स्रष्टालाई देशको पहिचान दिन किन चुक्यौं ?

स्रष्टालाई देशको पहिचान दिन किन चुक्यौं ?

एरिक क्लाप्टनको १९६४ गिब्सन इ एस् ३३५ सन् २००४ मा ८ लाख ४७ हजार ५ सय डलरमा र क्लाप्टनकै अर्काे गितार ब्लाकियो स्ट्राटोक्यास्टर गितार सन् २००४ मै ९ लाख ५९ हजार ५ सय डलरमा बिक्री। 

(एरिक सन् १९४५ मा इंग्ल्याण्डमा जन्मेका गायक तथा संगीतकार हुन्। जो रक र ब्लुज संगीतका साधक हुन्।)

जर्ज ह्यारीसनको १९६४ जिब्सन गितार सन् २००४ मा ५ लाख ६७ हजार ५ सय डलरमा बिक्री। 

(जर्ज ह्यारीसन सन् १९४३ मा इंग्ल्याण्डमा जन्मेका रचनाकार, गायक तथा संगीतकार हुन्।)

माथिको पुराना गितारहरूको बिक्री मूल्य बजार भाउभन्दा निकै बढी हो। यसले कलाकारहरूको सांगीतिक इतिहासलाई गर्विलो बनाउँछ।

०००

मोजार्ट भन्नासाथ अस्ट्रिया र जोहन सावास्टियन बाख र विथोविन भन्नासाथ जर्मनको नाम आउँछ। 

यी त केही उदाहरणहरू मात्रै हुन्। विकसित देशमा स्रष्टालाई सम्मानसँगै देशको पहिचान बनाउने गरिएको छ। 

ती मुलुकहरूमा देशको इतिहास बचाउन सरकारी निकायदेखि आम नागरिकसम्म उत्तिकै जागरुक र सचेत देखिन्छ। 

त्यहाँका नागरिकमा इतिहास बाँचे मात्रै देशको अस्तित्व रहन्छ भन्ने सोच छ। त्यसैले १७ औं र १८ औं शताब्दीका यी संगीतज्ञहरूको संगीत आज पनि उत्तिकै बज्छ। र, सुनिन्छ पनि। 

भौतिकरूपमा जति नै विकास भए पनि देशको संस्कृति, रहनसहन, साहित्य, कला र संगीतले त्यहाँको अवस्था निर्धारण गरेको हुन्छ। तर, नेपालमा यसलाई त्यति महत्त्व दिइएको पाइँदैन। 

यहाँ पनि साहित्य, कला र संगीत क्षेत्रमा प्रतिभावान हस्तीहरू जन्मेका छन्। तर, ती स्रष्टाहरूको इतिहासलाई जिउँदै राख्नुपर्छ भन्ने सोच कमी छ। यही कारण इतिहासलाई कतिपयले अन्जानमा त कतिपय नियोजित ढंगले मेटाइरहेका छन्। र, हामी स्रष्टाहरूलाई देशको पहिचान दिन पछाडि परेका छौं। 

नेपाल भन्नासाथ सगरमाथा, बुद्घ, सीता र भृकुटीको देश भनेर मात्र गर्व गर्यौं। तर, अन्य स्रष्टालाई देशको पहिचान दिन चुक्यौं। हामी किन स्रष्टालाई देशको पहिचान दिन चुकिरहेका छौं त ?  

के हामीले महाकवि लक्ष्मीप्रसाद देवकोटा, वाद्य शिरोमणि गणेशलाल श्रेष्ठ, संगीत प्रवीण नरराज ढकाल, स्वर सम्राट नारायण गोपाल, साहित्यकारहरू बालकृष्ण सम, पारीजात, भूपी शेरचन, राष्ट्रकवि माधवप्रसाद घिमिरेलगायतको देश भनेर कहिले भनेका छौं ? 

पक्कै छैनौं । हामीले साधकलाई गर्वका रूपमा हेर्नुपर्छ भन्ने संस्कार नै विकास गर्न सकेनौं। 

युरोपमा मोजार्ट, वाख, विथोविन आदि संगीतज्ञलाई सयौं वर्षदेखि मेट्न दिइएन। 

यसको लागि देश र जनता उत्तिकै सचेत बन्नै पर्छ। यो नै राष्ट्रले कलाकारप्रति गरिने सम्मान हो। र, गर्व पनि। 

नेपालको थुप्रै स्रष्टाहरू छन्, जो वर्तमान समयमा गर्व गर्नलायक छन्। तर, ती स्रष्टाहरूलाई सम्मान, संरक्षण र गर्वको दृष्टिले हेर्ने संस्कार नै देखिएन। जबसम्म देशले स्रष्टा, कलाकारको प्रतिभाको सम्मान गर्नै आफ्नो परिपाटी बनाउँदैन। ऊ कमजोरै देखिन्छ र विदेशी हस्तक्षेप पनि बढ्न थाल्छ।

नेपालमा जन्मेर विदेशमा समेत धेरै प्रख्याती पाएका वाद्य शिरोमणि गणेशलाल श्रेष्ठलाई धेरैले चिन्न नै छाडिसकेका छन्। 

नेपाली शास्त्रीय संगीतको उत्थानको लागि उनको योगदानको चर्चा जति गरे पनि कमै हुन्छ। विद्यालयस्तरीय महेन्द्रमाला नेपाली किताबमा छोटो उनको जीवनी पढ्नुबाहेक उनको इतिहास नेपालमै हराउँदै गइसकेको छ। 

दुवै आखा नदेख्ने उनीजस्तो बाजा पनि छामछुम गरेर बजाउने खुबी राख्थे। उनका थुप्रै सांगीतिक रचनाहरू त्यतिबेला रेडियो नेपालको शास्त्रीय संगीत कार्यक्रमहरूमा बज्थे। तर, अहिले उनका सिर्जनाहरू संकलित अवस्थामा नहुनु, इतिहास मेटिँदै जानु दुर्भाग्यपूर्ण छ। उनी देशकै गर्व गर्ने पात्र हुन्। तर, यसमा सरकारले चासो देखाइरहेको छैन।  

बरु देशका प्रधानमन्त्री केपी शर्मा ओली आफूलाई भारतका हरेक व्यक्तिहरूले चिन्छन् भनेर गर्व गरेर भाषण गर्छन्। यहाँ त पदमा रहेका व्यक्तिहरू इतिहासको संरक्षणभन्दा आफै इतिहास बन्ने धुनमा तल्लीन छन्। यो देशको लागि ठूलै दुर्भाग्य हो। 

माघ १, २०७७ बिहीबार १२:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।