एक्लै छन् पृथ्वी
इतिहासले झुटो बोलेको हैन भने उनको ध्येय एकीकृत नेपाल त थियो। टुक्रा टुक्रामा विभाजित, कुनै एक आकार र प्रकार नभएको हिमाल, पहाड र तराईमा कतै बाइसे त कतै चौबिसे राज्यमा विभाजित भूमिलाई एकीकृतनेपालको आकार दिनु थियो कसैले। उनले साहस गरे र दिए।
योगदान धेरैको रह्यो। नेतृत्व उनले गरे। युद्ध हो। कतै बढी बल प्रयोग भयो नै होला। रगत नबगाई भूमि के जोडिन्थ्यो र । जोडिएन नै। कतै अन्याय पनि भयो नै होला। कसैले भाषा गुमाए, कसैले संस्कृति गुमाए होलान्। केन्द्रीकृत शासन प्रणालीमा खसको दबदबा बढ्यो होला। भनिन्छ नि केही पाउन केही गुमाउनु पर्छ। कुनै वर्ग र जात विशेषै सही केही गुम्यो र त एकीकृत नेपाल बन्यो।
राजतन्त्र ठिक कि गणतन्त्र ? पुँजीवाद ठिक कि साम्यवाद। बहस अनेक हुन सक्छन्। निष्कर्ष अनेक आउन सक्छ। तर देशको प्रश्नमा हुने बहसको निष्कर्ष देश नै हो। वंशको आधारमा सर्ने सत्ता ज्ञानेन्द्र शाहसम्म आइपुग्दा मक्किइसकेको थियो। ढल्यो। तर यसमा उनको के दोष ?
उनले चाहेको एकीकृत नेपाल बनाए र बिदा भए। एकीकृत नेपाल बनाउनेक्रममा भएका उचनिच बहसमा छ। भोलि पनि बहसमा जारी रहने छ। बहस हुनुपर्छ। तर एकीकृत नेपालको निर्माणमा उनको योगदान अस्वीकार गर्न सकिन्न।
समय बदलियो। व्यवस्था बदलिँदैमा योगदान नबदलिनुपर्ने हो। तर आज उनै पृथ्वी कसैका लागि मुर्दा बनिसकेको राजतन्त्र फर्काउने सञ्जीवनी बुटी बनिदिनुपर्ने भएको छ। कसैलाई धर्मको स्वार्थको रोटी सेकिदिनुपर्ने बाध्यता छ।
कसैका लागि गणतन्त्रको खतरा बनेको छ उनको तस्बिर। एकीकृत नेपाललाई अस्तव्यस्त बनाउनेहरू भन्दैछन्‘ पृथ्वीको तस्बिरमा माला लगाइदियो भने त गणतन्त्रविरोधी भइन्छ।’ आधुनिक नेपालमा जो जनविरोधी प्रमाणित भइसकेका छन् तीनलाई पिर छ, जनविरोधी भइएला भन्ने।
यी दृश्य देख्दा फिस्स हाँस्नुपर्ने हो नि। तर दिनरात व्यस्त हुने सडकको बिचमा ढिङ उभिएर पनि उनी मौन छन्। एक्ला छन्। लावालस्करको जय गानले उनको मन खुलेको छैन।
जनमतसँगै जनविश्वास गुमाइसकेको सिंहदरबारसँग त के आस छ र । त्यसैले त पुट्ठो फर्काइदिएका छन् त्यतैतिर।
पुष २७, २०७७ सोमबार २०:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।