कुपोषणबाट जोगाउने माघीका खान्की
जनस्वास्थ्यविज्ञ डा. अरूणा उप्रेती माघे संक्रान्तिमा खाइने तरुल, घिउ, चाकु, लड्डु जस्ता परिकारमा शूक्ष्म पोषक तत्व पाइने बताउँछिन्। डा. उप्रेतीका अनुसार तरुलमा आइरन, फाइबर, क्याल्सियम, म्याग्नेसियम जस्ता तत्त्व पाइन्छन्। आइरनले गर्भवती महिला तथा बालबालिकाको स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ।
डा. उप्रेतीले भनिन्, ‘महिला तथा बालबालिकाहरूले सन्तुलितरूपमा तरुल खानाले कुपोषणबाट बच्न सकिन्छ।’
अफ्रिकन मुलुकमा त तरुलको पिठो बनाएर राखेर खाने चलनसमेत रहेको उनी बताउँछिन्।
शारीरिक मात्रै नभएर मानसिक दृष्टिले पनि माघे संक्रान्तिलाई मनमा ऊर्जा दिने पर्वका रूपमा लिन्छिन्, मनोविद् करुणा कुँवर। उनी भन्छिन्, ‘परिवार, आफन्त भेटघाट भएर रमाइलो गरी पर्व मनाउँदा मन शान्त हुन्छ। आनन्द मिल्छ।’
घिउ, चाकु, लड्डु जस्ता परिकारमा हुने प्रोटिन, कार्बोहाइड्रेड तथा शूक्ष्म पोषण तत्वले शरीरमा ऊर्जा दिन्छ।
डा. उप्रेतीका अनुसार चाकुमा आइरन, क्याल्सियम प्रशस्त मात्रामा पाइन्छ। तिलमा प्रशस्त क्याल्सियम, आइरन पाइन्छ। सखरखण्डमा प्रसस्त मात्रामा भिटामिन ‘ए’ पाइन्छ। यस्ता परिकार सन्तुलितरूपमा खानाले शरीरमा रोगप्रतिरोधात्मक क्षमताको वृद्धि हुन्छ।
शारीरिकरूपमा व्यक्ति मजबुत हुँदा मनमा पनि ऊर्जा मिल्ने मनोविद् कुँवर बताउँछिन्।
माघको चिसो मौसममा यस्ता परिकार खानाले शरीर न्यानो हुनुका साथै पेट पनि स्वस्थ हुने चिकित्सक बताउँछन्। माघे संक्रान्तिमा मात्रै हैन, अन्य समयमा पनि यस्ता परिकार खानाले कुपोषणको जोखिमबाट बच्न सकिने डा. उप्रेती बताउँछिन्। त्यसैले डा. उप्रेती बालबालिकालाई चकलेटको सट्टा चाकु खुवाउन सुझाउँछिन्।
मिठो परिकार खुसी मन
माघे संक्रान्तिमा भौगोलिक उपलब्धता तथा परम्परा अनुसार तरुल, पिडालु, तिलको लड्डु घ्यु, चाकु, फुरौला खाने चलन छ। नेवारी समुदायमा पालुंगोको साग पनि खाने परम्परा छ। नेवारी समुदायमा चाकु खाने दिनका रूपमा मनाइने यो पर्वलाई ‘हामो सँल्हू’का नामले समेत चिनिन्छ। तराई क्षेत्रमा चामल, भुजामा सखर हालेर डल्लो बनाएको परिकार खाने प्रचलन छ।
यो दिन तिलको तेल घस्ने, पितृलाई तिल चढाउने, लड्डु दान गर्ने जस्ता परम्परा रहेको संस्कृतिविद् बताउँछन्।
परिवार तथा आफन्त जम्मा भई खानपान गर्ने तथा नाचगान गर्नेसमेत चलन छ। मिठो परिकार खाई नाचगान गर्नाले तथा परिवारसँग रमाउनाले मनमा खुसी मिल्ने मनोविद् बताउँछन्।
