कोरोना मार : ठूला होटलको निर्माण लम्बियो 

कोरोना मार : ठूला होटलको निर्माण लम्बियो 
होटल सेराटन। तस्बिर : होटल सेराटन नेपालको फेसबुकबाट।

काठमाडौं : काठमाडौं, कान्तिपथमा झण्डै पाँच अर्ब रूपैयाँको लगानीमा निर्माण थालिएको होटल सेराटनको निर्माण सन् २०१८ मै सक्ने लक्ष्य थियो। तर, त्यसको दुई वर्ष बित्दा पनि होटल निर्माण पूरा हुन सकेको छैन। 

कारण हो– भूकम्प, नाकाबन्दी र कोरोना महामारी। 

भूकम्प तथा नाकाबन्दीका कारण तोकिएको समयमा निर्माण सम्पन्न हुन नसकेको उक्त होटलले कोरोना महामारीको मार पनि भोग्नुपर्याे। कोरोना महामारीकै कारण होटल निर्माण अपेक्षाकृत हुन सकेन। 

गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष शेष घलेको लगानीमा निर्माण हुन थालेको उक्त होटल सन् २०१५ मा सुरु भएको थियो। 

२१ तले उक्त होटलको सन् २०२२ जनवरीमा काम सक्ने गरी निर्माण भइरहेको होटलका प्रबन्धक सुरेर चित्रकारले बताए। ‘लकडाउन खुकुलो भएसँगै सामाजिक दूरी कायम गरेर होटलको निर्माण भइरहेको छ,’ उनले भने। 

काठमाडौंकै नक्सालमा निर्माणाधीन डबल ट्री बाई हिल्टन होटलमा पनि उस्तै समस्या छ। 

हिल्टन वर्ल्डवाइड र जगदम्बा हस्पिटालिटी समूहको चार अर्ब रूपैयाँको लगानीमा बन्न लागेको उक्त होटेलमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण महामारीको प्रभाव देखिएको छ। 

तर, अहिले निर्माण धमाधम भइरहेको होटल निर्माण प्रमुख नितिनकुमार शर्माले बताए। 

कोरोना महामारीका कारण होटलको निर्माण लागत बढेको उनी सुनाउँछन्। ‘निर्माण अवधि लम्बिँदा बैंकको ब्याज बढेकाले निर्माण लागत बढ्दै गएको छ,’ उनले भने। 

उनका अनुसार पाँच रोपनी क्षेत्रफलमा फैलिएको उक्त होटल दुई तला बेसमेन्टसहित १४ तलाको हुनेछ। 

होटल सन् २०२१ अप्रिलसम्म निर्माण सम्पन्न गरेर सञ्चालन हुने उनले बताए। 

यी त उदाहरण मात्रै हुन्, कोरोना महामारीका कारण निर्माणाधीन अवस्थामा रहेका ठूला होटलको निर्माण अवधि थपिएको छ। कोरोनाकै कारण निर्माणाधीन होटलको निर्माण अवधि ६ महिनादेखि १ वर्षसम्म बढेको छ। 

निर्माण अवधि थपिएपछि लागतसमेत बढ्ने देखिएको लगानीकर्ता बताउँछन्।  

संघीय राजधानी काठमाडौंसहित ललितपुर, काभ्रे, कास्की, चितवन र रूपन्देहीमा ठूला होटल निर्माणाधीन अवस्थामा छन्। 

नेपाल पर्यटन विभागका अनुसार अर्बभन्दा बढी लगानीका दर्जनभन्दा बढी होटल निर्माणाधीन अवस्थामा छन्, जसमा काठमाडौंको होटल सेराटन, होटल क्राउन इम्पेरियल (अर्किड होल्डिङ्स), होटल मोक्सी र लालचन होटल छन्। 

यस्तै, रूपन्देहीमा सिद्धार्थ इन्टरनेसनल होटल, मार्स हस्पिटालिटी र पवन प्यालेस निर्माणाधीन अवस्थामा रहेको विभागले जनाएको छ। 

यसैगरी, ललितपुरको द म्यासिफ होटल ग्वार्को, काभ्रेको ब्लु माउन्टेन नगरकोट, मोरङको द सेन्चुरीयन होटल, झापाको मेची क्राउन र कास्कीको सेदी लक्जरी होटल ठूला लगानीका निर्माणाधीन होटल हुन्। 

कोरोनाका कारण लागत बढेको भन्दै लगानीकर्ताले सरकारले राहत दिनुपर्ने माग गरेका छन्।  

होटलमा विदेशी लगानी घट्यो

कोरोना महामारीका कारण नेपालमा पछिल्लो समय होटल तथा रेस्टुरेन्टमा विदेशी लगानी घटेको छ। 

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको सुरुवाती पाँच महिनामा होटल तथा रेस्टुरेन्टमा २१ अर्ब ४६ करोड ४९ लाख रूपैयाँ विदेशी लगानी भित्रिएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशत कम हो। 

उक्त आर्थिक वर्षको सुरुवाती पाँच महिनामा होटल तथा रेस्टुरेन्टमा २७ अर्ब ४८ करोड रूपैयाँ बराबरको लगानी भित्रिएको विभागले जनाएको छ। 

पुष २६, २०७७ आइतबार १६:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।