अधिकारकर्मी बाबुकी मिस युनिभर्स छोरी
अधिकांश नेपालीजस्तै उनका अभिभावकको पनि उनलाई चिकित्सक बनाउने सपना थियो। तर, बाटो मोडिँदा अहिले उनी मिस युनिभर्स नेपाल २०२० को पहिचान बोकेर हिँडिरहेकी छन्।
काठमाडौंको मेरिएट होटेलमा डिसेम्बर ३० मा भएको फाइनल प्रतियोगितामा १८ जना प्रतिस्पर्धीलाई पछि पार्दै शर्माको शिरमा नग्मा श्रेष्ठले मिस युनिभर्स नेपालको ताज पहिर्याइदिएकी थिइन्। ताजसँगै उनलाई ‘मिस युनिभर्स इन्टरन्यासनल’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि आयो।
उनी पाँच वर्षअगाडि अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगेकी थिइन्। करले भन्दा पनि रहरले त्यता पुगेकी उनी संघर्षमा होमिइन्। संघर्षका दिनका तीता पलहरू टन्नै रहेछन् उनीसँग, जुन विदेशिएका अधिकांश नेपालीले अनुभव गर्छन्। त्यसमा पछुतो भने देखिएन। ‘विदेसिँदाका असहजतालाई झेल्न सजिलो छैन। तर, म रहरले गएकी थिएँ। मलाई कुनै गुनासो छैन,’ शर्मा भन्छिन्।
कोरोना भाइरस (कोभिड-१९) संक्रमणको महामारीबीच पनि नेपालमा ‘मिस युनिभर्स नेपाल २०२०’ प्रतियोगिता हुने चाल पाएपछि उनी नेपाल आएकी थिइन्। बडो संघर्षले पाएको जागिर छाड्न उनलाई कम्ता सकस परेन रे। तर, कतै टाइटलै जितिहाल्छु कि भन्ने आत्मविश्वासले उनी नेपाल फर्किइन्। र, टाइटल पाइन् पनि।
‘अस्ट्रेलियामा सबै राम्रो भइरहेको थियो। ६ वर्षदेखि गरेको मिहेनतको फल थियो त्यो जागिर। ‘मिस युनिभर्स नेपाल २०२० को लागि सबै छाडेर आउनुपर्ने भयो,’ उनले भनिन्।
यदि उनको परिवार सहमत नभएको भए उनको नेपाल यात्रा सम्भव थिएन। आफ्नै रहरले अस्ट्रेलिया गएकी छोरी नेपालमा सौन्दर्य प्रतियोगितामा भाग लिन आउँछु भन्दा शर्मा परिवारले रोकेन। र, उनको यात्रा सहज भयो।
‘मेरो बाबा अधिकारकर्मी हुनुहुन्छ। उहाँको सधैं सपोर्ट थियो। ममीले त झन् सपोर्ट नगर्ने कुरै भएन,’ उनले भनिन्। त्यसपछि शर्मा ‘मिस युनिभर्स नेपाल २०२०’ को लागि नेपाल आउने भइन्। शर्मा अस्ट्रेलियाको जागिरलाई बिदा गरेर नेपाल आइपुगिन्।
‘अस्ट्रेलियामा भएको ‘मिस ओसिनिया नेपाल–२०२०’मा फस्ट रनअप भएपछि ममा आत्मश्विास बढेको थियो। घरबाट पनि सपोर्ट भयो,’ उनले भनिन्।
सानो उमेरबाट नै शर्मालाई सौन्दर्य प्रतियोगिताले लोभ्याउँथ्यो। तर, उनको लक्ष्य थियो– चिकित्सक बन्ने। उनको परिवारका सदस्य पनि छोरी चिकित्सक भएकै हेर्न चाहान्थे।
पढाइमा तीक्ष्ण शर्मा डाक्टर बन्ने लक्ष्य लिएर ‘प्लस टु’मा साइन्स पढिन्। तर, एकाएक उनको बाटो मोडियो।
‘डाक्टर बन्ने सपनाको पछि कुद्दै थिएँ, सन् २०१५ तिर विदेसिनेको लहर थियो, त्यसले मलाई पनि बाँकी राखेन,’ उनी फ्ल्यास ब्याकमा पुगिन्।
मोडिएको बाटो
सन् २०२० मा पहिलो पटक सौन्दर्य प्रतियोगितामा सहभागिता जनाएकी शर्माले ‘मिस ओसिनिया नेपाल–२०२०’मा फस्ट रनअप र ‘मिस युनिभर्स नेपाल २०२०’ को ताज पहिरिन्। उनका लागि कोरोना महामारीको दुःखद् समय पनि केही सुखद र उपलब्धिमूलक रह्यो।
टाइटल जितेसँगै अब एक वर्ष शर्मा नेपालमा अनिवार्य बस्नुपर्ने छ। यो प्रतियोगिताको सर्त नै हो। नेपाल बसाईमा विपन्न परिवारका बालबालिकालाई राम्रो आधारभूत शिक्षाको वातावरण बनाउन मन छ उनलाई। तर, सोचेझैं सजिलो कहाँ छ र यो।
