चोकमा ट्राफिक छैन भनेर अब नहुत्तिनु

चोकमा ट्राफिक छैन भनेर अब नहुत्तिनु

काठमाडौँ, ललितपुर र भक्तपुरको सडक सुरक्षाको जिम्मेवारी पाएको महाशाखासँग पर्याप्त जनशक्ति नहुँदा मुख्य सडकमै समेत ट्राफिक नियम उलङ्घन घटाउन हम्मे परेपछि महाशाखाले ट्राफिक प्रहरीको अनुपस्थितिमा हुनसक्ने ट्राफिक नियम उल्लङ्घनकर्तालाई कारबाहीको दायरामा ल्याउन आइतबारबाट सर्भिलेन्स भेहिकल सञ्चालनमा ल्याएको हो । तीन जिल्लाको सडक निगरानीका लागि महाशाखासँग सात सय हाराहारी मात्रै जनशक्ति छ।

अहिले महाशाखासँग सर्भिलेन्स भेहिकल पनि पर्याप्त भने छैन। प्रारम्भमा २ वटाबाट काम सुरु गरेको छ। त्यो पनि उपहार आएर। दुवै गाडी ट्राफिकलाई एसियाली विकास बैङ्कले उपहार दिएको हो।

ट्राफिक प्रहरी महाशाखाका एसपी तथा प्रवक्ता श्यामकृष्ण अधिकारीले भने,‘अहिले दुई वटा सञ्चालनमा ल्याएका छौँ। अहिले यसैलाई विभिन्न स्थानमा समय अनुसार परिचालन गर्छौ।’

यसको निश्चित रुट तोकिसकेको छैन महाशाखाले आवश्यकता अनुसार बढी भिडभाड हुने स्थानमा समय निकालेर निगरानीमा खटाइने अधिकारीले उकेरालाई बताए। यसको प्रयोग क्लोज सर्किट टेलिभिजन भएका सडकमा गर्ने प्रहरीको रणनीति देखियो।

‘यसको लक्ष्य ट्राफिक नदेखेपछि नियम उल्लङ्घन गर्ने, मादक पदार्थ पिएर सवारी चलाउने, लेन मिच्ने र ट्राफिक बत्ती उल्लङ्घन गर्नेलाई प्रमाणसहित कारबाहीको दायरामा ल्याउने हो,’ अधिकारीले भने‘ भ्यानले लिएको दृश्यको आधारमा कारबाही गर्न पनि सजिलो हुन्छ।’

के गर्छ यसले ?

महाशाखाका अनुसार यो गाडीमा चार वटा क्लोज सर्किट टेलिभिजन क्यामरा जडान गरिएको छ जसले दुई सय मिटरसम्मको सडकको दृश्य रेकर्ड गर्नेछ। 

गाडीको छत र अगाडि–पछाडि जडान भएको सिसिटिभीले सडकको चारैतिर निगरानी गर्नेछ। ट्राफिक सर्भिलेन्स भेहिकलभित्र एउटा ल्यापटप राखिएको छ जसमा ट्राफिक प्रहरीले सडकको निगरानी गर्नेछन्। भ्यानमा एक पटकमा पाँच जना ट्राफिक प्रहरी खटिनेछन्। 

भ्यानभित्र रहेको प्रविधिले सडकको गतिविधि रेकर्ड गर्ने भएकाले पछि हेरेर समेत उलङ्घनकर्ताको पहिचान गर्न सकिनेछ । 

भ्यानभित्र सञ्चार सेट समेत छ जसमार्फत कुनै सवारीले नियम उलङ्घन गरेर भागेमा तत्काल अर्को चोकको ट्राफिकलाई जानकारी दिएर सवारीसाधन नियन्त्रणमा लिन सकिने छ।

‘यसले केही हदसम्म सवारी नियम पालना गराउन सघाउने हाम्रो विश्वास छ,’ प्रवक्ता अधिकारीले भने‘ सवारी चालकलाई अनुशासित हुने प्रेरित गर्न सक्छ।’

 

पुष २७, २०७७ सोमबार १६:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।