कोरोना खोप किन्न सरकारका पाँच सर्त

कोरोना खोप किन्न सरकारका पाँच सर्त

सकेसम्म छिमेकीबाट खोप ल्याउने तयारीमा रहेको मन्त्रालयले खोप दिने कम्पनिसामु पाँच सर्त राख्ने तयारी गरेको हो।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सस्तो, सबैभन्दा पहिले दिने, धेरै दिनसक्ने, स्वीकृती पाएको खोप नै भित्र्याउने बताए।

उनले सेरम इन्डियाले उत्पादन गरेको खोप, चाइनाको सानोफाम, साइनोभ्यास, रुसको ग्यामेलिया जस्ता कम्पनिका खोप नेपालका लागि उपयुक्त हुनसक्ने संकेत गरे। 

सरकारको मुड भारतबाट खोप ल्याउने देखिन्छ। त्यसका लागि छलफल समेत चलिसकेको छ। तर गौतम खोप खरिदका लागि केही सर्तहरु रहेको बताउँछन्।

‘नेपालको चिस्यान प्रविधिसँग मिल्ने खोप मात्रै भित्र्याउन सकिन्छ। २ देखि ८ डिग्रि र माइनस २० डिग्रिसम्मका खोप नेपाल ल्याउन सकिन्छ,’ उनले भने,‘यो भन्दा कम तापक्रममा राख्नुपर्ने खोप सहरमा सम्भव होला तर गाउँघरमा पुर्याउन सकिँदैन।’

प्रवक्ता गौतमले सहुलियत (रिजनेबल) मुल्यको खोप आयात गरिने प्रस्ट्याए। विश्व स्वास्थ्य संगठन वा इष्ट इन्डियन रेगुलेटरी अथोरिटी (एसआरए) ले स्वीकृत दिएको खोपमात्रै ल्याउन सकिने उनले बताए।

‘खोप उत्पादन गर्ने मुलुकमा खोप प्रयोग (मास टेस्ट) भएको हुनुपर्छ’ गौतमले भने,‘सस्तो, सबैभन्दा पहिले दिने, धेरै दिनसक्ने, स्वीकृती भएको खोप नै भित्र्याउने हो।’

तीन देशको खोपमा नजर

‘कोभ्यास’ सुविधाबाट खोप आउन ढिला हुने देखिएपछि सरकारले छिटो खोप भित्र्याउन लागेको हो। गौतमले नेपाललाई चाहिनेजति डोज दिने खोप इन्डिया, चाइना, रसियाकै हुन सक्ने बताए।

भारतमा सेरम इन्टिच्यूट इन्डियाले उत्पादन गरेको (एट्राजेनेका) र भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिन आयत हुने चर्चा छ। भारतमा पनि यि भ्याक्सिनले आपतकालिन प्रयोगका लागि अनुमति पाएका छन्। 

उनले नेपालमा आवश्यक डोज उपलब्ध हुने खोप भित्र्याइने बताउँदा बताउँदै ‘संसारमा कहींपनि नेपाललाई चाहिनेजति डोज उपलब्ध नभएको’ समेत दाबी गरे।

मन्त्रालयले विभिन्न मुलकका खोप उत्पादन कम्पनिसँग विभिन्न चरणमा खोप आयातका लागि छलफल भइरहेको पुष्टि गर्दै उनले ‘सरकारले कुटनीतिक नोट पठाएको’ जानकारी दिए।

गौतमले भने,‘खोपको निर्णय आउन अलिक दिन कुर्नुपर्ने हुन्छ। हामी पब्लिकली आइहाल्छौं नि।’ 

खरिद मोडल : गर्भमेन्ट टु गभर्मेन्ट

बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतमले कोभ्याक्स सुविधाबाट आउने खोप ढिलो भएको खण्डमा पनि अन्य उपाय अपनाई चाँडै खोप भित्र्याउन पहल भइरहेको बताए।

उनले भने,‘छिटो खोप ल्याउने उपाय भनेको गर्भमेन्ट टु गभर्मेन्ट वार्ता हो।’ उनले खोप भित्र्याउनका लागि दुई मुलुकका सरकार–सरकारबीच वार्ता भइरहेको बताए। तर, उनले कुन मुलुकसँग यस्तो छलफल भइरहेको छ भन्ने चै खुलाएनन्।

तापक्रम मुख्य चासो

नेपालमा २ देखि आठ डिग्री सेन्टिग्रेडमा भण्डारण गर्नुपर्ने खोप सहजहुने विज्ञहरुले सुझाव दिँदै आएका छन्। खोप शाखा प्रमुखसमेत रहेका डा. गौतमले नेपालमा हाल भएका संरचनामा केही थप गरे पुग्ने बताउँछन्।

नेपालमा माइनस २० डिग्री क्षमता सम्मको क्षमता रहेको छ। नेपालमा अत्यन्तै चिसो (अल्ट्र कोल्ड  चेन) उपलब्ध नभएका कारण माइनस ७०/८० डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने खोप ल्याउन सम्भव नहुने उनले बताए।

निजीलाई दिने–नदिने छलफलमै

निजी क्षेत्रलाई खोप ल्याउन दिने विषयमा छलफल भए पनि निष्कर्षमा पुगेको देखिएन। प्रवक्ता गौतमले निजी क्षेत्रलाई अहिलेनै खोप उत्पादन कम्पनिले नपत्याउने तर्क गरे।  

उनले भने भने,‘खोप उत्पादकले सरकारलाई ७० र ३० प्रतिशतमात्रै निजीलाई बेच्ने भन्ने छ।’ 

५० अर्ब लाग्ने

नेपालमा सबै जनसंख्यालाई खोप लगाउन करिव ५० अर्ब खर्च हुने स्वास्थ्य मन्त्रालयको आँकलन छ। एउटाको ५–६ देखि लिएर १०–१२ डलरसम्म पर्छ। 

तयारी कस्तो छ ?

खोप आयातपछि भण्डारण तथा प्रयोगको लागि नेपालले पूर्वाधार तथा जनशक्तिको तयारी गरिरहेको मन्त्रालयको दाबी छ। 

मन्त्रालयले सुरुमा तीन प्रतिशत जनसंख्यालाई पुग्नेगरी खोप आयात गर्ने तयारी गरेको देखियो। यसले ९ लाख जनसंख्यालाई पुग्छ। 

९ लाख व्यक्तिलाई खोप लगाउनका लागि पूर्वाधार तथा जनशक्ति भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए। गौतमले भने,‘यसमा अलिकति थप गर्यो भने २० प्रतिशतलाई पनि लगाउन सक्छौं।’ २० प्रतिशत ल्याए ६० लाख जनसंख्यालाई खोप लगाउन सकिने गौतमको आँकलन छ।

मन्त्रालयका अनुसार नेपालमा १६ हजार खोप केन्द्र छन्। प्रदेशस्तर (प्रादेशिक स्टोर) मा खोप पुर्याउनका लागि खोप बोक्ने तापक्रम अनुकुल भएका खोप क्यारीअर)को व्यवस्था भएको मन्त्रालयले जनाएको छ।  

नेपालमा डिपिटी, पोलियो, रोटा भाइरस लगायतका खोप लगाउँदाको संरचनानै कोरोना भाइरसबिरुद्धको खोपमा प्रयोग गर्ने मन्त्रालयको तयारी देखिन्छ। 


 

पुष २६, २०७७ आइतबार २१:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।