्वास रहेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा निर्वाचन गराउँछन् भन्नेमा भने विश्वास नभएको बताएका थिए। चुनाव पनि नगराउने अनि प्रतिनिधि सभा पनि खोस्ने डर रहेको उनले खुलाए।

 उनले भने, सर्वोच्चमा विचाराधीन मुद्दामा ‘पार्टीले यो गर ऊ गर भन्दैन।’

दाहाल–नेपाल भेट्न आएको स्वीकार

देउवाले नेकपाका दाहाल–नेपाल समूहका दुई नेता पुष्पकमल दाहाल र माधव नेपाल आफूसँग भेट्न आएको सार्वजनिक गरे।

यस अगाडि उनीहरूबिच गोप्य भेट भएको र आन्दोलनमा साथ दिए आगामी सरकारको नेतृत्वको जिम्मेवारी दिने दाहाल र नेपालले प्रस्ताव गरेको सार्वजनिक भएको थियो।

देउवाले दुवै नेता भेट्न आएको तर आफूले अदालतमा विचाराधीन मुद्दामा हामी बोल्दैनौँ, तपाईँहरू पनि नबोल्नुस् भनेको दाबी गरे। अन्य प्रस्तावबारे भने उनले खुलाएनन्।

 

माघ १, २०७७ बिहीबार २०:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।