ज्ञापनपत्र नबुझेको भन्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीद्वारा उपकुलपतिको पुत्ला दहन 

ज्ञापनपत्र नबुझेको भन्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीद्वारा उपकुलपतिको पुत्ला दहन 

विश्वविद्यालयको इन्जिनियर संकायका विद्यार्थीहरूले आज (सोमबार) बिहान केन्द्रीय क्याम्पस मूल गेटअगाडि उपकुलपति सिंहको पुत्ला दहन गरेका हुन्। विद्यार्थीहरूले आजै राके जुलुससमेत निकालेका छन्। 

विश्वविद्यालयमा अध्ययनरत नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता सविन चालिसेले सबै विद्यार्थी संगठनको सहकार्यमा आन्दोलन थालिएको बताए। 

यसअघि हिजो साँझ ७ बजे मौका परीक्षा पाउनुपर्ने माग गर्दै विश्वविद्यालयको केन्द्रीय क्याम्पस मूल गेटअगाडि धर्ना बसेका विद्यार्थी र प्रहरीबीच झडप भएको थियो। 

झडपमा परी इन्जिनियरिङ संकायमा अध्ययनरत रोशन बस्नेत र तर्कराज शाही घाइते छन्। दुवैको माया नर्सिङ होममा उपचार भइरहेको छ। 

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी नायब उपरीक्षक (डिएसपी) रामप्रसाद घर्तीले उपकुलपति सहितका पदाधिकारीलाई कार्यालयबाट बाहिर निस्किन नदिएपछि प्रहरीले बल प्रयोग गरी हटाउने क्रममा दुई विद्यार्थी घाइते भएको प्रष्ट्याए। 

‘हिजो दिउँसोदेखि गेटमा अवरोध गरेर बसेका विद्यार्थीहरू प्रहरीले अनुरोध गर्दा पनि हट्न मानेनन्,’ उनले भने, ‘अँध्यारो भएपछि विद्यार्थीहरू तोडफोडमा उत्रिएपछि बल प्रयोग गरिएको हो।’

विश्वविद्यालयका विद्यार्थी नेता गौतम बिसीले विद्यार्थीले मौका परीक्षा कायम राख्नुपर्नेलगायत माग राखेर आइतबार बिहान ११ बजेदेखि विश्वविद्यालय केन्द्रीय कार्यालयमा धर्ना दिएको बताए। विद्यार्थीहरूले ज्ञापनपत्र दिन खोज्दा उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले बुझ्न नमानेपछि समस्या उत्पन्न भएको बिसीको भनाइ छ। 

यता उपकुलपति सिंहले परीक्षा व्यवस्थापन प्रमुखलाई ज्ञापनपत्र बुझाउन विद्यार्थीहरूलाई आग्रह गर्दा उनीहरूले नमानेको बताए। साथै उनले विद्यार्थीले राखेको माग गलत भएको दाबी गरे। 
 

पुष २७, २०७७ सोमबार १२:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।