त्यसैले तनाव कम गर्न पनि यो पर्व उपयोगी हुने मनोविद् कुँवरको तर्क छ।
मौसम परिवर्तनको पर्व
संस्कृतिविद्का अनुसार सौरमान माघ महिनामा प्रारम्भ हुने दिनलाई माघे संक्रान्ति भनिन्छ। संस्कृतिविद्का अनुसार यो दिन सूर्य वृश्चिक राशिबाट मकर राशिमा प्रवेश गर्छ, त्यसैले यो दिनलाई मकर संक्रान्ति भनिएको हो।
माघे सक्रान्तिकै दिन सूर्य दक्षिणायणको भोग समापन गरी उत्तरायणतर्फ प्रवेश गर्ने वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभागका सहप्राध्यापक डा. वासुदेव खनाल बताउँछन्।
डा. खनालले भने, ‘कर्कट संक्रान्तिमा सूर्य दक्षिणायण र मकर सक्रान्तिमा सूर्य उत्तरायण हुन्छन्।’
यसको अर्थ माघे संक्रान्तिको दिन सूर्य दक्षिणायणबाट उत्तरायणतर्फ लाग्छन्। यही दिनबाट हेमन्त ऋतुको अन्त्य भई शिशिर ऋतुको सुरुवात हुन्छ। जसले मौसम न्यानो हुँदै जान्छ। माघे संक्रान्तिमा सूर्य उत्तरायण हुने भएकाले दिन लामो हुन्छ।
ज्योतिष शास्त्र अनुसार माघे संक्रन्तिलाई सूर्यको संक्रमणका रूपमा लिइन्छ। सूर्य प्रत्येक महिना एक राशिबाट अर्काे राशिमा प्रवेश गर्छन्, जसले मौसम परिवर्तन हुन्छ।
पुण्यको पर्व
धर्म शास्त्रिय मान्यता अनुसार माघे संक्रान्तिलाई पुण्य दिनका रूपमा लिइन्छ।
प्राचीन समयमा माघे संक्रान्तिमा उपवास (ब्रत) बस्ने, तीर्थस्थल जाने, नाचगान गर्ने तथा रमाइलो गर्ने, खानपान गर्ने परम्परा थियो। धार्मिक पर्वका रूपमा मनाउन थालिएको माघे संक्रान्ति विस्तारै सांस्कृतिक पर्वका रुपमा मनाउन थालिएको डा. खनाल बताउँछन्।
वैदिक परम्परा अनुसार हिन्द महासागर र सिन्धु नदी क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूले यो पर्व मनाउँथे। पछि तिनै सिन्धुवासीलाई हिन्दूका नामले चिनिन थाल्यो। र, यो पर्व पनि हिन्दूको पर्वका रूपमा चिनिन थालिएको डा. खनाल बताउँछन्। त्यसैगरी, पर्वको दिन बिहानै नदी किनारामा गएर नुहाउने परम्परा छ।
संस्कृतिविद् डा. गोविन्द टण्डनका अनुसार थारू समुदायमा यो पर्वलाई माघी, माघ्या, सेल्र्हेस पर्वका रूपमा चिनिन्छ। नेपालका सर्वै क्षेत्रमा माघे संक्रान्ति धुमधामका साथ मनाइन्छ।
मैथिली समाजमा यो पर्वलाई नैतिक वन्धन तथा सामाजिक कार्य गर्ने पर्वका रूपमा मनाइन्छ। तिल र सखरका लड्डु बनाएर खाइने भएकाले तराई क्षेत्रमा माघे संक्रान्तिलाई तिला पर्वका रूपमा पनि चिनिन्छ। माघे संक्रान्तिमा खाने परिकारले रोगव्याधि हट्ने विश्वास छ।
माघ १, २०७७ बिहीबार ०७:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।