‘म मिस युनिभर्स हुनुभन्दा पहिलेबाट नै विपन्न बालबालिकालाई पढ्नको लागि वातावरण बनाउने काम गर्दै थिए। अब नेपाल बसाईमा त्यसलाई परिस्कृत गर्दै लान्छु,’ शर्माले भनिन्।
उनले यसको मसिनो खाका कोरिसकेकी छन्। जुम्लामा १० जनालाई छात्रावृत्ति दिएर।
धेरैतिर छरिनुभन्दा एकातिर समर्पित भएर काम गर्न मन पर्छ रे उनलाई। आफू महत्त्वकांक्षी र लक्ष्य केन्द्रित स्वभावको रहेको खुलाइन् उनले।
‘सुरुमा मैले विपन्न बालबालिकालाई पढाउने सन्दर्भमा एउटा गल्ती गरें। सरकारी स्कुलका विद्यार्थीलाई मैले प्राइभेटमा हालें। २२ वर्षको उमेर त थियो। के गतिलो सोच्न सक्थें र ?’ उनले भने।
शर्मालाई आफूले सरकारी विद्यालयमा स्रोत–साधन पुर्याउन सहयोग गर्नुपर्नेमा उल्टो गरेकोमा अहिले पछुतो लाग्ने गरेको उकेरासँग बताइन्।
अस्ट्रेलियाबाट नेपाल आउँदा ‘मिस युनिभर्स नेपाल २०२०’लाई मात्र दिमागमा राखेर आएकी शर्मा टाइटल जितेपछि अब ‘मिस युनिभर्स इन्टरनेसनल’को तयारीमा जुट्ने तरखरमा छिन्। तर, फेरि विदेशिने कि नेपालमा बस्ने भन्ने निष्कर्ष निकालिसकेकी छैनन् उनले।
‘६ दिन भयो टाइटल पाएको। अब नेपाल बस्ने कि के गर्ने केही सोच्नै पाएको छैन,’ शर्मा थप्छिन्, ‘अब अहिले ‘मिस युनिभर्स’ महत्त्वपूर्ण छ,’ उनले भनिन्।
‘मिस युनिभर्स’को तयारीका लागि उनी चाडै फिलिपिन्स जाँदैछिन्।
रुचि छैन अभिनयमा
टाइटल जितेपछि शर्मालाई फिल्मका आफूहरू पनि आउन थालेका छन्। तर, शर्मालाई फिल्ममा कुनै रुचि छैन। भन्छिन्, ‘फिल्ममा मलाई रुचि नै छैन। अभिनय पनि आउँदैन। मेरो पढाइ र मेरो उद्देश्य फिक्स छ। समयको बबार्दी मलाई मन पर्दैन।’
जति सक्दो आफूलाई आफ्नो काम र उद्देश्यमा ध्यान दिन उनी सुझाउँछिन्। इच्छाशक्ति र एक्सनमा विश्वास राख्ने शर्मा आफूलाई कर्मवादी मान्छिन्। तर, सानो उमेरबाट आध्यात्ममा लगाव भएकी शर्मालाई ब्रेभ, बोल्ड र ब्युटी ‘मिस युनिभर्स नेपाल २०२०’ को उपाधि पाउनुको पछाडि आफ्नो आध्यात्मिक रुचि र योग साधनाको पनि ठूलो हात छ जस्तो लाग्छ।
‘मेरो परिवार नै आध्यात्मिक छ। दिदी अस्ट्रेलियामा नै आध्यात्म कर्ममा हुनुहुन्छ,’ उनी थप्छिन्, ‘आध्यात्म र योगले इच्छाशक्ति र कर्मशील बनाउँछ।’
शान्त स्वभावकी शर्माको एक दिदी र एक भाइ छन्।
प्रोजेक्ट म्यानेजमेन्टमा मास्टर गर्ने सोच बनाइरहेकी शर्मा नेपालमा पढ्ने की फेरि विदेशमा गएर पढ्ने त्यो पनि दोधारमा रहेछ। तर, शर्मालाई आफ्नो जीवनको उद्देश्यमा भने कुनै दुविधा देखिएन।
‘मलाई भोलि कसैलाई मेरो कथा सुनाउँदा आफूलाई गर्व होस् भन्ने लाग्छ,’ उनी थप्छिन्, ‘आजसम्म जे गरेको छु, त्यसमा म सन्तुष्ट छु।’
उनी मानसिक र शारीरिकरूपमा अहिले ‘मिस युनिभर्स’को तयारीमा केन्द्रित भएकी छन्। पूर्वमिस नेपालहरूले उनलाई प्रशिक्षण दिइरहेका छन् यसबारे। तर, भित्र भित्र डर पनि छ उनमा।
‘देशको प्रतिनिधित्व गर्दै छु, कुनै कमजोरी नहोस् भन्नेमा अहिले मेरो ध्यान छ,’ उनले भनिन्, ‘मिस युनिभर्स सक्काउँ अनि आफ्ना योजनाबारे सोच्नुपर्ला।’
पुष २५, २०७७ शनिबार १२:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।