सरकारी दाबी नपत्याउनू, कोरोना संक्रमणबाट ज्यान गुमाउने घटेका छैनन्

सरकारी दाबी नपत्याउनू, कोरोना संक्रमणबाट ज्यान गुमाउने घटेका छैनन्

काठमाडौं : नेपालमा बढेको चहलपहल देख्दा लाग्न सक्छ– अब कोरोना भाइरस (कोभिड १९) संक्रमणको डर छैन। अन्य देशको अवस्था पनि यस्तै हो। तर, अवस्था त्यस्तो छैन।

कोरोना भाइरसविरुद्ध खोपसमेत प्रचलनमा ल्याएको देशहरूमा समेत संक्रमण दर उस्तै छ। अनि कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरूको संख्या पनि। 

युरोप महादेशसँगै अमेरिका, भारतलगायत मुलुकमा त कोरोनाको तेस्रो लहर देखिन थालेको छ। कोरोनालाई पराजित गरेको मानिएको चीनमा समेत कोरोनाको कारण ज्यान गुमाउने क्रम सुरु भइसक्यो। बुधबार मात्र कोरोना संक्रमणबाट चीनमा एक जनाको ज्यान गयो।

विश्वका प्रमुख देशमा कोरोनाको संक्रमण दर र ज्यान गुमाउनेहरूको संख्या हेर्दा सामान्यतः हप्तामा ६ दिन मृत्युदर घटेझैं देखिने तर एक दिन भने ह्वात्तै उकालो लाग्ने गरेको देखियो। केही देश त लकडाउनको मोडालिटीमा फर्किसकेका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक डा.शेरबहादुर पुन कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरूको संख्या कम नदेखिएसम्म भाइरसको जोखिम उस्तै रहेको मानिने बताउँछन्। 

पुनको विश्लेषण अनुसार नेपाल कोरोना संक्रमणको दोस्रो लहरको जोखिमबाट मुक्त भइसकेको छैन। डा. पुनले भने, ‘नेपालमा ढिलो कोरोना देखिएकाले जाडोपछि पनि दोस्रो लहर नआउला भन्न सकिँदैन।’ 

घटेकै छैन मृत्यु

सन् २०१९ डिसेम्वरको अन्त्यमा चीनको वुहानबाट फैलिन सुरु भएको कोरोना भाइरसका कारण विश्वभर अहिलेसम्म १९ लाख ७० हजारभन्दा बढीको ज्यान गइसकेको छ। विश्वको आँकडा हेर्दा मृत्युदर २.१ प्रतिशत रहेको देखिन्छ।

सबैभन्दा धेरै संक्रमित भएको देश अमेरिकामा पछिल्लो २४ घन्टामा १ हजार ९ सय ५४ जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार नयाँ प्रकृतिको कोरोना भाइरस फैलिएको बेलायतमा उक्त अवधिमा १ हजार २ सय ४३ जनाको मृत्यु भएको छ। भारतमा पछिल्लो एक दिनमा मृत्यु हुनेको संख्या २ सयभन्दा बढी छ। 

नेपालको मृत्युदर उस्तै

नेपालकै तथ्यांक हेर्दा पनि मृत्युदर कम भएकै देखिँदैन। असोजमा नेपालमा ०.६ प्रतिशत मृत्युदर थियो भने अहिले ०.७३ प्रतिशत छ। सरकारी अधिकारी भने नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युदर घटिसकेको दाबी गर्छन्।  

त्यसो त सरकारले अहिले पिसिआर परीक्षण घटाएर चार हजार हाराहारीमा झारेको छ। 

कालो वर्ष २०२०

सन् २०२० को जनवरी १९ मा कोरोनाका कारण एक जनाको मृत्यु भएको थियो। त्यसपछि कोरोनाले विश्वव्यापी रूप लिँदै जाँदा संक्रमित हुने र मृत्यु हुनेको संख्या बढेको बढ्यै छ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सन् २०२० को मार्च १ मा ४७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाए। त्यसपछि मृत्युको ग्राफ लगातार बढ्न थाल्यो। 

अर्को महिनाको पहिलो दिन अप्रिल १ मा एकै दिनमा ४ हजार २ सय ७५ को मृत्युु भयो। त्यसको १६ दिनपछि अप्रिल १७ सम्म आइपुग्दा यो मृत्युदर ह्वात्तै बढ्यो।  

अप्रिल १७ मा एकै दिन १२ हजार ५ सय १० जनाको मृत्यु भयो। त्यसपछि मे २ सम्म मृत्यु संख्या घटेर ४÷५ हजार हाराहारीमा झरेको देखिन्छ। मे ३ मा भने फेरि मृत्युको ग्राफ बढेर ८ हजार ५ सय ३५ पुगेको देखिन्छ। 

जुलाई १३ सम्म सामान्य उतारचढाव देखिए पनि औसतमा पाँच हजार हाराहारी मृत्यु भएको थियो। तर, १० दिनपछि जुलाई २४ मा फेरि मृत्युको ग्राफ ह्वात्तै बढ्यो। यो दिन ९ हजार ७ सय १३ को मृत्यु भयो। त्यसपछि कोरोना संक्रमणबाट दैनिक ४ देखि ६ हजारको हाराहारीमा मृत्यु भएको देखिन्छ। 

अगस्त १४ सम्म यो संख्या घटेर ६ हजार हाराहारीमा सीमित भयो। अगस्त १५ मा भने एकै दिन १० हजार २२ जनाको मृत्यु भयो। त्यसपछि पनि कुनै दिन ८ हजार हाराहारी पुग्दै केही दिन मुत्युको संख्या ३/४ हजार हाराहारीमा अडिएको देखिन्छ।  

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार अक्टोबर मध्यदेखि निरन्तर मृत्युको ग्राफ उकालो लागेको देखिन्छ। तथ्यांक हेर्दा एक दिन ह्वात्तै मृत्युको ग्राफ बढ्ने अनि एक हप्तादेखि १५ दिनसम्म कम र स्थिर रहने गरेको देखियो।

सन् २०२१ पनि उस्तै

सन् २०२१ को जनवरी ९ को विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्दा एकै दिन १५ हजार ६ सय ५१ जनाको मृत्यु भएको देखिन्छ। दुई दिनपछि मृत्यु घटेर १० हजार ४ सय ९९ भए पनि १३ तारिखमा १२ हजार २ सय ९५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाए।

माघ १, २०७७ बिहीबार १९:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।