पिलपिले बत्तीले कलंकीको अण्डरपासमा बढायो दुर्घटना

पिलपिले बत्तीले कलंकीको अण्डरपासमा बढायो दुर्घटना

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी तथा प्रवक्ता श्यामकृष्ण अधिकारीका अनुसार सवारी दुर्घटनामा परेर ३ हजार ९ सयभन्दा बढी सामान्य घाइते भए।

महानगरीय प्रहरी ट्राफिक महाशाखाको तथ्यांक अनुसार काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा धेरै दुर्घटना हुने क्षेत्र ९ वटा छन्, जहाँ दुर्घटना दोहोरिरहन्छ। प्रहरीले ती स्थानहरूलाई ‘ब्ल्याक स्पट’ नामकरण गरेको छ।

महाशाखाका अनुसार उपत्यकाका तीन जिल्लामध्ये कलंकी चोक, गुर्जधारा, बल्खु, सानेपा, एकान्तकुना, ललितपुरको बिएण्डबी अस्पताल अगाडि, अल्का अस्पताल अगाडि, ग्वार्को र भक्तपुरको पलासेलाई ‘ब्ल्याक स्पट’को सूचीमा राखेको छ।

ट्राफिक प्रहरी प्रवक्ता अधिकारीका अनुसार कलंकी र सातदोबाटो सबैभन्दा धेरै सवारी दुर्घटना हुने क्षेत्रमा पर्छ। यी दुई ठाउँमा मात्र साउनयता २४ जनाले ज्यान गुमाइसकेका छन्। 

यहाँ बढी दुर्घटना हुनुको कारण जथाभावी बाटो काट्नु र सवारी चालकको लापरवाही मुख्य भएको उनले बताए।

लापरवाह चालक मुख्य कारण  

महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता अधिकारीका अनुसार सवारी दुर्घटना हुनुको मुख्य कारण सवारी चालकको लापरवाही नै हो। कहिलेकाहीँ प्राविधिक समस्याले दुर्घटना ननिम्त्याउने हैन। तर, मुख्य कारण लापरवाही नै रहेको उनले उकेरासँग बताए। ‘मेकानिकल समस्या भनेको गाडीमा क्षमताभन्दा बढी सामान राख्ने मुख्य समस्या हो,’ उनले भने।  

केही दिनअघि थानकोटबाट कलंकी आउने मालवाहक ट्रक ६ वटा गाडीलाई ठक्कर दिँदै घरभित्र छिरेको थियो। त्यसको कारण गाडीले धान्न सक्ने क्षमताभन्दा बढी सामान राख्नु देखियो।

अगाडिको ब्रेकले धान्न नसकेपछि चालकले गाडी घरतिर सोझ्याए। अनाहकमा कतिले ज्यान गुमाउनुपर्याे। 

दुर्घटनाको अर्को कारण हो– सवारी चालकले गाडीको अवस्था नै नहेरी चलाउनु। सवारी साधन निकाल्नु अगाडि ब्रेकको अवस्था कस्तो छ भन्ने लगायतका पक्ष हेरिदिने हो भने पनि दुर्घटनाको संख्या कम हुने अधिकारीले बताए। 

अँध्यारा सडकहरू, सडक सूचकहीनलगायत कारणले दुर्घटना भइरहेको उनको भनाइ छ। ‘सडकमा सवारी साधन मनपरी चलाउने र सवारी साधनको क्षमताभन्दा बढी सामान राख्नु मुख्य कारण हो। सडक विभागले बाटो बनाउने तर जेब्रा क्रसिङ, ट्राफिक लाइट र सडकको सिग्नल ठाउँठाउँमा नराखेका कारण पनि सडक दुर्घटना बढेका छन्,’ प्रवक्ता अधिकारीले भने। 

सडक विभागको लापरवाही 

सडक बनाउने तर आवश्यक जेब्रा क्रसिङ, ट्राफिक लाइट र संकेत राख्न वास्तै नगर्ने प्रवृत्ति छ यहाँ। यसले पनि दुर्घटना नियन्त्रणमा असर पार्ने गरेको महाशाखाका प्रहरी अधिकारी बताउँछन्।

काठमाडौंका सडक फराकिलो बनेका छन्। तर, आवश्यक पूर्वाधार छैन। यसले सवारीको गति बढाएको छ। तर, अनुशासन बढाउन सकेको छैन। 
कलंकी–कोटेश्वर सडक खण्डमा सवारी दुर्घटना हुनुको मुख्य कारण नै तीव्र गति भएको प्रवक्ता अधिकारीले बताए। ‘सडकमा आवश्यक संकेत राखिएका छैनन्। सवारी साधन ५० माथिको गतिमा हुइँकिँदा सामान्य अवरोध आउँदा पनि दुर्घटना भइहाल्छ,’ उनले भने। 

अन्डरपास पनि जोखिम 

कलंकीमा निर्माण गरिएको अन्डरपासमा पनि अहिले सवारी दुर्घटना बढिरहेको छ। त्यसको प्रमुख कारण नै तीव्र गति हो।  

प्रहरी प्रवक्ता अधिकारी भन्छन्, ‘यो अन्डरपासभित्रको सडकमा कुनै लेन छुट्टिने गरी टल्किने रिफ्लेक्टर प्याड राखिएको छैन।  त्यहाँ दिउँसै त अन्धकार हुन्छ, राति झन् के होला ?’ 

हुन पनि साना–साना सिएफएल चिमको भरमा अन्डरपास चलिरहेको छ। यस्तो समयमा बढी गतिमा आएका सवारी साधन अरुको लेनमा जाँदा दुर्घटना हुने गरेका छन्।

पैदल यात्रुको लापरवाही

सडक दुर्घटनाको अर्को कारण पैदलयात्रीको व्यवहार देखिन्छ। सडकमा बत्ती नहुँदा र बाटो खुला हँुदा सवारी चालकले अगाडिको दृश्य देख्दैनन्। त्यही बेला स्वाट्ट कतातिरबाट यात्रु बाटो काट्न आइदिन्छन्। अकस्मात ब्रेक लगाउँदा अधिकांश समय दुर्घटना हुन्छ।

‘सडक विभागले बाटो बनाए पनि बाटोमा जेब्रा क्रसिङ, सडक बत्ती, संकेत बनाएका छैनन्। यसले पनि दुर्घटना बढाएका छन्,’ प्रवक्ता अधिकारी भन्छन्। 

उपाय छ

पैदलयात्रुले बाटो काट्दा जेब्रा क्रसिङबाट काट्ने र सवारी चालकले नियम अनुसार सवारी चलाए दुर्घटनाको दर घटाउन सकिने अधिकारीले बताए।

सडकमा लेन क्रस गर्दा साइड लाइट नबाली फुत्तै कुदाउने होडबाजीले गर्दा पनि सवारी दुर्घटना बढेको छ। जहाँ मन लाग्यो त्यहाँबाट सवारी घुमाउँदा पनि सडक दुर्घटना हुने गरेको उनले बताए।

सडक विभागले रोड बनाएपछि बनाएको रोडमा सडक लाइट, जेब्रा क्रसिङ, ट्राफिक लाइट र सिग्नल राखिदिए दुर्घटनामा कमी आउने उनको विश्वास छ। 
 

पुष २६, २०७७ आइतबार ०७:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।