गाजा तस्कर र प्रहरीबीच गोली हानाहान
काठमाडौं : बारामा लागुऔषध गाँजा तस्कर गर्ने समूहबी र प्रहरीबीच गोली हानाहान भएको छ।
शनिबार राति पौने १० बजे गस्तीमा रहेको प्रहरी टोलीमाथि गाँजा तस्करीमा संलग्न ८–१० जनाको समूहले गोली प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक विकास थपलिया र अस्थायी प्रहरी पोष्ट रतनपुर बाराबाट खटिएको गस्ती टोलीलाई तस्करको समूहले देख्ने बित्तिकै गोली चलाएका थिए।
प्रतिकारका क्रममा प्रहरीले पनि चाइनिज पेस्तोलबाट पाँच राउण्ड गोली चलाएको थियो।
निजगढ नगरपालिका-१३ स्थित भक्तलाल खोलाको बगरमा अवैध लागुऔषध गाँजा ओसारपसार खरिद बिक्री भइरहेकाे सूचनाका आधारमा प्रहरी पुगेको थियो।
प्रतिकारका क्रममा प्रहरीले पनि गोली चलाएपछि उनीहरू गाँजा छोडेर भागेका थिए। यस क्रममा गस्तीमा रहेको प्रहरी टोलीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका-६ बस्ने ४७ वर्षीय इमानसिंह तामाङलाई नियन्त्रणमा लिएको छ।
घटनास्थलबाट पाँचवटा सेतो बोराभित्र लुकाइछिपाइ राखेको १०२ किलो लागुऔषध गाँजा बरामद गरिएको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए।
प्रहरीले एक थान भरुवा बन्दुक पनि बरामद गरेको छ।
पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको र उक्त समूहका अन्यको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ।
पुष २६, २०७७ आइतबार १२:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।